देशकै ठूलो स्वास्थ्य संस्थामा पर्ने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न बहानामा बन्द, हड्ताल गर्ने लहर चलेको छ । कहिले कर्मचारी, कहिले चिकित्सक, कहिले शिक्षक त कहिले विद्यार्थी आन्दोलनका कारण बदनाम बनिरहेको प्रतिष्ठानमा अहिले फार्मेसीका कर्मचारीले हड्ताल गरेका छन् । फर्मासिष्टहरुले समयमा तलब नपाएको भन्दै एकसाथ काम बन्द गर्दा बिरामी मर्कामा परेका छन् । प्रतिष्ठानभित्रका फार्मेसी बन्द हुँदाको प्रत्यक्ष फाइदा भने बाहिरका औषधि पसललाई भएको छ । फार्मेसी बन्द हुँदा एकातिर प्रतिष्ठानको आम्दानीमा घाटा भएको छ भने अर्कातिर बिरामीहरु सस्तो मूल्यमा औषधि पाउनबाट बञ्चित भएका छन् ।

फार्मेसीका कर्मचारीले काम गरे बापत तलब सुविधा पाउनै पर्छ । तर, सेवा सुविधाको माग गरिरहँदा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा रहेर सेवा नै ठप्प पार्ने काम कत्तिको जायज हो ? त्यस विषयमा पनि गम्भीर बन्नु जरूरी छ । प्रतिष्ठानको फार्मेसी बाहिरको ठेकेदार कम्पनीले सञ्चालन गरिरहेको छ । प्रतिष्ठानले ठेकेदारलाई पैसा दिनुपर्ने त्यसपछि ठेकेदारले कर्मचारीलाई तलब दिने व्यवस्था छ । प्रतिष्ठानले नै पैसा दिन ढिला गरेको ठेकेदार कम्पनीको दाबी छ । ठेकेदार वा प्रतिष्ठान जसले जे जस्तो बहाना गरे पनि कर्मचारीले सर्तअनुसारको तलब सुविधा पाउनै पर्छ । त्यसमा सबै सरोकारवाला पक्षले सहयोग गर्नु आवश्यक छ । यद्यपि कर्मचारीहरुले पनि आन्दोलन गर्दा स्वास्थ्य क्षेत्रका माफियालाई नै फाइदा पुग्ने गरी गर्नु हुँदैन । त्यसो गर्दा आफ्ना जायज माग पनि शङ्काको घेरामा पर्छन् । काममा लगाएपछि ठेकेदार र प्रतिष्ठानले तलब दिनै पर्छ । समयमा तलब नदिएमा कानूनी प्रक्रियाबाट अघि बढ्न सकिने ठाउँ छ । त्यसो गर्दा बिरामीलाई पनि असर पर्दैन भने स्वास्थ्य क्षेत्रका माफिया र बिचौलियाले पनि बिरामी लुट्न पाउँदैनन् ।

त्यसो त प्रतिष्ठानमा हुने गरेका पटक–पटकका आन्दोलनका पछाडि स्वास्थ्य माफियाहरुका नाम पनि जोडिन्छन् । प्रतिष्ठानकै कतिपय चिकित्सक र कर्मचारी प्रतिष्ठानको सेवाभन्दा व्यक्तिगत फाइदामा लागेका उदाहरणहरु भेटिन्छन् । प्रतिष्ठानको ऐन कानून मिचेर बाहिर मेडिकल सेन्टर सञ्चालन गर्नेहरुले खुलेआम चुनौती दिँदा पनि प्रतिष्ठानले त्यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन नसक्नु दुःखद् छ । यसबाट प्रतिष्ठान प्रशासन नै यस्तो कार्यलाई ढाकछोप गर्न लागेको हो कि भन्ने अर्थ लाग्न सक्छ । यस्ता अवैध र माफिया पोस्ने गतिविधिसँग प्रतिष्ठानमा हुने गरेका आन्दोलनको पनि कतै सम्बन्ध छ कि ? भनेर खोजी गर्नु आवश्यक छ । साथै स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कुनै पनि किसिमका बन्द, हड्ताल गर्न रोकिनु पर्छ । अन्यथा दिनदिनै धरासायी बनिरहेको प्रतिष्ठानको अस्तित्वमै सङ्कट आउने खतरा बढ्दो छ । प्रतिष्ठान डुब्दा फाइदा कमाउने स्वास्थ्य क्षेत्रका माफियाहरुले नै हो । माफिया पोस्ने कि आम नागरिकको सहज स्वास्थ्य उपचारको व्यवस्था गर्ने ? धरानवासीले पनि आवाज उठाउन ढिला गर्नु हुँदैन ।