विजयपुर । एक सय किलो गाँजा तथा लागू ब्राउन सुगरसहित ९ जना पक्राउ परेका छन् ।
कोशी प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा तथा ब्राउन सुगर बरामद गरेको हो । उदयपुरको त्रियुगा नगरपालिका–६ बाट प्रहरीले १ सय किलो १६४ ग्राम लागूऔषध गाँजासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । गाईघाटबाट कदमाहातर्फ जाँदै गरेका दुई वटा यात्रुवाहक विङ्गर गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा गाडीको छतमा प्लास्टिकमा प्याक गरी झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा बरामद गरिएको हो ।
गाँजा बरामद भएपछि ओसारपसारमा संलग्न रहेको आशंकामा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।
यस्तै, झापा र मोरङबाट प्रहरीले ६ ग्राम ६५ मिलिग्राम ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । झापाको बाह्रदशी गाउँपालिका–१, खैरबारीबाट को ३१ प ६१६० नम्बरको मोटरसाइकलमा सवार बिर्तामोड नगरपालिका–३ का २९ वर्षीय गणेश राजवंशी र पछाडि सवार २३ वर्षीय विश्वजित राजवंशीलाई ३ ग्राम ६५ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
मोरङको लेटाङ नगरपालिका–४ बाट २३ वर्षीय विकास राई र २० वर्षीया सबिना लिम्बुलाई ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाँजा तथा ब्राउन सुगरसहित पक्राउ परेका सबै नौ जनामाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।