भद्रपुर । पछिल्लो समय बिर्तामोडसहित झापाका विभिन्न क्षेत्रमा मोबाइल फोन र इन्टरनेटको माध्यमबाट अनलाइन बेटिङ तथा सट्टेबाजी सञ्चालन गर्ने गराउने गतिविधि बढेको पाइएको छ ।

गैरकानूनी रूपमा सञ्चालन हुँदै आएको भनिएको अनलाइन सट्टेबाजी तथा जुवा नियन्त्रणमा अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेपछि गतिविधि सार्वजनिक भएको हो । प्रहरीले बुधबार बिर्तामोड–४ स्थित वृक्ष क्याफेबाट तीन जना युवालाई अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड–४ का २७ वर्षीय उज्वल गुरागार्इं, बिर्तामोड–४ कै ३८ वर्षीय हेक्की श्रेष्ठ र ४० वर्षीय किरण कन्दङ्वा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

विशेषगरी  बिर्तामोडमा गैरकानूनी रूपमा विभिन्न प्रलोभनमा पार्दै बैङ्किङ अपराध गर्नेहरू अनलाइन सट्टेबाजी र सर्वसाधारणलाई बैङ्क खाता खोल्न लगाएर आर्थिक अपराध गर्नेहरू सक्रिय रहेका छन् । प्रहरीले उनीहरूलाई सूक्ष्म तरिकाले केही समयदेखि निगरानी गरिरहेको थियो । उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको जिल्लाका डिएसपी रञ्जन अवालेले जानकारी दिए ।  मोबाइल फोन र इन्टरनेटको माध्यमबाट अनलाइन बेटिङ तथा सट्टेबाजी सञ्चालन गर्ने र गराउने गतिविधि बढेको यो घटनाले पुष्टि गरेको छ ।

करिब तीन महिनाअघि बिर्तामोडबाटै दुई युवकलाई अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । पछिल्लो घटनामा पक्राउ परेका तीन जनाले कुन माध्यमबाट, कति रकम बराबरको र कस्तो प्रकृतिको सट्टेबाजी गरिरहेका थिए भन्ने विवरण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ । प्रहरीले पछिल्ला घटनामा संलग्न व्यक्तिको मोबाइल, डिजिटल कारोबार, बैङ्क खाता तथा अन्य विद्युतीय माध्यमबाट भएका कारोबारलाई अनुसन्धानको दायरामा ल्याउँदै आएको छ ।

नेपालमा जुवा तथा सट्टेबाजीलाई कानूनले निषेध गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने व्यवस्था गरिएको छ । नेपाल प्रहरीले पनि अनलाइन बेटिङसम्बन्धी अनुसन्धान र कारबाहीमा यही कानूनी व्यवस्थालाई आधार बनाउँदै आएको जनाएको छ । प्रहरीका अनुसार अनलाइन बेटिङका गतिविधि कहिलेकाहीँ साइबर अपराध, ठगी र गैरकानूनी वित्तीय कारोबारसँग समेत जोडिने गरेका छन् । सामाजिक सञ्जालमार्फत् प्रयोगकर्तालाई आकर्षित गर्ने, विभिन्न अनलाइन खेलमा रकम लगानी गर्न प्रेरित गर्ने र डिजिटल माध्यमबाट रकम स्थानान्तरण गराउने प्रवृत्ति देखिएको प्रहरीको भनाइ छ । 

अनलाइन सट्टेबाजीमा संलग्न समूहले प्रत्यक्षरूपमा जुवा खेलाउने स्थान नराखी मोबाइल, वेबसाइट, एप्लिकेसन र डिजिटल भुक्तानी माध्यम प्रयोग गर्ने भएकाले यसको अनुसन्धान प्राविधिक पक्षसँग समेत जोडिएको हुन्छ । यसैबीच इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडमा ‘खाता खोलेर ठगी’ गर्ने गिरोहको आशङ्कामा तीन महिलालाई पक्राउ गरेको छ । सामान्य मजदुरी गरेर जीविका चलाउने व्यक्तिलाई केही हजार रुपैयाँको प्रलोभन देखाएर बैङ्क खाता खोल्न लगाउने र त्यसपछि उक्त खातामार्फत् हुने आर्थिक कारोबारमा नियन्त्रण जमाउने गिरोह सक्रिय रहेको प्रहरीको भनाइ छ । सर्वसाधारणलाई आफ्नो नाममा एनसेललगायत विभिन्न सेवा प्रदायक कम्पनीको सिम किन्न लगाउने र उनीहरूलाई बैङ्क खाता खोल्न लगाउनुका साथै मोबाइल बैङ्किङ अर्थात् (क्युआर) आफूले सञ्चालन गर्ने गरेको र उक्त बैङ्क खाता सञ्चालन गरे बापत ८ देखि १० हजार रुपैयाँसम्म दिने गरेको खुलेको छ । 

इलाका प्रहरी कार्यालय अनारमनीमा गलत ब्यक्तिको फन्दामा परेको भन्दै गुनासो आएलगत्तै यस्ता समूहमाथि प्रहरीले विशेष निगरानी बढाएको इलाका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।