विजयपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा पहिरो खसेर पानी थुनिएपछि सप्तकोसी नदीको तटीय क्षेत्रमा समेत बाढीको जोखिम बढ्न सक्ने भन्दै प्रहरीले सतर्क रहन आग्रह गरेको छ ।
इलाका प्रहरी कार्यालय चतराले माइकिङ गर्दै सतर्कता अपनाउन आग्रह गरिरहेको छ । शुक्रबार बिहान महाकुलुङ गाउँपालिका–२ र ४ को सीमाक्षेत्रमा पहिरो खसेर हुङ्गा खोलामा करिब १०० मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेको हो । गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नं. २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेपछि खोलाको पानी थुनिएको प्रहरीले जनाएको छ ।
पहिरोले बनाएको ड्यामको ताल भरिएपछि पानी निकास हुन सुरु भए पनि खोलामा थप पहिरो खस्ने वा पानीको बहाव एक्कासि बढ्न सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ । यही सम्भावित जोखिमलाई ध्यानमा राख्दै हुङ्गा खोला हुँदै दूधकोसी नदी र त्यसपछि सप्तकोसी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।
हुङ्गा खोलाको पानी महाकुलुङ–२ स्थित बोदेलमा थुनिएको स्थानबाट सोताङ, थुलुङ दूधकोसी र नेचासल्यान गाउँपालिका हुँदै दूधकोसी नदीमा मिसिन्छ । दूधकोसी नदी हुँदै उक्त पानी सप्तकोसी नदी प्रणालीमा पुग्ने भएकाले तल्लो तटीय क्षेत्रमा समेत सम्भावित जोखिमलाई ध्यान दिन प्रहरीले आग्रह गरेको हो ।
नदी तथा नदी तटीय क्षेत्रमा रहेका बस्तीका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । विशेषगरी नदी किनारमा बसोबास गर्ने तथा नदीमा आवतजावत गर्ने व्यक्तिहरूलाई पानीको बहाव बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी सावधानी अपनाउन भनिएको छ ।
महाकुलुङ क्षेत्रमा बनेको ड्यामबाट पानी बग्न थाले पनि जोखिम पूर्णरूपमा टरेको अवस्था नरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली परिचालन गरी अवस्थाको निगरानी भइरहेको छ ।
यसैबीच, पहिरोका कारण तत्काल जोखिम हुन सक्ने भन्दै गौरीशंकर हाइड्रोपावरको पावर हाउस, दूधकोसी–२ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडका दुईवटा हाइड्रोपावरमा कार्यरत कामदार र सवारीसाधनलाई सुरक्षित स्थानमा जान सूचित गरिएको प्रहरीले जनाएको छ ।