रङ्गेली । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले बालविवाह र बालबालिका विभिन्न समस्यालाई लिएर प्रदेश स्तरीय ३ दिने बालिका सम्मेलन गर्ने भएको छ । भदौ १ देखि ३ दिनसम्म सञ्चालन हुने सम्मेलनमा प्रदेश १ का १४ जिल्लाका १ सय ५० जनाको सहभागिता हुने आयोजकले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । बढ्दो बालविवाह र विभिन्न कारणले उनीहरू जोखिमा पर्ने गरेको कारणले त्यसलाई न्यूनीकरण गर्न सम्मेलनको आयोजना गर्न लागिएको सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानराज सुवेदीले बताए । बालविवाहले बालबालिकालाई आधारभूत अधिकारबाट बञ्चित गराउने, आफ्नो जोडी छनोट गर्ने र विवाह सम्बन्धमा स्वतन्त्र भई निर्णयसमेत गर्न नपाउने सचिव सुवेदीले बताए । नेपाल जनसङ्ख्या तथा स्वास्थ्य सर्वेक्षण २०६८ अनुसार १५ देखि १९ वर्ष उमेर समूहमा २८.८ प्रतिशत किशोरी र ६.९ प्रतिशत किशोरले विवाह गरेको पाइएको छ । बालविवाहलाई संविधानले पनि बर्जित गरेको छ । बालविवाहजस्तो जघन्य विषयलाई प्रदेश स्तरीय अभियानको रूपमा अगाडि बढाउन र राज्यले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्यभन्दा अगाडि नै बालविवाह मूक्त प्रदेशको रूपमा घोषणा गर्न सम्मेलनको आयोजना गरिएको सचिव सुवेदीले बताए । प्रदेश १ को १४ वटै जिल्लाबाट सहभागी हुन आउने बालबालिकाहरू जिल्लाका बालसञ्जालबाट छनोट भएर आउने आयोजकले जनाएको छ । प्रदेशका १४ वटै जिल्लाबाट १ जना किशोर र दुईजना किशोरीको सहभागी हुनेछ । सम्मेलनको आर्थिक र प्राविधिक रूपमा वल्र्डभिजन इन्टरनेस्नल नेपाल, नारी विकास सङ्घ, प्लान इन्टरनेस्नल नेपाल र फरेनले सहयोग गर्ने छन् । कार्यक्रमका लागि १६ लाख ४० हजार बजेटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । सम्मेलनमा सबै गरेर १ सय ५० जनाको सहभागिता रहने जनाइएको छ ।