6034_S_chakka-jam-l देशभरका यातायात व्यवसायी र मजदुर सङ्गठन आठ सूत्रीय माग राखेर आजदखि आन्दोलनमा  ओर्लिएका छन् । सरकारलाई दवाब दिन ती सङ्गठनले बिहीबार सवारी नचलाउने भएका हुन । चक्का जामले देशभरका भाडाका सवारी साधानहरु ठप्प छन् । यात्रुहरु अलपत्र परेका छन् ।  
उनीहरुले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर सरकारले यातायात क्षेत्रको ढाड सेक्ने गरी जरिवाना वृद्धि गरेको भन्दै यातायात तथा मजदुर व्यवसायी सडकमा ओर्लिएको जानकारी दिए । सरकारले यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ र १६४ संशोधन गरी २५, १०० र २०० रुपैयाँको जरिवानालाई क्रमशः ५००, १००० र १५०० बनाएको छ । यसले यातायात व्यवसायीको ढाड सेक्ने भन्दै आन्दोलनका कार्यक्रम अघि सारिएको  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका मेची संयोजक राजेन्द्र रिजालले बताए । व्यवसायीले जरिवानामा ट्राफिक प्रहरीले पाउँदै आएको १५ प्रतिशत कमिशन रकम खारेज गर्न माग गरेका छन् ।
पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तिमा सार्क राष्ट्रमा सवारी सञ्चालन गर्न बनाइएको व्यवसायी तथा मजदुरविरोधी नीति खारेज गर्न, समयानुकूल ढुवानी ऐन निर्माण गर्न, सडक दुर्घटना न्यूनीकरण विशेष योजना निर्माण गर्न दवाब दिन, मजदुरहरुलाई सामाजिक सुरक्षा कोष ऐन लागू गराउन र यातायात व्यवसायलाई व्यवस्थित बनाउन नीति बनाउनसमेत माग गरिएको छ ।
सरकारले भौतिक पूर्वाधारको विकास नगरी जरिवाना मात्र वृद्धि गरेको भन्दै उनीहरु आक्रोशित भएका हुन् । यातायात व्यवसायी सङ्घको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अगुवाइमा सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णयअनुसार केही दिनयता उनीहरु आन्दोलनमा छन् । ती सङ्गठनहरु जेठ १० गतेदेखि सडकमा ओर्लिएका हुन् ।