स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि धनकुटामा पाँच दिने प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला तथा खाना महोत्सव हुनेभएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाले आज पत्रकार सम्मेलन गरी आगामी जेठ ९ गतेदेखि १३ गतेसम्म महोत्सव आयोजना गरिने जनाएको हो।

महासङ्घका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले महोत्सवमा साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनीका लागि ३० वटा स्टल रहने र तीन करोड बराबरको कारोबार गर्ने लक्ष्य रहेको जानकारी दिएका छन्।

घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख इश्वर थापाले धनकुटा नगरपालिका वडा नम्बर –६ स्थित औद्योगिक ग्राममा हुने महोत्सव यहाँ औद्योगिक ग्राम सञ्चालनको सम्भावना उजागर गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।
यस्तै मेलाले कोशी प्रदेशअन्तर्गतका १४ जिल्लामा हुने घरेलु उत्पादनलाई बजारीकरण र प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको औद्योगिक ग्राम सञ्चालन समितिका संयोजक तिलक महतले बताए।