विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न माग गर्दै प्रतिपक्षी दल नेकपा (एमाले) र माओवादी केन्द्रले प्रदेश प्रमुखलाई निवेदन दिएका छन् ।

उनीहरूले अहिले प्रदेश सरकारविहीनताको अवस्थामा रहेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुख पर्शुराम खापुङलाई आग्रह गरेका हुन् ।

‘समर्थन फिर्ता गरेको ३० दिन भइसकेको र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिएकाले सरकारविहीनताको अवस्था सिर्जना भयो’ बुधबार एमाले र माओवादीका नेताहरूले संयुक्तरूपमा बुझाएको पत्रमा उल्लेख छ, ‘त्यसैले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाइयोस् ।’ पत्र बुझिसकेपछि प्रदेश प्रमुख  खापुङले आफू संविधान, ऐन र कानूनअनुसार अघि बढ्ने बताएका छन् ।

‘माननीयज्यूहरूले दिनुभएको पत्र प्राप्त गरेँ । हामीले ऐन कानूनअनुसार अध्ययन गर्छौं । यसको हामी अध्ययन गर्न संविधान ऐन कानूनअनुसार अघि बढ्छौं’ उनले भने, ‘यसको अध्ययन गर्नुपर्ने भएकाले माननीयज्यूहरूलाई चिया पनि नखुवाई अहिले बिदा गर्छु ।’

उनीहरूले मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएको पत्र पनि प्रदेश प्रमुख खापुङलाई बुझाएका छन् । त्यसअघि उनीहरूले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिए÷नलिएको जानकारी मागेका थिए ।

नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की र नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्र आङ्बोले सभामुख अम्बरबहादुर विष्टलाई संयुक्त पत्र लेखेर जानकारी मागेका हुन् । बुधबार बिहान पनि प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर एमाले–माओवादीका नेताहरूले सरकार गठनको प्रक्रिया सुरु गर्न आग्रह गरेका थिए ।

जवाफमा खापुङले अहिलेका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिए÷नलिएको आफूले थाहा नपाएको र प्रदेश सभाबाटै त्यसको जानकारी हुनुपर्ने बताएका थिए ।

त्यसपछि कार्की र आङ्बोले सभामुखलाई संयुक्त पत्र लेखेर गत वैशाख ७ गते प्रदेश सभाले पारित गरेको सङ्कल्प प्रस्तावको निर्देशनअनुसार मुख्यमन्त्री केदार कार्कीले ३० दिनभित्रमा विश्वासको मत लिए/नलिएको जानकारी गराउन माग गरेका थिए ।

जवाफमा सभामुख विष्टले मुख्यमन्त्री केदार कार्कीले अहिलेसम्म विश्वासको मत पाऊँ भनी कुनै पनि प्रस्ताव नगरेको जानकारी उनीहरूलाई पत्रमार्फत् नै दिएका थिए । कोशीमा एमाले र माओवादीले गत चैत २६ गते केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

संविधान र अभ्यास हेरेर निर्णय गर्छु: प्रदेश प्रमुख
एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको आह्वान गर्न आग्रह गरेपछि कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधान र यसअघिका अभ्यास हेरेर निर्णयमा पुग्ने जवाफ दिएका छन् ।

बुधबार एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताहरूले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएका कारण मङ्गलबार राति नै पदमुक्त भएको जिकिर गरेका छन् । उनीहरूले अब नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र लिएका छन् ।

पत्र बुझ्दै प्रदेश प्रमुख खापुङले यस विषयमा अध्ययन गरेर निर्णय गर्ने जवाफ दिए । ‘अब यो पत्रलाई आधार मानेर नेपालको संविधान, प्रचलित ऐन कानून र अभ्यासलाई मध्यनजर गर्दै हामीले अध्ययन गर्नुपर्ने हुनाले आज यहाँहरूलाई चिया पनि नखुवाई बिदाइ दिन चाहन्छु’–उनले भने ।