म त राधा चौधरीको पक्षमा उभिएकी छु । तपाईँ नि ?

राधा पोखरेल

मैले यहाँ राजनीतिको कुरा गर्न लागेकी होइन । कुरा गर्न लागेको किशोरी राधा चौधरीको हो । यस हप्ता सामाजिक सञ्जालमा भाइरल बनेर फैलिरहेको घटनाको हो । घटना कैलालीको घोडाघोडी नगरपालिकाको हो ।

बोक्सीको आरोपमा किशोरी राधा चौधरीमाथि झाँक्री रामबहादुर चौधरीले समाजलाई साक्षी राखेर लगातार ७ घण्टासम्म कुटपिट गरे । राधामाथि रामबहादुरको अत्याचारलाई जिउँदो लास बनेर त्यहाँ जम्मा भएका मानव भीडले मौन स्वीकृति दिइरहे ।

एउटी किशोरी, जो आफू निर्दोष भएको र आफूलाई यातना नदिन सबैसामु हात जोडेर याचना गरिरहेकी छ, रामबहादुर र अर्की पार्वती नाम गरेकी महिलाले पालैपालो कुटपिट गरिरहेका छन्स समाज चुँ सम्म नबोली साक्षी बसिरहेको छ । अन्धविश्वासले मान्छेहरू कति अन्ध हुँदा रहेछन् । अनि कति अपराध गर्दा रहेछन् ?अनलाइनखबरले सार्वजनिक गरेको १४ मिनेटको भिडियो ४० पटक दोहोर्‍याएर हेरें हुँला । जतिपटक हेर्‍यो, त्यतिपटक झनझन आँखाका खोंचहरू आँसुले भरिएर आए । मनभित्र आँधी मात्र होइन, सुनामी नै चल्यो । गिदी उम्लिएर टाउको पड्कनै लागेको बम जस्तै भयो ।

पक्राउ गरेर चौकी पुर्याएको रामबहादुरलाई मेयर ममताप्रसादले पीडित किशोरीलाई थाहै नदिई कथित “मिलापत्र” कागजमा ल्याप्चे थिचेर चौकीबाट छुटाए । यस घटनामा कानुनका रक्षकहरू नै भक्षक देखिए ।

अपराधीको संरक्षण गर्ने पनि अपराधी नै हो । तसर्थ, उनीहरूलाई पनि कानुनको दायरामा ल्याई कार्बाही गर्न सम्बन्धित पक्षसँग माग गर्दछु ।
अहिले सर्वर्त्र विरोधको आवाज बुलन्द भएपछि रामबहादुर पक्राउ त परेका छन् । तर, फेरि पनि उनी छुट्न सक्छन् । अहिले “मिलापत्र” गराउन एमाले पार्टीको तर्फबाट विजयी मेयर गए, भोलि माओवादी, कांग्रेस पार्टीका तर्फबाट सांसद र मन्त्रीहरू नै जालान् । किनकि, यिनीहरूलाई अन्यायमा परेकालाई न्याय दिलाउनु भन्दा आफ्नो भोटबैंक सुरक्षित गर्नु छ ।

जस्तोसुकै दवाब, जोसुकैबाट आए पनि अपराधीले उन्मुक्ति नपाओस् । अपराधीलाई कानुन अनुसार हदैसम्मको कार्बाही होस् । म सरकारलाई खबरदारी गर्न चाहान्छु ।

धन्य हाम्रो समाज !

एकातिर यही पृथ्वीका मान्छे ज्ञान र विज्ञानको प्रयोग गरी पृथ्वीबाट अर्को ग्रहमा बसाइँ सर्ने तयारी गरिरहेका छन् । पृथ्वीकै अर्को कुनाका मान्छे बोक्सीको नाममा मान्छेले मान्छेलाई कुटपिट गर्ने, मलमूत्र खुवाउने, सामाजिक बहिष्कार गर्ने र मार्नेसम्मको अपराध गरिरहेका छन् ।

बोक्सी, धामी झाँक्री केवल अन्धविश्वास सिवाय केही होइन । बर्गीय हिसाबले पीँधमा परेकाहरू, लैंगिक हिसाबले महिलाहरू, जातीय हिसाबले दलितहरू, शिक्षा र चेतनाको हिसाबले अशिक्षित र अचेतनहरू सबभन्दा बढी बोक्सा-बोक्सीको आरोपबाट प्रताडीत छन् ।

धनी परिवारका महिला बोक्सीको आरोपमा लान्छित र प्रताडीत भएको मलाई आजसम्म थाहा छैन । महिलाहरू अझ त्यसमा पनि एकल महिलाहरूको तुलनामा पुरूषहरू अपवादमा मात्रै लान्छित र प्रताडीत हुने गरेका छन् ।

त्यस्तै जातीय हिसाबले दलितहरूले जति बोक्सा-बोक्सीको आरोपमा सास्ती खेपिरहेको छ, त्यसको एक प्रतिशत पनि अरू जातिले खेप्नु परेको छैन ।

यसरी हेर्दा यस्तो घटनाको जरा हाम्रो उत्पादन प्रणाली, शिक्षा, सामाजिक संरचना, लैंगिक विभेद, धार्मिक, सांस्कृतिक परम्परामा गएर गहिरोसँग गाडिएको छ । यी सबै ठाउँमा परिवर्तनविना यस्ता अमानवीय अपराधिक घटनाहरू घटित भइ नै रहन्छन् ।

अब प्रश्न उठ्छ, यी सबै परिवर्तनको जिम्मा कसले लिन्छ र कहिले हुन्छ ? हो, सबै आ-आˆनो ठाउँमा जवाफदेही र जिम्मेवार हुनुपर्ने यहीँनेर हो । यसको सबभन्दा मुख्य जिम्मेवारी राज्यले लिनुपर्छ । किनकि, राज्य भनेको सबैको अगुवा र अभिभावक हो ।

राज्यले साँच्चै नै गर्न चाहने हो भने यस्ता अन्धविश्वासको अविलम्ब अन्त गर्न सक्छ । केवल कानुन बनाइदिएर, औपचारिक कुरा गरेर मात्र हुँदैन । त्यसको कार्यान्वयन र नियमन गर्ने निकाय पनि त्यतिकै प्रभावकारी र बलियो बनाउन जरूरी छ ।

बोक्सा-बोक्सी, धामीझाँक्री जस्ता अन्धविश्वासको अन्त गर्न राज्यले कडा कानुनको साथसाथै सामाजिक, सांस्कृतिक रूपमा चेतनामूलक अभियान सञ्चालन गर्ने, पाठ्यक्रममा यस्ता कुराहरू समावेश गर्ने, उत्पादन बढाई देशलाई धनी बनाउने जस्ता कामहरू एकसाथ गर्न जरूरी छ ।

परम्परा भनेर सतीप्रथालाई राज्यले उन्मूलन नगरेको भए आजसम्म कति सतीको ज्यान जान्थ्यो होला ? आज हामी कल्पना पनि गर्न सक्दैनौं । तसर्थ, यस्ता अन्धविश्वास र कुप्रथाको अन्त राज्यले छिटोभन्दा छिटो गर्न सक्दछ ।

यस्ता जनप्रतिनिधिबाट के आशा गर्ने ?

बिडम्बना ! नीति बनाउने हाम्रा जनप्रतिनिधिहरू कति धेरै गैरजिम्मेवार छन् भन्ने उदाहरण घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी बनेका छन् । अंग्रेजीमा स्नात्तकोत्तर गरेका उनी उमेरको हिसाबले पनि युवा हुन् । उनलाई घटनाका बारेमा जानकारी छ । राधा चौधरी बोक्सी होइन भन्ने पनि थाहा छ । यो घटना अन्धविश्वासको कारण भइरहेको छ भन्ने पनि उनलाई पक्कै थाहा छ । किनकि उनी, अंग्रेजीमा एमए पास गरेका शिक्षित ब्यक्ति हुन् ।

तर, पनि मेयरसाब घटनालाई देखेनदेख्यै गर्छन् । सुनेनसुन्यै गर्छन् । र, लाजै नमानी भन्छन् “यो काम मेरो होइन, प्रहरी प्रशासनको हो ।” कति गैरजिम्मेवार ? कति अमानवीय र संवेदनाविहीन ? यस्ता जनप्रतिनिधिबाट जनताले के आशा गर्ने ? कम्तिमा उनले त्यो घटना रोक्न सक्थे, सम्झाइबुझाइ गर्न सक्थे । यो घटना अन्धविश्वास बिरूद्धको एउटा अभियान थालनी गर्न प्रस्थानविन्दु हुन सक्थ्यो ।

तर, उनले आफ्नो ब्यक्तिगत राजनीतिक स्वार्थ मात्र हेरे । शायद आफ्नो भोट बैंक बिगि्रएला भनेर उनी पनि अपराधको मतियार बने ।
मेयरसाब पक्कै पनि कुनै राजनीतिक पार्टीसँग सम्बद्ध छन् । समाज परिवर्तनमा राजनीतिक पार्टीको भूमिका अहं हुनेगर्छ । किनकि, राजनीतिक पार्टी भनेको समाज परिवर्तनको मुख्य साधन हो । राजनीति पार्टीको काम केवल राजनीति व्यवस्था परिवर्तनमा मात्र सीमित रहनुहुँदैन । समग्र समाज परिबर्तनको अगुवा राजनीति पार्टी र त्यसका नेता, कार्यकर्ता हुनु पर्दछ ।

तर, हाम्रो देशका राजनीति पार्टी र त्यसका नेता, कार्यकर्ताहरूको सांस्कृतिक चेतनास्तर हेर्दा दया नै लागेर आउँछ । समाज रूपान्तरणको लागि राजनीतिक पार्टीहरूले समयसापेक्ष नीति कार्यक्रमहरू निर्माण गर्ने र त्यसलाई अभियानात्मक रूपमा कार्यान्वयन गर्न जरूरी छ ।
सरकारी र गैरसरकारी संघ संस्थाहरू गाउँ-गाउँमा च्याउसरी खुलेका छन् र त्यसले बिभिन्न शीर्षकमा बार्षिक अरबौं बजेट बालुवामा पानी बगाएसरी खर्च गरिरहेका छन् । अब त्यस्ता संघ संस्थाहरूले पनि परिणाममुखी काम गर्न जरूरी छ । साथै, नागरिक समाज र त्यसका अगुवाहरूले पनि काठमाण्डौंको तारे होटलहरूमा केही मान्छे जम्मा गरेर उपदेश दिन बन्द गरी जनताबीच गएर चेतना प्रसार गर्न आवश्यक छ ।

शक्तिराष्ट्रहरू संसारमा आफ्नो साम्राज्य कायम गर्न कमजोर राष्ट्रहरूमाथि बम बर्साइरहेका छन् । विज्ञान र प्रविधिको प्रयोग मानवजातिको हितमाभन्दा नरसंहारकारी युद्धमा लगाइरहेका छन् । संसार तमासे बनेर हेरिरहेको छ । शक्ति राष्ट्रका शासकहरूको आफ्नो राष्ट्रलाई “महान” बनाउने होड बढ्दै जाँदा कतै तेस्रो विश्वयुद्ध त हुने होइन ? सम्झँदा पनि कहाली लागेर आउँछ ।

यता आफ्नो देश दस बर्षे गृहयुद्धबाट बल्लतल्ल तंग्रिँदो छ । जनतामा शान्ति र समृद्धिको आशा जागेको छ । त्यसैका लागि ०७४ को निर्वाचनबाट जनताले दुई तिहाईको जनमत वाम गठबन्धनलाई दिएको छ । जनताका आवश्यकता र आकांक्षाहरू धेरै छन् । तर, ती असम्भव भने पक्कै छैनन् । मात्र नेताहरूमा दूरदृष्टि, इच्छाशक्ति र इमान्दारिताको खाँचो छ ।

मानव समाज एक्काईसौं शताब्दीमा छ । यो ज्ञान र विज्ञानको शताब्दी हो । सूचना र प्रविधिको शताब्दी हो । प्रत्येक शिक्षित नागरिक समाजका एक जिम्मेवार अभियन्ता पनि हो ।

आलोचना गरेर अरूको उछित्तो काढ्न निक्कै सजिलो हुन्छ । तर, त्यही कुरा आफ्नो जीवनमा लागू गर्न निक्कै कठिन हुन्छ । समाजमा ज्ञान र बिज्ञानको प्रयोग गरौं । अन्धविश्वासको अन्त्य गरौं । म अन्धविश्वास, कुरिती र कुप्रथाको बिरूद्धमा छु र जीवनभर रहनेछु । म त राधा चौधरीको पक्षमा उभिएकी छु । तपाईँ नि ?

अनलाइनखबरबाट

ताजा अपडेट