विराटनगर । ग्रामीण बस्तीवासीलाई अस्पतालको सेवा घरदैलोसम्म पुर्याउने उद्देश्यले कोशी प्रदेश सरकारले करिब ८० लाख रुपैयाँ खर्चेर तयार पारेको ‘घुम्ती अस्पताल’ अहिले शैलेजा आचार्य प्रादेशिक अस्पताल परिसरमै थन्किएको छ ।

सेवा शुभारम्भ भएको आठ महिना बितिसक्दा पनि उपकरणसहितको उक्त बस नियमित रूपमा गाउँगाउँ पुगेको छैन । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरको रोडशेष चोकबाट करिब एक किलोमिटर दक्षिणतर्फको प्रादेशिक अस्पतालमा बस थन्किएको हो ।

मधेश प्रदेश ०३–००२ ख २७४६ नम्बरको उक्त बसभित्र स्वास्थ्य परीक्षण तथा उपचारका लागि आवश्यक उपकरण जडान गरिएका छन् । रेडियोलोजी सेवा, मुटुको एक्स–रे, रगतका विभिन्न परीक्षण तथा नमुना सङ्कलन र परीक्षण गर्न सकिने उपकरण राखिएका छन् । तर यी उपकरणसहितको बस अहिले ग्रामीण बस्तीमा स्वास्थ्य सेवा पु¥याउन होइन; अस्पताल परिसरमै पार्किङ गरेर राखिएको छ ।

आठ महिनाअघि भने प्रदेश सरकारले यही बसलाई ग्रामीण स्वास्थ्य सेवाको नयाँ माध्यमका रूपमा प्रस्तुत गरेको थियो । २५ पुस २०८२ मा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ (१) अन्तर्गत कमल गाउँपालिकाबाट ‘कोशी घुम्ती अस्पताल’ सेवा शुभारम्भ गरेका थिए । तामझामका साथ गरिएको उद्घाटनमा उनले स्वास्थ्य सेवा अस्पतालको पर्खालभित्र मात्र सीमित हुन नहुने बताएका थिए ।

“स्वास्थ्य सेवा अस्पतालको पर्खालभित्र मात्र सीमित हुनु हुँदैन । सेवा जनताको घरदैलोसम्म पुग्नुपर्छ” उनले भनेका थिए, “यो घुम्ती अस्पताल त्यसैको एउटा ठोस उदाहरण हो ।” प्रदेश सरकारको योजना ग्रामीण क्षेत्रका नागरिकलाई स्थानीय तहमै स्वास्थ्य परीक्षण तथा उपचारको सुविधा दिने थियो । आवश्यक परे त्यहाँबाट ठूला अस्पतालमा बिरामी रेफर गर्ने र महामारी वा आकस्मिक स्वास्थ्य सङ्कटका बेला स्वास्थ्य शिविर सञ्चालनमा समेत बस प्रयोग गर्ने भनिएको थियो । तर सेवा शुभारम्भ भएको आठ महिना बितिसक्दा पनि त्यो योजना नियमित सेवामा परिणत हुन सकेको छैन ।

सेवा कहाँ ?

स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक ज्ञानबहादुर बस्नेतको कार्यकालमा करिब ८० लाख रुपैयाँमा बस खरिद गरिएको थियो । बसमा विभिन्न स्वास्थ्य परीक्षणका उपकरण जडान गरिएको छ । तर खरिदअघि नै यसको सञ्चालन क्षेत्र, ग्रामीण तथा पहाडी सडकको अवस्था, आवश्यक जनशक्ति, इन्धन, मर्मतसम्भार र उपकरण सञ्चालनको व्यवस्थाबारे पर्याप्त अध्ययन गरिएको थियो कि थिएन भन्ने प्रश्न अहिले उठेको छ ।

विशेषगरी पहाडी जिल्लाका विकट बस्तीमा यति ठूलो बस पु¥याउन कठिन हुने स्वास्थ्य मन्त्रालयकै कर्मचारीहरू बताउँछन् । उनीहरूका अनुसार ग्रामीण क्षेत्रमा सेवा पु¥याउने उद्देश्य राखिए पनि बसको आकार र पहाडी भूगोलबीच तालमेल देखिँदैन । “के उद्देश्यले यति ठूलो बसमा उपकरण जडान गरियो, थाहा भएन” मन्त्रालयका एक कर्मचारीले भने, “पहाडी जिल्लाका ग्रामीण बस्तीमा पुग्ने खालको घुम्ती अस्पताल सञ्चालनमा ल्याएको भए प्रभावकारी हुने थियो । अहिले आएर यो घाँडो भएको छ ।” बस खरिदपछि त्यसलाई कहाँ, कति पटक र कुन जनशक्तिमार्फत् सञ्चालन गर्ने भन्ने विषयमा पनि स्पष्टता देखिँदैन ।

कार्यविधि र जनशक्ति कहाँ ?

घुम्ती अस्पताल सेवा सुरु गर्दा नै यसको सञ्चालनका लागि छुट्टै संरचना, कार्यविधि र जनशक्ति आवश्यक पर्ने विषय उठेको थियो । मुख्यमन्त्री कार्कीले पनि सेवा शुभारम्भसँगै त्यसका लागि थप तयारी गर्नुपर्ने बताएका थिए । स्वास्थ्य मन्त्रालयले छुट्टै शाखा बनाउने, आवश्यक मेडिकल उपकरण तथा औषधि व्यवस्थापन गर्ने र विशेषज्ञ चिकित्सक परिचालन गर्ने योजना रहेको उनको भनाइ थियो । तर आठ महिनापछि पनि ती योजना कार्यान्वयनको स्पष्ट खाका सार्वजनिक भएको छैन ।

तत्कालीन स्वास्थ्य निर्देशनालयका निर्देशक बस्नेतका अनुसार उनको कार्यकालमा घुम्ती अस्पताल सञ्चालनका लागि सामान्य कार्यविधिसमेत तयार गरिएको थियो । “म त्यसबेला निर्देशनालयमा रहँदा उद्घाटन गरेर एउटा सामान्य कार्यविधि पनि तयार भएको थियो” उनले भने, “त्यसपछि गाउँसम्म पु¥याएर सेवा प्रारम्भ गर्ने उद्देश्य थियो । म अवकाश प्राप्त भएपछि यो किन सेवा सुरु भएन, मलाई थाहा भएन ।” उनका अनुसार घुम्ती अस्पतालको मूल उद्देश्य प्रदेशका ग्रामीण क्षेत्रका नागरिकलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउनु थियो । तर नियमित सञ्चालनका लागि स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयले अहिलेसम्म स्पष्ट दीर्घकालीन कार्ययोजना सार्वजनिक गरेका छैनन् ।

अस्पतालमै जनशक्ति अभाव

घुम्ती अस्पताल सञ्चालनको अर्को चुनौती जनशक्ति व्यवस्थापन हो । प्रदेश सरकारअन्तर्गतकै अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव छ । विराटनगरस्थित शैलेजा आचार्य प्रादेशिक अस्पताल ५० शøयाको हो । तर त्यहाँको आकस्मिक सेवा अझै १२ घण्टा मात्रै सञ्चालन भइरहेको छ । आफ्नै अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन हुन नसकेको अवस्थामा छुट्टै घुम्ती अस्पतालका लागि चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक जनशक्ति कहाँबाट ल्याउने भन्ने प्रश्न उठेको छ ।

“भएको अस्पतालमा जनशक्ति नहुँदा सेवा प्रभावकारी हुन सकेको छैन” मन्त्रालयका एक कर्मचारीले भने, “कहाँबाट यो घुम्ती अस्पताल बसमा जनशक्ति हुन्छ र सञ्चालन हुन्छ ? यसको लागि छुट्टै कार्ययोजना हुनुपर्ने हो । हचुवाको तालमा खरिद गर्दा अहिले घाँडो भएको हो ।” घुम्ती अस्पताल सञ्चालनका लागि चिकित्सक र स्वास्थ्यकर्मी मात्रै पर्याप्त हुँदैनन् । उपकरण सञ्चालन गर्ने प्राविधिक जनशक्ति, नियमित मर्मतसम्भार, इन्धन, औषधि, परीक्षण सामग्री र सेवा सञ्चालनको तालिका पनि आवश्यक हुन्छ । यी सबैको व्यवस्थापन कसरी गर्ने भन्ने विषय अझै स्पष्ट छैन ।

“अब सञ्चालनमा ल्याउँछौँ”

स्वास्थ्य निर्देशनालय कोशी प्रदेशका प्रमुख सागर प्रसाईं आफू आउनुभन्दा अघि नै घुम्ती अस्पताल बस ल्याइएको बताउँछन् । उनका अनुसार अब यसलाई सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले आफू मन्त्रालयमा आएपछि मात्रै घुम्ती अस्पताल सेवाबारे जानकारी पाएको बताए । उपकरणसहित तयार अवस्थामा रहेको बसलाई मन्त्रालयका विभिन्न कार्यक्रमसँग जोडेर सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

“स्वास्थ्य उपकरणसहित सेटअप भएको उपचार सेवाका लागि गाडी रहेको छ” उनले भने, “त्यसलाई हामी मन्त्रालयका विभिन्न कार्यक्रमसँग जोडेर अब अगाडि बढाउनेछौँ । त्यसलाई सञ्चालन गर्नेछौँ । यसको अध्ययन गरेर हामी अगाडि बढ्नेछौँ ।” मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने भएकाले त्यस्ता कार्यक्रमसँग घुम्ती अस्पताललाई जोड्ने योजना रहेको उनले बताए ।

बसमा जडान भएका उपकरण र आवश्यक जनशक्ति व्यवस्थापन गरेर सेवा सञ्चालन गर्ने उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. कीर्तिपाल सुवेदीका अनुसार पनि बस सञ्चालनका लागि केही व्यवस्थापनका काम बाँकी छन् ।

“केही व्यवस्थापनका कामहरू बाँकी छन् । ती कामहरू पूरा गरेर हामी चाँडै नै सेवा सञ्चालनमा ल्याउनेछौँ” उनले भने, “चालु आर्थिक वर्षमा घुम्ती स्वास्थ्य सेवाका लागि बजेटसमेत विनियोजन गरिएको छ । त्यसैले यो बसलाई घुम्ती स्वास्थ्य सेवामार्फत् नागरिकलाई उपचार तथा स्वास्थ्य सेवा प्रदान गर्न प्रयोग गर्नेछौँ ।”