बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १३६ सुरक्षा श्रमिकले प्राप्त गर्नुपर्ने एक करोड ५६ लाख  ३४ हजार ३ सय १४ रुपैयाँ रकम सुरक्षा कम्पनी केटिएम सेक्युरिटीले भुक्तानी नगर्दा श्रमिक अन्यायमा परेका छन् । 

२०७७ साल फागुन ८ गते श्रम अदालत काठमाडौँले मिलापत्र गरिदिएको रकम ३० महिनादेखि श्रमिकले प्राप्त गर्न सकेका छैनन् । श्रम अदालतले ‘दुवै पक्षको विशेष पहलमा बिपी प्रतिष्ठान धरानबाट जतिसक्दो चाँडो कम्पनीले पाउनुपर्ने बक्यौता रकम प्राप्त गरी ३५ दिनभित्र सम्बन्धित श्रमिकहरूको मिलापत्रको आधारमा दुरुस्त हिसाब गरी कम्पनीको नियमानुसार ‘क्लियरेन्स’ प्रक्रिया पूरा गरेपश्चात् सम्बन्धित श्रमिकहरूको बैङ्क खातामा कम्पनीले जम्मा गर्ने’ आदेश गरेको थियो ।

श्रमिकको खबरदारी सभा

शनिबार प्रतिष्ठानस्थित सुरक्षा श्रमिकले खबरदारी सभा आयोजना गरेका छन् । हाल प्रतिष्ठानमा सुरक्षाको जिम्मा लिइरहेको कम्पनी भिआइपी सेक्युरिटी सर्भिस प्रालिको सम्झौता सकिएपछि प्रतिष्ठानमा आउने भनिएको कान्तिपुर सेक्युरिटी कम्पनीले सुरक्षा श्रमिकविरुद्ध श्रम ऐन प्रतिकूल हुने गरी मापदण्ड राखेको भन्दै श्रमिकहरूले खबरदारी सभा आयोजना गरेका हुन् ।