धरान/इटहरी । माथिका तीन चोरीका प्रतिनिधि घटनाले धरान प्रहरीलाई कुरी–कुरी गरिरहेको छ । तीन महिना बितिसक्दा पनि चोर पक्राउ गर्न नसक्नुले प्रहरीको अनुसन्धानमाथि प्रश्न खडा भएको छ । चैत ४ मा बीपी प्रतिष्ठान हाता भित्र सुरक्षा निकाय तथा सुरक्षागार्ड हुँदा हुँदै पनि भएको सनराइज बैंकको लकर तोडफोडको घटना अहिले पनि बैंकका कर्मचारीले भुलेका छैनन् । बैंकको ४ लाख ४६ हजार ७ सय ७० रुपैया चोरी भयो । यो प्रतिनिधि घटना धरानका नागरिकले भुलेका छैनन । तर प्रहरीले अझै चोरीमा संलग्नलाई पक्राउ गर्न नसक्नुले चोरको मनोबल त बढेको छ नै जनता कति असुरक्षित छन् भन्नेसम्म देखाएको छ । पीडितहरु प्रहरीले गम्भीरता साथ अनुसन्धान नगरेको आरोप लगाउँछन् । ‘प्रहरीको गम्भीरताका साथ अनुसन्धान गरेको देखिदैन् ।’ मोबाइल सञ्चालिका सिमरन खड्का भन्छिन् ।

  • चैत ४ बीपी प्रतिष्ठान हाताको सनराइज बैंकको लकर फोडेर चोरी
  • चैत १५ धरान–९ कलेज रोडको थ्रीजी मोबाइल पसल तोडफोड गरी चोरी
  • फागुन २८ मा धरान–१६ को टेम्पो चोरी गरी धरान–१७ मा जलाइयो

बैंकको धरान शाखा प्रमुख सूर्यबहादुर बलम्पाकीले तीन महिना बितिसक्दा समेत चोर पत्ता नलाग्नुले धरान कति असुरक्षित छ भन्ने कुरा प्रमाणीत गरेको बताए । उनले प्रहरीसँग घटनाबारे बुझ्न सम्पर्क गर्दा चाडै पत्ता लाग्छ, हामी चोरको धेरै नजिक पुगिसक्यौ जस्ता जवाफ दिने गरेको भएपनि कहिल्यै चोर पत्ता लाग्न नसकेको बताए । फागुन २८ गते राति धरान–१६ अन्नपूर्ण चोकबाट घरको खुल्ला कम्पाउण्ड भित्र राखेको टेम्पो हराएको र भोलीपल्ट विहान धरान–१७ स्थित रेल्वेमा जलाइएको अवस्थामा फेला परेको थियो । उक्त टेम्पो रेल्वेसम्म पु¥याउदा सडकमा रहेको सिसि क्यामेरामा कैद भएको र भिडियो हेरेर पनि अझै प्रहरीले पत्ता लगाउन नसकेको भन्दै टेम्पो मालिक होमबहादुर प्रधानले गुनासो गरे । पछिल्लो ३ महिनामा इलाका प्रहरी कार्यालय धरानमा मात्रै १४ भन्दा बढी मोटरसाइकल चोरी भएको घटना दर्ता भएको छ । त्यस्तै सोही अवधीमा १० वटा भन्दा बढी चोरीका घटना भएको प्रहरी कै तथ्याङ्क छ । गत चैत २ गते पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतष्ठिानको आवासबाट ६ लाख ८८ हजार बराबरको सुन र नगद चोरी भयो । त्यस्तै धरान–१३ स्थित फुस्रेबाट पनि २ लाख ४१ हजार बराबरको सुन तथा नगद चोरी भयो । यतिका घटना हुँदा समेत प्रहरीले एउटा चोर पनि पक्राउ गर्न सकेको छैन । धरान–६ पानवारीमा रहेका २ वटा सामुदायिक विद्यालय र ४ वटा निजी विद्यालयमा दोहो¥याएर चोरी भएको छ । स्थानीय सरस्वती माविमा पहिलो पटक नगद र टिभि चोरी भएको र पछिल्लो पटक सिसिटिभिको मनिटर चोरी भएको त्यस्तै शिक्षा सन्देश बोर्डिङ स्कुलबाट ल्यापटप र टिभि चोरी भएको थियो । सरस्वती माविमा चोरी गर्दै गरेको भिडियो सिसिक्यामेरामा स्पष्ट रुपमा कैद भएतापनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेन । इलाका प्रहरी कार्यालय धरानका डिएसपि रामेश्वर पौडेलले मोबाइल चोरी गर्नेको पहिचान भइसकेको भएता पनि केही भारतीय र केही पश्चिम नेपालका संलग्न भएकोले पक्राउ गर्न ढिलाइ भएको बताए । उनले धरानमा लागु औषधका घटना बढी हुने गरेको र कतिपय तिनै लागुऔषध कारोबारीहरुले समेत चोरी गर्ने गरेको दाबी गरे । उनले प्रहरीले चोरीका घटनामा संलग्नहरुलाई प्रहरीले समातेको भएता पनि आशातित प्रगती गर्न नसकेको स्विकार गरे ।

घटना १ : जेठ १५ मेरो कम्युनिकेशनको साढे ८ लाख बराबरको मोबाइल चोरी घटना २ः जेठ १५ पशुपति रोड केरियर अढाई लाख नगद चोरी घटना ३ः जेठ २४ एकै दिन ४ वटा घरमा सुनचादी र ल्यापटप चोरी ।

चोरीको घटनामा पनि चोर पत्ता लाग्न सकेका छैनन । यसबाट पनि प्रहरीको कार्यक्षमताको संकेत गरेको छ । सङ्गठित रूपमै चोरी भइरहे पनि प्रहरीले चोर पक्राउ गर्न नसकेको सर्वसाधरणको गुनासो छ । जेठ २८ गते राती इटहरी–४ हलगडामा चोरी भएको घटना पत्ता नलागेकोप्रति जयबहादुर कार्कीले गुनासो गरे । उनको सुनकोे औठी तथा क्यामरा, मोवाईल चोरी भएको थियो । इटहरीमा चोरीका घटना वृद्धि भइरहेका छन् । चोरीकै आरोपमा हालसम्म ७ जना पक्राउ परिसकेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठ बताउँछन । चोरीको घटना बढेको कुरालाई स्वीकारे पनि पक्राउ गरिरहेको दाबी गर्छन् । गर्मीमा घर धनी छतमा सुत्ने, झ्याल खुल्लै राखेर सुत्ने हुँदा चोरी हुने गरेको श्रेष्ठ बताउँछन् । चोरीका घटनामा अधिकांश हुक प्रयोग गरेर सामान चोरी गरेकाले सर्वसाधरणलाई सचेत रहन आग्रह गरे । उद्योग बाणिज्य संघ इटहरीले बिज्ञप्ती नै निकालेर चोर चाडो पक्राउ गर्न माग गरेको छ । चोरीको घटनामा चोर पक्रा नर्गदा उनीहरुको मनोबल बढ्ने गरेको र नागरिक असुरक्षित भएको इटहरीबासी प्रकाश कोइराला बताउँछन् ।