[caption id="attachment_92505" align="alignnone" width="900"] सांकेतिक तस्विर[/caption]

सिरहा/ सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गङ्गा पासवानले उच्च अदालतको पनि आदेश मानेनन् । मेयरको मनपरीका कारण कर्जन्हा नगरपालिकाको केन्द्र विवाद भएको स्थानीयको आरोप छ ।

दैनिक तथा प्रशासनिक कामकाज समेत सरल सहज रुपमा हुन नसकेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । केन्द्रविवादका कारण स्थानीय मेयर पासवानप्रति असन्तुष्ट रहेको स्थानीय रोशन साहले बताए ।

स्थानीय सरकार भइसकेपछि जनताले चाहेअनुसार कर्जन्हा नगरपालिकाले काम गर्न नसेको स्थानीयको आरोप छ ।

‘मेयरको मनपरी’ मेयर गङ्गा पासवान र उप–मेयर ज्ञानकुमारी श्रेष्ठबीच बढेको विवादको गाँठो झनै बाँधिएको छ । मेयर पासवानले आफूखुसी सबै विकास निर्माण तथा निर्णयका काम गर्ने गरेको उपमेयर श्रेष्ठको आरोप छ ।

नगरपालिका घोषणा भएपछि नगरपालिकाको केन्द्र बगहामा राख्ने गरी नेपाल सरकारले निर्णय गरेपनि मेयर पासवानले आफूखुसी केन्द्र कर्जन्हामा राख्ने गरी निर्णय गर्दा मेयरविरुद्ध जनता आन्दोलनमा उत्रेका छन् ।

विभिन्न मितिमा विवाद तथा आन्दोलन भए पनि त्यसको सामाधानतर्फ मेयर नलागेको आरोप छ । गत आर्थिक वर्ष ०७४/७५ का लागि कर्जन्हामा १२ कोठे भवन भाडामा लिई कार्यालय सञ्चालन हुँदै आएको थियो ।

एक आर्थिक वर्षका लागि मासिक १२ कोठाको २४ हजारका दरले र विद्युत र पानीबाहेक भाडामा लिई कार्यालय सञ्चालनमा ल्याएको मेयर पासवानले बताए ।  उप–मेयर ज्ञानकुमारी श्रेष्ठले भने मेयर केही वडा अध्यक्ष तथा सदस्यसँग मिली हालसम्म आफूखुसी कामकाज गर्दै आएको आरोप लगाइन् ।

श्रेष्ठका अनुसार हालसम्म बिनानिर्णय १२ कोठे भवन भाडामा लिइएको छ । ‘त्यतिमात्र कहाँ हो र, मलाई कुनै बैठक तथा कुनै पनि निर्णयबारे जानकारी नगराई काम गरिन्छ,’ उपमेयर श्रेष्ठले भनिन्, ‘जबरजस्ती माइन्युटमा साइन गराउन खोज्दा मैले मानिनँ, त्यसपछि मलाई कुनै बैठक र निर्णयमा बोलाइँदैन ।’

उपमेयर श्रेष्ठले हालसम्म उनलाई न्यायिक समिति चलाउन सहयोगीसमेत नदिएको बताइन् । ‘स्टाफमात्र होइन, मसलन्द पनि दिइएको छैन ।’ उपमेयर श्रेष्ठले भनिन् ।

यता मेयर पासवानले बगहामा भवनको अभाव भएको बताए । कर्मचारी बस्न र विभिन्न फाँटहरू सञ्चालन गर्न अप्ठ्यारो भएको सुनाए । भवन नै नभएपछि आफू खुला चौरमा आँपको रुखमुनि बसेर जनताको कामकाज र विकास निर्माणका काम गर्दै आएको उनको भनाइ छ ।

आय–व्यय विवरण सार्वजनिक गर्न ढिला सुस्ती नगरपालिकाले हालसम्म गत आ.व.को आय–व्यय विवरण सार्वजानिक गरेको छैन । आर्थिक वर्ष सकिएको २ महिना बितिसक्दा पनि हाल सम्म आय–व्यय विवरण सार्वजनिक गर्न सकेको छैन ।

स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार असार १० गतेभित्र नगर परिषद् तथा आय–व्यय विवरण सार्वजनिक गर्नु पर्ने हुन्छ । साथै नगरपालिकाले पारदर्शिताका लागि सार्वजनिक सुनुवाई गर्नुपर्ने हुन्छ ।

नगरले सार्वजनिक सुनुवाई समेत आयोजना गर्न सकेको छैन । मेयरको मनपरीले गर्दा नगरपालिका ‘सिस्टम’ मा चल्न नसकेको स्थानीयको आरोप छ । यता मेयर पासवान केन्द्र विवादकै कारण काम गर्न नसकेको बताउँछन् ।

उनले दुईतीन पटक समय निर्धारण गरिसकेपनि कार्यक्रम आयोजना गर्न नसकिएको बताए ।

बैठक बस्दा नगरपालिका बन्द असोज २ गते कर्जन्हा नगरपालिका दिन भर मेयरको आदेशमा बन्द रह्यो । नगरपालिकाको कार्यालय बन्द हुँदा दैनिक प्रशासनिक कामकाज समेत भएन ।

मेयर पासवानका अनुसार स्टाफ बैठकका लागि कार्यालय सहयोगीलाई त्यहाँ राखेर सबै कर्मचारी बैठकमा कर्जन्हा पुगेका थिए ।

यस विषयमा उप–मेयर ज्ञानकुमारी श्रेष्ठसँग बुझ्दा उनले समेत नगरपालिका बन्द के कारणले भएको र बैठक के विषयमा कहाँ बस्ने भन्नेबारे जानकारी नभएको बताइन् ।

उपमेयर श्रेष्ठले कार्यालय पुग्दा गेटमै ताला लागेपछि अचम्मित भएको बताइन् ।

मेयर पासवानले भने अपरझट बैठक बोलाएका कारण कार्यालयमा ठाउँ नभएर अग्रिम सूचनाबिनै कार्यालयमा ताला बन्दी भएको बताए ।