विषय प्रवेशः
भर्खरै सम्पन्न उपनिर्वाचनको आवश्यकता र औचित्यभन्दा बढी नै चर्चा वा मिडियाबाजी भएको महसुस हुन्छ । यो उपनिर्वाचनले धेरैको ध्यान खिचेको थियो । एउटा कोणबाट मूल्याङ्कन गर्दा विषयवस्तुप्रतिको गाम्भीर्यता र कौतुहलता सकारात्मक कुरा हो । अर्को कोणबाट हेर्दा यो आवश्यकता, औचित्य र उत्पादनभन्दा अधिक तरङ्गित, बगाइ, बहकाइ र चासो रखाइ भनेर टिप्पणी गर्दा अन्यथा हुँदैन । अर्थात् यसपालिको उपनिर्वाचनलाई अधिमूल्याङ्कन र अधिबढाइचढाइ गरिएको देखिन्छ । यसलाई सारा राज्यसत्ता प्राप्तिको आन्दोलनभन्दा ठूलो मुद्दा बनाउने काम भएको छ । तर, सारतः यो एक अमुक पात्रले सङ्घीय सांसद्को रूपमा सिंहदरबार प्रवेश गर्ने कुरा मात्र हो । यो कुनै अमुक पात्रले बुझ्दै आएको तलब भत्ता अर्को अमुक पात्रले वैधानिकरूपमा बुभ्mने भन्ने मात्र हो । त्यसैले आप्mना सारा उत्पादनको कामहरू छाडेर भर्चुअल्ली र फिजिकल्ली इलाम भन्दै दौडनु स्वार्थ मिल्नेहरूको हकमा सही भए पनि समाजको लागि यस्तो बहकाइ र बरालिनुलाई त्यति उत्पादनशील कार्य मान्न सकिँदैन ।

यद्यपि लामो व्यग्र पर्खाइ र चासोका बीच इलाम २ मा उपनिर्वाचन सम्पन्न भएको छ । स्वतन्त्रलगायतका १९ दलको उम्मेदवारी परेको यो उपनिर्वाचनमा नेकपा (एमाले) का सुहाङ नेम्वाङ विजयी भइसकेका छन् । नेपाली काङ्ग्रेसका डम्बर खड्कालाई पाँच हजारभन्दा बढी मतान्तरसहित उनी विजयी भएका हुन् । यो प्रायः सबै राजनैतिक दलहरूको लागि औसत निर्वाचन नै भएको छ । यता केही दलहरूको लागि भने यो अनपेक्षित पनि भएको छ । चुनावमा औसत हारजित भई नै रहन्छ । यसमा कसैले जित्दा र हार्दा आश्चर्य मान्नुपर्ने कुनै कारण नै हुँदैन । यद्यपि इलाम २ को निर्वाचनले केही परम्परागत, केही नयाँ र केही सिर्जनशील सन्देशहरू पनि दिएको देखिन्छ ।

साहनुभूतिलाई अनुमोदनः
विगतमा झैं इलाम २ चुनावले पनि साहनुभूति मतलाई अनुमोदन गरेको छ । साहनुभूति, भावना, आँसु र दुःखको कभरमा चुनाव जित्ने परम्परा नेपाली राजनीतिको नयाँ विषय होइन । यो संसदीय चुनाव जित्ने सबैभन्दा अचुक अस्त्र बन्न सफल भइरहेको देखिन्छ । यस्तो संस्कारलाई गलत भनिए पनि जसरी पनि चुनाव जित्ने नाममा व्यवहारतः यसको ठाउँमा अर्को सिर्जनशील र उन्नत विकल्प अभ्यासमा छैन । परिणामतः यस्तै रवैयाले अनुमोदन हुने अवसर पाइरहेको छ, जुन व्यवहारतः प्राविधिक र व्यक्तिगतरूपमा सही र अर्थपूर्ण भए पनि सिद्धान्ततः सही होइन । विचार राजनीतिले नेतृत्व गर्न नसकेको समाजमा हरेक गतिविधिहरूमाथि विचारले भन्दा पनि भावना र प्राविधिक आयामहरूले घर गरिरहेको हुन्छ । यस्तो समाजमा राजनैतिक एजेण्डा, सत्य, न्याय र समानताभन्दा पनि भावनात्मक र प्रचारात्मक रूपवादी माहौल हाबी हुन्छ, तब गलत हुँदाहुँदै पनि यस्तै संस्कृतिले निरन्तरता पाउँदै आएको देखिन्छ ।

भर्खरै सम्पन्न इलाम निर्वाचनमा पनि दिवङ्गत नेता सुवास नेम्वाङका उत्तराधिकारी सुहाङ नेम्वाङलाई उठाइयो । उनले चुनावी बाजी पनि मारिसकेका छन् । जसरी पनि चुनाव जित्ने अर्थ र स्वार्थमा यो परम्परालाई अन्यथा मान्न सकिँदैन । किनभने संसदीय लोकतन्त्रमा सही विचार, राजनीतिभन्दा पनि जसरी पनि जे गरेर भए पनि चुनाव जित्नुसँग मात्र हरेक राजनैतिक गतिविधि र उठबसहरू जोडिने गर्दछ । यही गलत रवैयाको कारण सिङ्गो राष्ट्रिय राजनीति नै विकृत, विसङ्गत र भ्रष्ट बन्दै गइरहेको छ । चुनावी संस्कृतिहरू नराम्ररी प्रदूषित भइरहेको छ । यो मानेमा हामीले हाम्रै निहीत स्वार्थको कारण हाम्रो राजनैतिक आदर्श, आस्था र विधिहरू भुल्दै गइरहेका छौँ । क्षणिक निजी र निकृष्ट स्वार्थको फेरो समात्न खोज्दा सिङ्गो राजनैतिक संस्कृति नै विकृत बन्दै गइरहेको छ, जुन भावी दिनमा स्वयम् हाम्रै लागि घातक नहोला भन्न सकिन्छ । खैर, राजनैतिकरूपमा नाफा घाटा र सही गलत जे भए पनि इलाम निर्वाचनले सहानुभूतिलाई अनुमोदन गरेको छ ।

दलीय परम्पराको अनुमोदनः
न्यायिक र गैरन्यायिक जे भए पनि बहुदलीय प्रणालीमा विभिन्न दलहरूबीच आवधिक अनुमोदन हुनुपर्ने हुन्छ । हरेक पाँच वर्षमा आवधिक चुनाव हुने गर्दछ । यसलाई सिद्धान्ततः लोकतन्त्रको आदर्श पनि भनिन्छ । यद्यपि पछिल्लो समय चुनाव जित्नको लागि सबैखाले तिकडमबाजी, जालझेल वा साम, दाम, दण्ड र भेदको नीति अपनाउने क्रम बढिरहेको छ । यसले लोकतान्त्रिक चुनावी प्रक्रियाको आदर्शलाई जसरी र जे गरेर भए पनि चुनाव जित्नु पर्ने स्वार्थको भेलबाढीले बगाइसकेको देखिन्छ । परिणामतः अब यो बोलाइ, लेखाइ र भनाइहरूमा मात्र आदर्श छ । व्यवहारतः आज चुनाव ठूलो रणनैतिक खेलजस्तो भएको छ । खेल जित्ने रणनीति अनुसरण गर्दै जाँदा राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकृति र विसङ्गतिहरू टारेर टारिनसक्नु र छेकेर छेकिनसक्नु भएको छ । हामीले विकास गरेको संस्कार हामीलाई नै भारी हुँदैछ, जसले हाम्रो स्वभाव र संस्कृतिलाई प्रदूषित गरिरहेको छ ।

विकृत राजनीति र यसैको उपज स्वरूप विकृत हुँदै गइरहेको चुनावी संस्कारबारे छुट्टै प्रसङ्गमा छलफल गरौँला । यसमा इलाम चुनावको सन्देशबारे चर्चा गर्नु छ । वस्तुतः यसले विगतदेखि पुराना दलहरूलाई मतदान गर्ने परम्परालाई पछ्याएको देखिन्छ । यसलाई पुराना दलहरूले धेरै गरे अभैm गर्नेछन् भन्ने कुनै वस्तुगत आधार छैन । यसकारण सही ग¥यो भनेर ठूलो स्वरमा भन्ने ठाउँ देखिँदैन । होइन गलत ग¥यो भनौं भने पनि नयाँहरूले अरू धेरै गर्नेछन् भन्ने भरपर्दो आधार छैन । उनीहरू झनै गर्भैदेखि कलङ्कित हुँदै आएका छन् । यसकारण इलाम चुनावले औसत पुराना स्थापित दलहरूलाई अनुमोदन गर्न खोजेको देखिन्छ ।

रास्वपाबारे
वस्तुतः रास्वपाको उदय पुराना पार्टीहरूले यो गरेन त्यो गरेन भन्ने बनिबनाउ नकारात्मक भावना, शीघ्र अपेक्षा र उपभोगवादी लालसाको बीचबाट भएको हो । सार्वभौमतः उदाउने र अस्ताउने विधिले एउटै प्रक्रिया माग गर्दछ । अर्थात् उदाउने प्रक्रियासँग अस्ताउने प्रक्रिया अन्तरसम्बन्धित हुन्छ । जे सोचेर जन्माइन्छ, जन्मेपछि सोही अनुरूप अपेक्षा पूरा भएन भने जन्माउनेहरू नै मार्न पनि तयार हुन्छन् । विचार, राजनीति, सङ्घर्ष र आन्दोलन बुझेर जन्माउने जन्मदाताहरू सचेत हुन्छन्, साह्रोगाह्रो बुभ्mछन्, असहज र अप्ठ्यारो चिन्छन् अनि कमजोरीलाई वस्तुवादी भएर मूल्याङ्कन गर्छन्, तब घामपानी, झरी, बादल र आँधीहुरीमा पनि साथ र सहयोग गर्छन् । तर, ललीपप देखेर वा देखाएर जन्माउनेहरू ललीपप विना एक मिनेट पनि साथ दिँदैनन् । इलाम चुनावमा यही नियम लागू भएजस्तो देखिन्छ ।

वास्तवमा रास्वपा लामो राजनैतिक इतिहास निर्माण गरेर आएको पार्टी होइन । यो अरू दलहरूको नकारात्मक भाष्यमा पैदा भएको पार्टी हो । यसो भएपछि लामो समय विश्वास टिक्ने कुरा हुँदैन । अर्कोतिर तमाम् पुराना दल र नेताहरू विगत लामो  समय त्याग, बलिदान, सङ्घर्ष झेलेर आएका हुन् । उनीहरू त सत्तामा पुगेपछि नराम्ररी बिग्रिए भने रास्वपाको नेता कार्यकर्ताहरूको त विगत पनि त्याग, बलिदानको देखिँदैन । उनीहरू हिजो पनि कमाउधन्दामा थिए । यद्यपि उनीहरू सार्वजनिक पदमा पुगेका थिएनन् र ती सबै गुमनाम थिए । तर, आज सार्वजनिक पद सम्हालिसकेपछि एकपछि अर्को विगतको गलत कुकर्मको फायलहरू खुल्न थालेका छन् । यसले हिजो बहकिएको र बरालिएको मतदाताहरुका घैटोमा घाम लागेको देखिन्छ । इलाम निर्वाचनमा बहकिएर, बरालिएर र स्वादिलो गाली सुनेर होइन, राजनैतिक इतिहास, सङ्घर्ष र विरासत बुझेर मात्रै मतदान गर्नुपर्ने रहेछ भन्ने सन्देश पनि दिएको छ ।

पहिचानवादी आन्दोलनको अनुमोदनः
इलाम निर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवारले राम्रो मत ल्याउन सफल भएको छ । यसलाई पहिचानको आन्दोलनलाई अनुमोदन गरेको अर्थमा व्याख्या गरिँदैछ । तर, एउटा चुनावी अनुमोदन मात्रै पहिचानको लागि पर्याप्त हुँदैन  किनकी पहिचान भनेको समग्र राजनैतिक मुद्धा हो । यो सिङ्गो राज्यसत्ता, सरकार, सङघर्ष र आन्दोलनको राजनैतिक चरित्रसँग जोडिन्छ । यो एकजना सांसद् सिंहदरबार छिर्नु नछिर्नुसँग मात्र सरोकार भएको विषय होइन । यो राजनैतिक आन्दोलनसँग जोडिएको मुद्दा हो । पहिचान भनेको कोशी र किरात वा लिम्बुवानजन्य नामसँग मात्र जोडिएको सवाल होइन । पहिचान भनेको राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारहरूसँग सम्बन्धित मुद्दा हो । यसकारण यो समग्र आन्दोलनसँग जोडिएको सवाल हो । यसलाई नामजन्य भावनामा मात्र सीमित गरियो भने राजनैतिक पथप्रदर्शन विनाको भीडभाड र लगाम विनाको माहौल त बन्ला तर, असली पहिचानसहितको राजनैतिक अधिकार प्राप्ति सम्भव हुँदैन ।

भन्नुको अर्थ यसलाई राजनैतिक आन्दोलनसँग जोड्नु पर्दछ । मूलतः असली पहिचान समाजवादमा मात्र स्थापित गर्न सकिन्छ । समाजवादी उत्पादन पद्दतिको लागि कम्युनिष्ट पार्टीको नेतृत्व अनिवार्य हुन्छ । यसरी विचार, राजनीति, पार्टी र उत्पीडित जनताद्वारा गरिने सचेत, सङ्गठित र योजनाबद्ध पहल र प्रयत्नसँगै निरन्तर आन्दोलनको प्रक्रियाबाट मात्र वास्तविक पहिचान स्थापित गर्न सकिन्छ । खैर, इलाम निर्वाचनले पहिचानको मुद्दालाई पनि नजरअन्दाज गर्नु हुँदैन भन्ने सन्देश दिएको देखिन्छ, जसलाई सकारात्मक नै मान्नु पर्दछ ।

निष्कर्षः
त्यसैले वस्तुतः इलाम निर्वाचन परिणामबाट धेरै हौसिनु र मात्तिनु जरुरी छैन । यो औसत संसदीय निर्वाचनको औसत परिणाम नै हो । कसैले अवस्तुवादी निरपेक्ष अपेक्षा राख्दा पुगेन होला त्यो बेग्लै कुरा हो । यसले पुरानै दलहरूलाई अनुमोदन गरेको छ । साहनुभूति मतलाई संस्थागत गरेको छ । राजनैतिक त्यागको इतिहास विनाको रास्वपाका नेताहरू विभिन्न काण्डहरूमा मुछिनाले बरालिएका र बहकिएका मतदाताहरू निकै सचेत हुनथालेको सन्देश दिएको छ । नामकरणसँग जोडिएको पहिचानको आन्दोलनलाई पनि नजरअन्दाज गर्नु हुँदैन भन्ने जानकारी गराएको छ । अर्थात् समग्रमा इलाम निर्वाचनले कसैलाई फाइदा भयो भने कसैलाई घाटा पक्कै पनि भएको छ । एउटा औसत उपनिर्वाचनले सबै बिग्रेभत्केको सपार्न सक्दैन । तर, यसले गाली, हल्ला र मिडिया स्टन्टबाजीजन्य अभिनयको पछि लाग्नु हुँदैन भन्ने शिक्षा दिएको देखिन्छ ।