विराटनगर । जनस्तरबाट चौतर्फी विरोध भएपछि विराटनगर महानगरले वृद्धि गरेको कर घटाउने भएको छ । महानगरको मङ्गलबार बसेको बोर्ड बैठकले दोस्रो नगरसभाले वृद्धि गरेको कर घटाउने निर्णय गरेको हो । आर्थिक ऐन २०७५ मा संशोधन गरी विभिन्न करको दर, महसुल घटाउने निर्णय गरेको छ । उक्त बैठकले ऐन संशोधनको प्रस्ताव अघि सारेर विभिन्न शीर्षकमा कर परिमार्जन गर्ने निर्णय गरेको विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले जानकारी दिइन् । विराटनगर महानगरपालिकाको दोस्रो नगरसभाबाट पारित आर्थिक ऐन, २०७५ ले निर्धारण गरेको राजस्वको दररेटमा आगामी नगरसभाबाट अनुमोदन गर्ने गरी परिमार्जन गर्ने निर्णय बैठकले गरेको छ । सर्वसाधारणलाई प्रत्यक्ष प्रभाव पर्ने गरी बढाइएको कर, शुल्क, महसुल, नवीकरण दस्तुर आदिमा व्यापक हेरफेर गरेर महानगरले ऐन संशोधन प्रस्ताव अघि बढाएको हो । संशोधन प्रस्तावमा जन्म तथा मृत्यु दर्तामा ५ सय रुपैयाँ लिने व्यवस्था संशोधन गरेर ३५ दिनसम्म दर्ता गर्दा निःशुल्क हुने व्यवस्था गरिएको छ । छोरीको हकमा जहिले दर्ता गर्दा पनि जरिवाना लाग्ने छैन भने छोराको हकमा ३५ दिन कटेपछि ३ सय रुपैयाँ दस्तुर लिने निर्णय गरिएको छ । यसैगरी सम्बन्धविच्छेदको सिफारिस शुल्कलाई ३ हजार रुपैयाँबाट घटाएर १ हजार रुपैयाँ लिने निर्णय गरेको हो । त्यस्तै घरबाटो सिफारिसमा कच्ची बाटोको हकमा रकम घटाइएको छ । असार १० गते पारित बजेटमा कच्ची बाटोको सिफारिस लिँदा २ हजार लाग्ने व्यवस्था भएकोमा त्यसलाई घटाएर एक हजार ५ सय लिने निर्णय गरेको हो । व्यवसाय नवीकरण शुल्कमा व्यापक फेरबदल गरिएको छ । कुर्तासलवार, छाला जुत्ता, कम्प्युटर पार्टस्, गाडीका पार्टस् आदि व्यवसाय नवीकरण दस्तुरमा करिब ५० प्रतिशत घटाइएको छ । घरनक्सा पास गर्दा लाग्ने करमा पनि रकम घटाउने प्रस्ताव गरिएको छ । एकहजार फिटसम्मको घर नक्सा पास गर्दा प्रतिवर्गफिट १० रुपैयाँबाट घटाएर ७ रुपैयाँ, एकहजार पाँचसय वर्गफिटसम्मका १५ रुपैयाँबाट घटाएर १२ रुपैयाँ र २५ सय वर्गफिटसम्म २४ रुपैयाँबाट २० रुपैयाँ र २५ सय वर्गफिटभन्दा माथि २४ रुपैयाँ कायम राख्ने निर्णय गरेको हो । महानगरले सम्पत्ति मूल्याङ्कन दरमा पनि केही कम गर्ने प्रस्ताव अघि बढाएको बताइएको छ । यस्तै सम्पत्तिकर सङ्कलनका लागि पनि २० लाखसम्मका लागि ०.०८ प्रतिशतबाट घटाएर ०.०५, त्यसपछिको ५० लाखसम्मको ०.१५ बाट घटाएर ०.१० प्रतिशत शुल्क लिइने प्रस्ताव गरिएको छ । यस्तै नगरपालिकाले पूर्वमा हाटखोला र पश्चिममा श्रीराम मार्ग, कान्छामार्गसँग जोडिएका दायाँ–बायाँका पसल, उत्तरमा वरगाछी–पानीटङ्की सडकमा जोडिएका व्यवसाय, दक्षिणमा रोडशेषचोकभित्र रहेका व्यवसायलाई ठूलो, मझौला व्यवसायको दररेट बमोजिम व्यवसाय कर असुल गर्ने पनि प्रस्ताव बोर्ड बैठकमा लगिएको छ । विराटनगर महानगर कार्यपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष उद्धव अर्यालले सर्वसाधारणलाई प्रत्यक्ष असर पर्ने कर, दस्तुर, महसुल र शुल्कमा व्यापक कटौती गर्ने प्रस्ताव गरिएको जानकारी दिए । महानगरपालिकाले भेटेरिनरीतर्फ वृद्धि गरेको शुल्कमा भने कुनै कटौती नगर्ने भएको छ । किसानहरुलाई प्रोत्साहन गर्ने र दूध तथा मासु उत्पादनमा आत्मनिर्भर बन्ने सरकारको नीति विपरीत महानगरले पशु चौपायाको कृत्रिम गर्भाधान, उपचार आदि शुल्कमा दोब्बरभन्दा बढी शुल्क वृद्धि गरेको थियो ।