काठमाडौँ । भोटेकोशी बाढीका कारण सञ्चार सेवा प्रभावित भएका क्षेत्रमा एनसेलले स्याटेलाइट प्रविधिमार्फत् निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ ।
उद्धार, राहत तथा पुनस्र्थापनाका कामलाई सहज बनाउन कम्पनीले युटेलस्याटको लो अर्थ अर्बिट (एलइओ) स्याटेलाइटमा आधारित उपकरण प्रभावित क्षेत्रका महत्वपूर्ण स्थानमा जडान गरिरहेको जनाएको छ । सडक तथा फाइबर सञ्जाल अवरुद्ध भएर सामान्य इन्टरनेट र मोबाइल सेवा सञ्चालन हुन नसकेको अवस्थामा समेत यस प्रविधिबाट इन्टरनेट उपलब्ध हुनेछ ।
एनसेलका अनुसार नुवाकोटका तीन महत्वपूर्ण स्थानमा सेवा सञ्चालनमा आइसकेको छ भने बाढी प्रभावित अन्य क्षेत्रमा उपकरण जडानको काम जारी छ । प्रभावित समुदाय, होल्डिङ सेन्टर, राहत वितरण केन्द्र, अस्थायी शिविर तथा आपत्कालीन कार्यस्थलमा यो सेवा निःशुल्क उपलब्ध गराइनेछ ।
जमिनमा जडान गरिएको उपकरणले स्याटेलाइटबाट इन्टरनेट सिग्नल लिएर वरपर वाईफाईमार्फत् सेवा वितरण गर्नेछ । यसबाट सन्देश आदानप्रदान, इन्टरनेट कल, सूचना प्राप्ति, ब्राउजिङ तथा उद्धार–राहत कार्यको समन्वयमा सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्लीराम श्रेष्ठले सडक पूर्वाधार र सञ्चार सेवा गम्भीर रूपमा प्रभावित भएका नुवाकोटका तीन स्थानमा स्याटेलाइट सञ्चार पहुँच स्थापना गरिएको बताए । यसले उद्धार तथा राहत कार्यसँगै प्रभावित नागरिकलाई सम्पर्कमा रहन सहयोग पुग्ने उनको भनाइ छ ।
एनसेलले बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकलाई पहिलो दिनदेखि दैनिक निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा दिँदै आएको जनाएको छ । त्यस्तै एनसेल फाउन्डेसनमार्फत् प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित सरकारी निकायबाट आवश्यक स्वीकृति लिएर स्याटेलाइट सेवा सञ्चालन गरेको जनाएको छ ।