विजयपुर । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा गत सोमबार आगलागीमा परेर ५५ वर्षीया पुण्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्यान गयो ।

२०८० चैत ४ गते भोजपुर, हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागीमा परी केदार कार्कीका ५ वर्षका छोरा प्रनिश कार्की र रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस कार्कीको ज्यान गयो ।

आगलागीबाट कोशी प्रदेशमा भएका प्रतिनिधिमूलक घटना हुन् यी । सुख्खायाम सुरु भएसँगै प्रदेशमा आगलागीका घटना बढिरहेका छन् ।

चालु आर्थिक वर्षमा कोशी प्रदेशका १४ जिल्लाका १ हजार ४ सय ९७ आगलागीका घटना भएका छन् भने ती घटनामा १७ जनाले ज्यान गुमाएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाख २० गतेसम्म प्रदेशमा आगलागीमा परी १ सय २२ जना मानिस घाइते भए । त्यस्तै आगोबाट ७ हजार १ सय २२ पशुपंक्षी तथा चौपाया मरेका छन् । प्रहरीको तथ्याङ्कअनुसार १ सय ७० पशुपंक्षी घाइते भएका छन् । प्रदेशभरमा आगलागीबाट कुल ९३ करोड ५७ लाख ४७ हजार ३ सय ५० रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ५ सय ५५ वटा आगलागीका घटना भएकोमा चालु आर्थिक वर्षको वैशाख २० सम्ममा १ हजार ४ सय १७ आगलागीका घटना भएका छन् । प्रदेशमा ५ वर्षमा आगलागीका घटना बढिरहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । कोशी प्रदेश प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/०७६ मा ५ सय ५५ आगलागीमा १५ जनाको मृत्यु, ४५ जना घाइते र ७० करोड १७ लाख ६६ हजार २ सय ४५ रुपैयाँ क्षति भएको थियो । 

आ.व २०७६/०७७ मा ४ सय ९३ आगलागीमा ११ जनाको मृत्यु, ३६ घाइते र ४५ करोड १ लाख ६६ हजार ७ सय ५० क्षति भएको थियो । त्यस्तै आ.व. २०७७/०७८ को ७ सय ७३ आगलागीमा २२ जनाको मृत्यु, ३५ घाइते र ५ अर्ब २० करोड ७० लाख १६ हजार ३ सय ४९ रुपैयाँ क्षति भएको थियो ।

आ.व. २०७८/०७९ को ७ सय ३८ आगलागीमा १५ को मृत्यु, ४३ घाइते र ७७ करोड ५९ लाख ३ हजार ४ सय ९६ रुपैयाँ क्षति भएको थियो । आ.व. २०७९/०८० मा १ हजार १ सय ५४ आगलागीमा १५ जनाले मृत्यु, ४६ घाइते र १ अर्ब १३ करोड ८१ लाख ८८ हजार ७ सय ७४ रुपैयाँ बराबरको क्षति भएको थियो ।

मानवीय त्रुटी प्रमुख कारण
आगलागीको मुख्य कारण मानवीय त्रुटी तथा क्रियाकलाप रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिम्सिना बताउँछन् । उनी भन्छन्, ‘सुख्खा यामसँगै, मानवीय त्रुटी, बालबालिकाका पहुँचमा आगोजन्य सामग्री हुनु, आगो पूर्णरूपमा ननिभाई घरबाट बाहिरिनु मुख्य कारण देखिन्छ ।’ उनी थप्छन्, ‘सहरी क्षेत्रमा बाक्लो बस्तीले धेरै क्षति हुने गरेको छ ।’

उनका अनुसार विद्युत् सर्ट, डढेलो लगाउने होडबाजी, मानवीय लापरबाही, चुरोट खाएर ननिभाई फाल्ने कारणले आगलागी हुने गरेको छ । आगलागीमा भौगोलिक विकटताका कारण समयमा दमकल नपुग्नु तथा स्रोत साधनको अभावका कारणले बढी क्षति हुने गरेको छ । आगलागीमा महिला, बालबालिका तथा वृद्धवृद्धा प्रकोपमा पर्ने गरेको प्रवक्ता तिम्सिना बताउँछन् । उनी भन्छन्, ‘कतिपय स्थानमा उद्धार गर्न गएका टोली नै पनि पर्ने गरेका छन् । आगलागी नियन्त्रणमा जनशक्ति पुगेर मात्र हुँदैन । आधुनिक उपकरण पनि चाहिन्छ ।’ प्रवक्ता तिम्सिनाका अनुसार आगलागी नियन्त्रणका लागि संयुक्तरूपमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने गरिएको छ ।

नियन्त्रणमा ३० जनाको समूह ‘स्टेण्डबाई’
प्रवक्ता तिम्सिनाका अनुसार आगलागी नियन्त्रणका लागि इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा र अन्य ४ स्थानमा छुट्टै समूह ‘स्टेण्डबाइ’ राखिएको छ । एसपी नेतृत्वको कार्यालयमा ३० जना र डिएसपी नेतृत्वको कार्यालयमा १५ जनाको समूह ‘स्टेण्डबाइ’ राखिएको छ ।

मोरङमा सबैभन्दा बढी
प्रदेश प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी मोरङ जिल्लामा २ सय ६० आगलागीका घटना भएका छन् ।

मोरङमा चालु आर्थिक वर्षमा ३ जनाको मृत्यु र ५५ जना घाइते भएका छन् । ५६ वटा पशुपंक्षी चौपाया मरेका छन् भने २९ घाइते भएका छन् । मोरङका २४ करोड ६४ लाख २४ हजार १ सय रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै झापामा २ सय ३० आगलागीका घट्ना भएका छन् । जसमा ३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । ५ हजार ४ सय ५४ पुशपंक्षी तथा चौपाया मरेका छन भने ७ वटा घाइते भएका छन् । ९ करोड ३२ लाख ५१ हजार ६ सय रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ ।

चालु आर्थिक वर्षमा सुनसरीमा १ सय ९९ वटा आगलागी भएका छन् । आगलागीमा १ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । ७३ वटा पशुपंक्षी तथा चौपाया मरेका छन् भने २१ वटा घाइते भएका छन् । ८ करोड ९८ लाख ५८ हजार ३ सय रुपैयाँ क्षति भएको छ । खोटाङमा १ सय १६ वटा आगलागीमा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । खोटाङमा १ सय ६६ वटा पशुपंक्षीको मृत्यु भएको छ भने ४७ वटा मरेका छन् । ६ करोड ४७ लाख ५३ हजार ७ सय रुपैयाँ क्षति भएको छ ।

त्यस्तै उदयपुरमा १ सय १५ वटा आगलागी भएका छन् भने ३ जना घाइते भएका छन् । १ सय ३ वटा पशुपंक्षी मरेका छन् भने ४२ वटा घाइते भएका छन् । ९ करोड ७९ लाख ५९ हजार ३ सय रुपैयाँ क्षति भएको छ । ओखलढुङ्गामा १ सय १३ वटा आगलागी भएका छन् । आगलागीमा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएको प्रहरी जनाएको छ । ११ वटा पशुपंक्षी मरेका छन् भने ५ वटा घाइते भएका छन् । ओखलढुङ्गामा १ करोड ५८ लाख ८९ हजार ६ सय रुपैयाँ क्षति भएको छ ।

पाँचथरमा ७६ वटा आगलागीमा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । २३ पशुपंक्षी मरेका छन् भने २ घाइते भएका छन् । ३ करोड १९ लाख ९० हजार १ सय रुपैयाँ क्षति भएको छ । भोजपुरमा ७१ वटा आगलागीमा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । ५ सय १८ पशुपंक्षीको मृत्यु भएको छ भने ४ वटा घाइते भएका छन् । भोजपुरमा ४ करोड ४१ लाख ४७ हजार ५ सय रुपैयाँ क्षति भएको छ ।

त्यसैगरी सोलुखुम्बुमा ६६ वटा आगलागीमा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । ४ करोड ५१ लाख ५० हजार रुपैयाँ क्षति भएको छ ।  तेह्रथुममा ५८ वटा आगलागीमा भएको छ । ७३ पशुपंक्षी मरेका छन् भने ४ वटा घाइते भएका छन् । ५ करोड १९ लाख ४५ हजार ६ सय रुपैयाँ बराबरको क्षति भएको छ । इलाममा ५४ आगलागीमा ४ जना घाइते भएका छन् । २ पशुपंक्षी मरेका छन् ३ घाइते भएका छन् । ३ करोड ५४ लाख ३८ हजार ३ सय ८० रुपैयाँ क्षति भएको छ ।

ताप्लेजुङमा ४८ आगलागीमा १ जनाको मृत्यु भएको छ । ५ वटा पशुपंक्षी मृत्यु भएको छ भने ११ वटा घाइते भएका छन् । २ करोड ६९ लाख २ हजार ५ सय क्षति भएको छ । धनकुटामा ४६ वटा आगलागीमा १ जना घाइते भएका छन् । २ सय ५ पशुपंक्षीको मृत्यु भएको छ । ३ करोड ८२ लाख ५० हजार क्षति भएको छ । सङ्खुवासभामा ४५ वटा आगलागीमा २ जना घाइते भएका छन् । ४ सय ३३ पशुपंक्षी मरेका छन् भने ४ घाइते भएका छन् । ५ करोड ३७ लाख ८६ हजार ६ सय ७० रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।