धरान । सुनसरीको धरान उपमहानगरपालिका–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा भएको कार्यालय सहयोगी/लेखाको विवादमा धरान उपमहानगरपालिकाबाट बनेको समितिले ‘परीक्षा प्रणाली दुराशययुक्त’ रहेको निष्कर्ष निकालेको छ । 

धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा गठित प्रशासन महाशाखाका अधिकृत वेदप्रसाद सापकोटाको संयोजकत्वमा बनेको समितिले १२ दिनमा प्रतिवेदन बुझाउँदै उक्त निष्कर्ष निकालेको हो । नगर कार्यपालिकाले अधिकृत सापकोटाको समितिलाई साउन २९ गते जिम्मेवारी दिएको थियो भने समितिले भदौ ९ गते धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा चारवटा कुरालाई मुख्य रूपमा औँल्याइएको छ । 

प्रतिवेदनमा निष्कर्ष खण्डमा भनिएको छ– “ज्ञानोदय मा.वि.मा साउन १६ गते लिइएको विद्यालय सहायक लेखा कर्मचारीको नियुक्ति प्रक्रिया पूर्णरूपमा निष्पक्ष नरहेको, शिक्षा महाशाखाले परीक्षालाई संवेदनशील रूपमा हेर्नुपर्ने देखिएको र प्रधानाध्यापकको पदको दुरुपयोग भएको र कानूनी प्रक्रिया मिचिएको छानबिनका क्रममा देखिएको ।”

विद्यालयले गत असार २२ गते तीन वटा छुट्टाछुट्टै पदका लागि आवेदन खुलाएको थियो । उक्त आवेदनअन्तर्गत नेपाली, अङ्ग्रेजी र लेखा कर्मचारी रहेको थियो । जसमा अङ्ग्रेजीको दरबन्दी मिलान गरिए पनि नेपालीको परीक्षाको अघिल्लो रात नै रोकिएको थियो भने लेखामा विद्यालयका प्रअ अमर चेम्जोङ आफै परीक्षा छनोट समितिको संयोजकमा बनेर श्रीमती तृष्णा लिम्बूलाई सफल उम्मेदवार बनाएका थिए । 

यो विषयमा वैकिल्पक उम्मेदवार दीपा भट्टराईले ‘स्वार्थको द्वन्द्व’ बाझिएको भन्दै वडा कार्यालय र धरान उपमहानगरपालिकाको शिक्षा महाशाखामा निवेदन दिएकी थिइन् । उक्त निवेदनपश्चात् सफल उम्मेदवार तृष्णा लिम्बूले ‘काम विशेषले नभ्याउने’ भन्ने आशयको पत्र दिएकी थिइन् भने यो विषयलाई ब्लाष्टले निरन्तर फलो गर्दै आइरहेको थियो । ब्लाष्टमा समाचार प्रकाशित भएपश्चात् यो विषयलाई धरान उपमहानगरपालिकाले पनि चासो दिएको थियो ।

यही क्रममा धरान उपमहानगरपालिकाले प्रशासन महाशाखाका अधिकृत वेदप्रसाद सापकोटालाई संयोजकको जिम्मेवारी दिइएको थियो भने सदस्यको रूपमा सामाजिक विकास महाशाखाका अनन्त राई र कानून अधिकृत समीक्षा धमला रहेकी थिइन् । 

समितिले भदौ ९ गते प्रतिवेदन बुझाउँदै प्रतिवेदन बुझाएको १७ दिनभित्रमा अर्को परीक्षा गर्नका लागि निर्देशन दिएको छ । निर्देशनअनुसार नै परीक्षाको तयारी गरिरहेको बुझिएको छ । धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईले ब्लाष्टकर्मीसँग भने, “प्रतिवेदनले दिएको क्षेत्राधिकारलाई प्रयोग गरी परीक्षा गर्न स्कुललाई निर्देशन दिइएको छ । हामीले कानूनअनुसार नै काम अगाडि बढाएका छौँ ।” यता विद्यालय भने परीक्षा गर्न नसक्ने मुडमा देखिएको छ । यसबारे प्रमुख प्रशासकीय अधिकृत राईले भने, “कानूनमा जे छ, त्यही मात्रै बोलेको हो ।”

यो घटनापश्चात् स्कुलका प्रअ चेम्जोङलाई धरान उपमहानगरपालिकाले कारबाही गरेको छ । उनको स्थानमा निमित्त प्रअको रूपमा शान्ति याक्खालाई जिम्मेवारी दिइएको छ । स्कुलका प्रअ चेम्जोङलाई विद्यालय कर्मचारी लेखा विनियम २०८३ को परिच्छेद ४ को (ङ)अनुसार कारबाही गरिएको छ । ४ को (ङ) मा निम्न व्यवस्था रहेको छ, “परीक्षामा संलग्न विज्ञ तथा सदस्यहरूबाट अनियमित कार्य भएको प्रमाणित भएमा त्यस्तो कार्य गर्ने गराउने विज्ञ तथा समितिका सदस्यलाई विज्ञ सूची तथा समितिबाट हटाई सो कार्यमा संलग्न अन्यलाई समेत नियमानुसार उपमहानगरपालिकाले कारबाही गर्नेछ । साथै अनियमित कार्य भएको प्रमाणित भएमा उक्त परीक्षा रद्द हुनेछ र पुनः परीक्षाको प्रक्रिया अगाडि बढाउनु पर्नेछ ।” विनियमको सोही नियमलाई टेकेर नयाँ परीक्षा गर्न लागिएको हो । 

समितिले दिएको सुझावको दोस्रो बुँदामा लेखिएको छ– “परीक्षा सञ्चालनमा स्वार्थ बाझिँदै पनि परीक्षा समितिमा बस्ने विद्यालयका प्रधानाध्यापकलाई विद्यालय कर्मचारी लेखासम्बन्धी विनियम २०८३ को परिच्छेद ४ को (ङ) मा व्यवस्था भए बमोजिम हुनेगरी लागि सिफारिस गरिन्छ ।” समितिले शिक्षा महाशाखा र विज्ञहरूलाई भने चोख्याउने प्रयास गरेको छ । यस घटनामा सम्पूर्ण दोष प्रधानाध्यापक अमर चेम्जोङमाथि खन्याइएको छ । विज्ञ समितिमा समेत केही घुसपैठ भएको अवस्था समितिको प्रतिवेदनमा देखिएको छ । 

सुरुवातमा विज्ञ समितिमा पब्लिक मा.वि. फुस्रेका नारायण श्रेष्ठ र पञ्चायत मा.वि.की मेनुका लिम्बूलाई राखिएको देखिन्छ । उक्त समितिमध्येकी मेनुका लिम्बू ज्ञानोदयमै आंशिक शिक्षिकाको रूपमा अध्यापनरत रहेको देखिएपश्चात् परीक्षाको दिन साउन १६ गते नै अर्का विज्ञलाई राखेको देखिन्छ । यस विषयमा के कति कारणले यस्तो भएको हो भन्ने विषयमा चाहिँ समितिको प्रतिवेदनमा उल्लेख भएको देखिँदैन । यसमा शिक्षा महाशाखाको पनि संलग्नता रहेको स्रोतले बताउँदै आइरहेको छ । “प्रअ एक्लैले यत्रो मिलिभगत गर्न सक्ने अवस्था हुँदैन, यहाँ सबैको कुनै न कुनै रूपमा संलग्नता छ”–स्रोत भन्छ । 

यही विषयमा शिक्षा महाशाखाका दुई कर्मचारीबीच तीव्र विवादसमेत भएको थियो । उक्त विवाद झगडामा परिणत भएको थियो । उक्त झगडालाई मिलाउनका लागि धरान–२ स्थित देशीलाइनको एक होटलमा छलफल गरी मिलापत्र पनि गरिएको स्रोत बताउँछ । विवाद भएको विषयबारे धरानका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईले यसअघि ब्लाष्टकर्मीसँगको फोनसम्पर्कमा बताएका थिए । 

समितिले दिएको यस प्रतिवेदनको कानूनी विश्लेषण खण्डमा त्रुटि भएको कुरालाई स्पष्टसँग सङ्केत गरेको छ । जसमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ बमोजिम ‘स्वार्थ बाझिएको मामिलामा निर्णय प्रक्रियाबाट अलग रहनुपर्ने” स्पष्ट व्यवस्था हुँदाहुँदै प्रधानाध्यापक चेम्जोङ आफै अन्तरवार्तालगायत परीक्षा समितिमा रहेको पुष्टि भएको कुरा उल्लेख गरिएको छ ।

यस्तै कार्यविधिको प्रक्रिया पाना नगरी गरिएको यो नियुक्त स्वतः कानूनीरूपमा त्रुटिपूर्ण र शून्य देखिने उल्लेख गरिएको छ । यस्तै शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा १६ को (ङ) शिक्षक छनोट र नियुक्ति प्रक्रिया पारदर्शी र तोकिएको कार्यविधि बमोजिम हुनुपर्ने व्यवस्थाको ठाडो उल्लङ्घन भएको उल्लेख गरिएको छ । 

यसका लागि प्रमुख प्रशासकीय अधिकृत राईले उक्त क्षेत्रको विद्यालय निरीक्षकको जिम्मेवारीमा रहेकी चन्द्रकला राईलाई परीक्षा गराउन निर्देशन दिएका छन् । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ब्लाष्टकर्मी पुग्दा ज्ञानोदय मा.वि.कै विषयमा छलफल भइरहेको थियो । उक्त छलफलमा चन्द्रकलाले भनिन्, “प्रतिवेदनले दिएको निर्देशनअनुसार अब परीक्षा हुन्छ । भदौ २६ गतेसम्मको डेटलाइन छ । सोहीअनुसार हामी अगाडि बढ्दैछौँ ।” उनले अबको परीक्षा पारदर्शी र चार जना विज्ञ राखेर अगाडि बढ्नेसमेत बताएकी छन् । यो परीक्षामा भने यसअघिकी सफल उम्मेदवार तृष्णा लिम्बूले भिड्नसमेत नपाउने बताइएको छ । 

“कानूनले नै उनलाई दुई वर्षसम्म रोक्छ, परीक्षा दिनै मिल्दैन”–उनले भनिन् । यता रोकिएको नेपाली विषयको शिक्षकको परीक्षा भने कहिले गर्ने भन्ने अन्यौलता नै रहेको छ ।