धरान । धरानमा जनसहभागिताबाट बनेको पहिलो सडकको नाम हो, सिद्धार्थ माग । त्यही मार्गमा प्रजातन्त्र पुनर्बहालीपश्चात् खुलेको एउटा पुस्तकालय छ, सिद्धार्थ पुस्तकालय । पुस्तकालयमा करिब तीन सयको हाराहारीमा पुस्तक होलान् । दैनिक, साप्ताहिक पत्रपत्रिका पनि छन् । पढ्नेको सङ्ख्या पनि खासै छैन । तर, दैनिक बिहान ८ बजेबाट साँझको ५ बजेसम्म नियमित खुल्छ ।

पुस्तकालय खोल्नका लागि एक जना कार्यालय सहयोगी छन् । कार्यालय सहयोगीको मासिक तलब २ हजार रुपैयाँ छ । उनको काम खोल्ने र सामान्य रेखदेख गर्ने अनि बन्द गर्ने हो । पुस्तकालयका अध्यक्ष गङ्गा लिम्बूका अनुसार पुस्तकालय पञ्चायतकालदेखि नै खुलेको हो । तर, दर्ता भने २०५८ सालमा मात्रै भएको हो । धरान–८ बासी दोर्पध्वज राईले प्राप्त गरेको एक ‘लेख’ मा दर्ता मिति २०५८ असोज २१ गते रहेको छ । मोबाइल देखाउँदै उनले भने, ‘२०५८ असोज २१ गते दर्ता भएको देखिन्छ । तर, खुल्न चाहिँ धेरै अगाडिदेखि नै खुलेको रहेछ ।’

जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता हुनुभन्दा धेरै वर्षअघिदेखि नै यो पुस्तकालयलाई पढ्ने थलो र मिलन केन्द्रको रूपमा विकास भएको वडाबासी राईले प्राप्त गरेको लेखमा भेटेका छन् । नजिकै बसेका पुस्तकालयका अध्यक्ष लिम्बूले भने पञ्चायतकालदेखि नै पुस्तकालय सुरु भएको दाबी गरे । ‘पञ्चायतकालका वडाध्यक्ष सुभाष सुब्बा हुँदातिर नै पुस्तकालय खुलेको हो’ उनले अनुमान गर्दै भने, ‘मेरो ख्यालमा २०३८ साल हुनुपर्छ ।’ २०४८ सालमा भने प्रजातन्त्र प्राप्तिको खुसीयालीमा संस्थागत गर्नका लागि पढ्ने थलो र मिलन केन्द्रको रूपमा विकास गरिएको भन्ने लेखमा भेटिएको दोर्पध्वज राई बताउँछन् ।

उनको कुरालाई २०५६ सालदेखि अध्यक्ष रही २०७८ मा निवर्तमान भएका विशनस्वर राईले पुष्टि गरे । उनका अनुसार प्रजातन्त्रको पुनर्बहालीपछि नै राजनीतिक भेटघाट, गफगाफ गर्ने थलोको रूपमा विकास भएको हो । ‘पञ्चायतकालमै खुलेको होइन, प्रजातन्त्र पुनर्बहाली भएपछि नै भेटघाट गर्ने थलोको रूपमा विकास भएको हो’–उनले फोनसम्पर्कमा भने । उक्त पुस्तकालयलाई २०५१ सालदेखि तत्कालीन धरान नगरपालिकाले वार्षिक बजेटमा केही रकम दिँदै आएको थियो । अध्यक्ष लिम्बूले भने, ‘मनोजकुमार मेन्याङ्बो उपप्रमुख हुँदा नगरपालिकाले ३ हजार रुपैयाँ पुस्तकालयका लागि छुट्याउने गरेको थियो ।’

त्यो पैसा भने पत्रिकाका लागि खर्च गर्ने गरेको अध्यक्ष लिम्बू बताउँछन् । २०५८ सालमा दर्ता भएपश्चात् भने पुस्तकालय चलाउन एउटा गज्जब उपाय रचे । पुस्तकालयको भाडा तिर्न र अन्य मसलन्द खर्चका लागि एउटा रिक्सा किने । रिक्साबाट आएको खर्च र बाँकी रहेको रकमले अर्को रिक्सा गर्दै २०७० अगाडिसम्म ६ वटा रिक्सा पुस्तकालयको नाममा चल्थ्यो । तीन वटा रिक्सा भने संस्थाका सदस्यहरूबाटै खरिद गरेका थिए भने तीन वटा रिक्सा चाहिँ दाताबाट प्राप्त भएको थियो । ‘एउटा रिक्सा बराबर ६ सय रुपैयाँ दिन्थ्यो’ अध्यक्ष लिम्बूले भने, ‘त्यो पैसाले कोठा भाडा तिथ्र्यौं ।’ धरानमा रिक्सा बन्द भएसँगै लामो समयसम्म पुस्तकालयका सदस्य तथा शुभचिन्तकहरूबाट कोठा भाडा तिर्दै आएको निवर्तमान अध्यक्ष विशनस्वर राई बताउँछन् ।

उनका अनुसार पुस्तकालयको नाममा २०७६ सालमा टेम्पो किनिएको हो । बेलायत र हङ्कङमा रहेकाहरूले आर्थिक सहयोग गरेपछि संस्थाको नाममा टेम्पो खरिद गरिएको निवर्तमान अध्यक्ष राईले जानकारी दिए । जसले सुरुमा दैनिक ३ सय रुपैयाँ र पछिल्लो केही समययता दैनिक ४ सय रुपैयाँ दिँदै आएको छ । सोही पैसाले मासिक कोठाभाडा र पुस्तकालयका सहयोगीलाई तलब खुवाउने गरिएको छ । त्यसबाहेक उब्रिएको पैसा संस्थाको नाममा राखिएको अध्यक्ष लिम्बूले बताए । ‘कोठा भाडा तिर्ने र सहयोगीलाई तलब खुवाउने त्यही टेम्पोबाट हुन्छ’ उनले भने, ‘उब्रिएको पैसा कोषमा राखेको छौँ ।’ पत्रिका खरिदका लागि भने धरान उपमहानगरपालिकाले वार्षिक ३० हजार रुपैयाँ दिने गरेको र उक्त रकम पत्रिका खर्चमा जाने गरेको पुस्तकालयका प्रतिनिधि बताउँछन् ।

पुस्तकालय सुरु गर्दा रमेश राई, हर्कबहादुर राई, ललित मेन्याङ्बो, बलबहादुर लिम्बू, पञ्चबहादुर राई, आईश्वरमान राई, सुभाष सुब्बा, रतन राई, अशोक लामा, खमिर तामाङ, विक्रम लिम्बूहरू रहेका थिए भने दर्ता ताकामा हेमन्त लिम्बू, गङ्गा लिम्बू, गणेश लामा, किरण भुजेल, विशनश्वर राई, आनन्दश्वर राईको भूमिका प्रमुख रहेको थियो । पुस्तकालयमा दैनिक पत्रिका पढ्नेको सङ्ख्या १० जनाको हाराहारीमा हुने गरेको छ । ‘नियमित पत्रिका पढ्ने खासै आउँदैनन्, आर्थिक अवस्थाले गर्दा पुस्तक पनि हाल्न सकिएको छैन । करिब पाँच सय पुस्तक होलान्’–अध्यक्ष लिम्बूले भने ।