कुनै पनि अप्रिय घटना नभई सभ्यभव्य रुपमा मासपर्यन्त लाग्ने बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको समापन भएको छ  ।

वराहक्षेत्रस्थित सप्तकौशिकी नदीमा चार वटा महाकुम्भ शाही स्नानसँगै नागाबाबा, कठिया बाबा, अघोरी, सन्त, महन्त, महामण्डलेश्वरको आतिथ्यतामा महाकुम्भ मेला भव्य रुपमा आयोजना भएको महाकुम्भ मेला मूल समारोह समिति सचिवालय सदस्य तथा आर्थिक समिति सहसंयोजक ज्ञानबहादुर पाण्डेले जानकारी दिए । 

६ वटा आर्थिक स्टलमा भक्तजनले कुम्भ मेला समितिलाई आर्थिक सहयोग गरे । आर्थिक समिति र सचिवालयको बैठक बसी आर्थिक सङ्कलनबारे जानकारी गराउने सहसंयोजक पाण्डेले जानकारी दिए ।

महाकुम्भ मेलामा निम्बार्काचार्य, रामानन्दाचार्य, शङ्कराचार्यलगायतका सम्प्रदायले महायज्ञ अनुष्ठानलगायतका धार्मिक कार्यको आयोजना गरे । सम्प्रदायसँगै अर्चना बाबाधाम, कल्याणी माता, मानव सेवा फाउण्डेशन, खप्तडी बस्नेत बन्धु, घिमिरे विष्ट बन्धुगायतका धार्मिक सङ्घ सङ्गठनले कथा, पुराणलगायतका धार्मिक कार्य सम्पन्न गरे । 

आयोजक समितिका अनुसार मारवाडी सेवा समाज, रायमाझी वंश, नेवार एकता समाज, महिला समाजलगायतका दर्जनौं सङ्घसंस्थाले कुम्भमेलामा आउने भक्तजनहरुलाई नि:शुल्क भोजन तथा खानेपानीको व्यवस्थापन गरे । नेपाल स्काउट, लगायतका सामाजिक सङ्घसंस्था र स्थानीय शैक्षिक संस्थाले योगदान गरे । 

महाकुम्भ मेलाको समापन समारोहमा मूल समारोह समिति मातहतका २६ समिति, सहयोगी संघसस्था, शैक्षिक संस्था, इन्टरनेट सेवाप्रदायक, स्वास्थ्य सेवा प्रदायक चतरा अस्पताल, सुरक्षाकर्मीलगायत संस्थालाई समापन कार्यक्रममा जगदगुरु बालसन्तले सम्मान गरे । 

२ हजार सुरक्षाकर्मी, १ हजार ६ सय स्काउट स्वयंसेवक कुम्भ मेलामा परिचालन गरिएको आयोजक समितिको भनाइ छ । 

समापन समारोहमा कोशी प्रदेश सभा सदस्य इस्रायल मन्सुरी, नेपाल सराकरका मुख्य सचिव वैकुण्ठ अर्याल, बाग्मती प्रदेशकी सचिव हुमकला पाण्डे, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलगायत जनप्रतिनिधि र कर्मचारी समापन समारोहमा सहभागी भए । 

कुम्भमेलामा कति भक्तजन आए भन्ने यकिन तथ्याङ्क र संयन्त्र नभए पनि ४० देखि ५० लाख भक्तजनले कुम्भ मेला र वराहक्षेत्र धामको  दर्शन गरेको बराहक्षेत्र १ का वडाध्यक्ष तथा आयोजक समितिका उपाध्यक्ष किसन थापाले अनुमान गरे । 

आयोजक समितिका अनुसार कुम्भ मेलाका लागि सङ्घीय सरकारले ७० लाख रुपैयाँको भौतिक संरचना निर्माण गर्‍यो भने प्रदेश सरकारले ५५ लाख रुपैयाँ बजेटमा खानेपानी तथा सरसफाइका लागि संरचना निर्माण गर्‍यो । 

जगदगुरु बालसन्तको अध्यक्षतामा बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीको सहअध्यक्षतामा महाकुम्भ मेला मूल आयोजक समिति गठन भएको थियो ।