विजयपुर । झापा र सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका १० लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ ।
झापाको शिवसताक्षी नगरपालिका–१०, फाल्गुनन्द चोकबाट प्रहरीले भन्सार छली गरी ल्याउँदै गरेको विभिन्न प्रकारका कपडा र प्रदेश ३–०१–०२३ च २४७५ नम्बरको मारुती कार्गो (ईको) भ्यान बरामद गरेको हो । गोप्य सूचनाका आधारमा ९ लाख २९ हजार १ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको जनाइएको छ ।
भद्रपुर नगरपालिका–५ का ३० वर्षीय राकेश लिम्बूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीको बर्जु गाउँपालिका–२ बाट इलाका प्रहरी कार्यालय दुहबी र सितागञ्जको टोलीले प्र.१–०४–००१ प ९३३२ नम्बरको मोटरसाइकलमा भन्सार छली गरी ल्याइएको कुर्ता–सुरुवाल लगायतका सामान बरामद गरेको छ। उक्त सामानको मूल्य १ लाख ३२ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
दुवै घटनामा बरामद सामानको कुल मूल्य १० लाख ६१ हजार १ सय रुपैयाँ रहेको छ।