विराटनगर । विराटनगरका ठूला अक्सिजन उद्योगहरूमा एकैपटक प्राविधिक समस्या आएपछि मेडिकल अक्सिजनको चरम् अभाव देखिएको छ । 

अक्सिजन आपूर्ति ठप्प भएपछि यहाँका प्रमुख अस्पतालहरूले नयाँ बिरामी भर्नामा कटौती गर्न थालेका छन् भने प्रशासनले औद्योगिक प्रयोजनका लागि अक्सिजन बिक्री गर्न रोक लगाएको छ । विराटनगर र आसपासका क्षेत्रमा अक्सिजन आपूर्ति गर्ने बाबा, विनायक र मारुती अक्सिजन उद्योगका मेसिनहरू बिग्रिएका कारण उत्पादन घटेको हो । विराटनगरस्थित विराट नर्सिङ होमका प्रमुख व्यवस्थापक पदम बिनाडीले अक्सिजन अभावका कारण अस्पतालमा तनावपूर्ण स्थिति सिर्जना भएको बताए ।

“हाम्रो अस्पतालमा दैनिक ६० देखि ६५ सिलिन्डर अक्सिजन खपत हुन्छ, तर अहिले १५ वटा जुटाउन पनि मुस्किल छ” उनले भने, “नयाँ बिरामी भर्ना लिन सक्ने अवस्था छैन ।” विराटनगरकै गोल्डेन अस्पतालले पनि अक्सिजन अभावका कारण अन्य जिल्लाबाट सिलिन्डर मगाउनु परेको जनाएको छ ।

विराटनगर क्षेत्रमा मुख्य गरी चारवटा अक्सिजन उद्योग सञ्चालनमा छन् । तीमध्ये सबैभन्दा ठूलो क्षमताको विनायक अक्सिजन पिस्टन बिग्रिएका कारण एक महिनादेखि बन्द छ । अर्को ठूलो उद्योग बाबा अक्सिजनको मुख्य मेसिन (एक्सपान्सन सिलिन्डर) बिग्रिएको १० दिनभन्दा बढी भइसकेको छ । बाबा अक्सिजनका व्यवस्थापक योगेश सारडाले भारतबाट सामान आउन अझै १०–१५ दिन लाग्ने बताए । मारुती अक्सिजनले भने विद्युत्को अनियमित आपूर्तिका कारण पूर्ण क्षमतामा उत्पादन गर्न नसकेको गुनासो गरेको छ ।

सामान्य अवस्थामा विराटनगरका उद्योगहरूको उत्पादन क्षमता दैनिक १ हजार देखि १२ सय सिलिन्डर भए पनि अहिले त्यो घटेर २ सय ५० मा सीमित भएको छ । भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स सेन्टरका प्रमुख केदार श्रेष्ठका अनुसार विराटनगरका ठूला अस्पतालहरूलाई मात्रै दैनिक ६ सय सिलिन्डर अक्सिजन आवश्यक पर्छ । “मानिसको ज्यान जोगाउनु पहिलो प्राथमिकता भएकाले हामीले फ्याक्ट्रीहरूमा दिइँदै आएको अक्सिजन पूर्ण रूपमा कटौती गरेर अस्पतालतिर पठाएका छौँ”–श्रेष्ठले भने ।

प्रशासनको ५ बुँदे निर्णय

अक्सिजनको हाहाकार भएपछि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको पहलमा बिहीबार सरोकारवालाबीच आपत्कालीन बैठक बसेको छ । बैठकले तत्कालका लागि जनकपुर, झापा र सुनसरीबाट अक्सिजन ढुवानी गरेर अभाव टार्ने र दीर्घकालीन समस्या समाधानका लागि ५ बुँदे निर्णय गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार अबदेखि अक्सिजन प्लान्टहरूले अस्पताल र बिरामीका लागि बाहेक कुनै पनि औद्योगिक प्रयोजन (फलाम कटिङ वा वेल्डिङ) का लागि अक्सिजन बिक्री गर्न पाउने छैनन् । यस्तै बन्द रहेका प्लान्टहरू तत्काल मर्मत गर्ने, चालू प्लान्टले पूर्ण क्षमतामा उत्पादन गर्ने र विद्युत् प्राधिकरणले निर्बाध विद्युत् आपूर्तिको व्यवस्था मिलाउने निर्णय भएको छ । उद्योगीहरूले विद्युत् भोल्टेजको उतारचढावका कारण पनि मेसिनहरू बिग्रिने गरेको गुनासो गरेपछि प्राधिकरणलाई विद्युत् नियमित गर्न निर्देशन दिइएको छ ।