इटहरी । सुनसरीको झुम्कास्थित पूर्वाञ्चल क्षेत्रीय कारागारका कैदीहरुमध्ये मानसिक रोगी कैदीहरुको व्यवहार कारागार प्रशासनको टाउको दुखाइ बन्दै गएको छ । विभिन्न ठाउँबाट आएका ५० जना कैदीहरु मानसिक रोगी रहेको झुम्का कारागारले जनाएको छ । मानसिक रोगी कैदीबन्दीलाई कारागारभित्र व्यवस्थापन गर्नसमेत समस्या हुने गरेको उनी बताउँछन् । मानसिक समस्या भएका कैदीहरुले कारागारभित्रका कैदीहरुलाई दुःख दिने गरेका छन् । विशेषगरी यस्ता समस्या भएका व्यक्तिहरुले अन्य कैदीहरुलाई काम गरिरहेको अवस्थामा काम बिगारिदिने, खाना पकाएको ठाउँमा गएर खाना छरिदिने, कोही रुखमा चढेर हो–हल्ला गरेर दुःख दिने गरेको कारागारका एक नम्बर ब्लकका कैदीबन्दी चौकीदार प्रेम लावतीले बताए । उनले भने, ‘मानसिक रोगीहरुलाई कारागारभित्र व्यवस्थापन गर्ने समस्या छ ।’ यस्ता व्यक्तिहरुले कहिले आफुलाई त कहिले अरुलाई घटना गराउँछन् भन्ने टुङ्गो हुँदैन । उनीहरुका कारण अन्य कैदीहरु पनि सधैँ त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता हुने उनी बताउँछन् । उनीहरुले खाना पकाएको ठाउँमा जुत्ता चप्पल हालिदिनेलगायतका क्रियाकलाप गर्ने गरेको चौकीदार लावतीको भनाइ छ । छुट्टै कारागारको व्यवस्था गर्नसके अरुले दुःख नपाउने र उनीहरुको उपचार गर्न पनि सहज हुने उनको भनाइ छ । मानसिक रोगीहरुलाई सम्हालेर राख्न समस्या हुने गरेको छ । उनीहरुलाई हेर्नका लागि छुट्टै कैदीहरुले निगरानी गर्नुपर्ने बाध्यता रहेको छ, ब्लक नम्बर २ का कैदीबन्दी चौकीदार खड्ग राईले बताए । ‘उनीहरुका लागि राख्ने छुट्टै कोठाहरुको व्यवस्था छैन, उनीहरुको व्यवस्थापन गर्नेभित्र समस्या छ’–उनी भन्छन् । ‘स्वास्थ्य उपचारको लागि पनि समस्या हुने गरेको छ । मानसिक रोगीहरु बर्बराउने एक्लै एकहोरो बोल्नेलगायतका क्रियाकलाप गर्छन्’– चौकीदार राई भन्छन् । यता क्षेत्रीय कारागार झुम्काका जेलर गणेश अधिकारीले यस्ता मानसिक रोगी बिरामीका लागि छुट्टै राख्ने व्यवस्था भए सहज हुने बताउँछन् । उनीहरुका लागि नजिकका अस्पतालहरुमा उपचार गर्ने व्यवस्था मिलाउनसके राम्रो हुने जेलर अधिकारीको भनाइ रहेको छ । उनका अनुसार वार्षिक ३० लाख रुपैयाँ उपचारको लागि बजेट आउने गरेको छ । कारागारका बिरामीहरुलाई उपचारका लागि आवश्यकताअनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र जिल्ला अस्पातल इनरुवा लाने गरिएको छ । कारागारमा रहेका टिबी, फोक्सोमा पानी जमेका, मुटु सुन्निएका बिरामीहरुलाई निरन्तर उपचार गराइरहेको जनाइएको छ । ‘कारागारमा हाल १५ सयको हाराहारीमा कैदीबन्दीहरु छन् । त्यसमध्ये करिब ५ सय कैदीबन्दी रोगी छन्’– जेलर अधिकारीले भने । कारागार ऐन, २०१९ र नियमावली, २०२० मा खुल्ला कारागारसम्बन्धी व्यवस्था उल्लेख गरिए पनि अहिलेसम्म मुलुकमा खुल्ला कारागार निर्माण हुन सकेको छैन । कारागार ऐन, २०१९ मा समेत रोगी थुनुवा वा कैदीलाई छुट्याई भिन्नै राख्नुपर्ने, पागल वा अर्धपागल थुनुवा वा कैदीलाई छुट्याई भिन्नै राख्नुपर्ने व्यवस्था भए पनि सो बमोजिम कारागारको व्यवस्थापन भएको पाइँदैन । नेपालमा कारागारको इतिहास १९७१ सालबाट शुरु भएको हो । पहिले जेल मुख्तियारको मातहतमा रहन्थ्यो र यसको प्रमुख सेनाको जर्नेल रहने व्यवस्था थियो । २००७ सालको जनक्रान्तिपछि कारागार प्रशासन गृह मन्त्रालय अन्तर्गत रहने व्यवस्था भएको हो ।