खोटाङ/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’अन्तर्गत दोस्रो चरणको प्रदर्शनी कार्यक्रम गर्ने भएको छ ।

नेपालसहित विभिन्न १४ देशका ४३ जना ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका चित्रहरुलाई नगरपालिकाले काठमाडौँस्थित नेपाल आर्ट काउन्सिल बबरमहलको सभाहलमा आगामी माघ १० गतेदेखि १५ दिनसम्म प्रदर्शनी गर्ने भएको हो । 

गत असोज १७ गतेदेखि २१ गतेसम्म दिक्तेल बजारमा पहिलो चरणअन्तर्गत आयोजना गरिएको कार्यक्रममा नगरपालिको १५ वटै वडा तथा जिल्लाका अन्य नौ स्थानीय तहका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुलाई चित्रकारले लाइभ क्यान्भासमा उतारेका चित्रलाई प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

नेपाल, अष्ट्रेलिया, बङ्गलादेश, भूटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट आएका चित्रकारले दिक्तेल बजारको विभिन्न चोक तथा किराँत ऐतिहासिकस्थल मझुवागढी, शुभम् फाउन्डेसन र जालपामा पुगेर एक सय नौ तथा अन्य विभिन्न ठाउँमा बसेर ४१ वटा क्यान्भास चित्र उतारेका नगरप्रमुख तीर्थराज भट्टराईले बताएका छन् ।

जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्देश्यले उतारिएका क्यानभास चित्र प्रदर्शनी कार्यक्रमको प्रमुख अतिथ्यता लागि राष्ट्रपति पौडेललाई औपचारिकरुपमा पत्रसमेत प्रदान गरिएको उनले बताए ।

“हामीले गरेको निम्तोलाई राष्ट्रपतिज्यूले सहर्ष स्वीकार गरेका छन् । राष्ट्रपतिज्यूकै सल्लाह अनुसार आगामी माघ १० गतेदेखि प्रदर्शनी गर्ने योजना बनाएका छौँ । राष्ट्रपतिज्यूको अनूकुलमा कार्यक्रम तय हुन्छ”, नगरप्रमुख भट्टराईले बताए ।“हामीले अन्तर्राष्ट्रियस्तरको चित्रकला कार्यशाला भव्यतापूर्वक सम्पन्न गरेकामा राष्ट्रपतिज्यूले नगरपालिकालाई बधाईसमेत दिएका छन् । कला, साहित्य र सङ्गीतले विश्वजगत्लाई जोड्ने भएकाले खोटाङमा यस क्षेत्रको विकासका लागि राष्ट्रपतिले आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबधता समेत दिएका छन् ।” 

राष्ट्रपति पौडेलसँग नगरप्रमुख भट्टराईको नेतृत्वमा शीतल निवास गएका प्राज्ञ धनबहादुर याख्खा र विजय थापा, वरिष्ठ चित्रकार रतनकुमार राई, किरण सिजु, विनिता इजमले भेटवार्ता गरेका थिए । क्यानभास चित्र प्रदर्शनी कार्यक्रममा खोटाङका किराँत राई, तामाङ, नेवार र क्षेत्री÷ब्राह्मणको सांस्कृतिक झाँकी, पुस्तक विमोचन, चित्रकारलाई सम्मानलगायत कार्यक्रम गरिने नगरपालिकाले जनाएको। 

जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाको १८ लाख खर्चमा चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिए । “स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरु हाम्रो नगरपालिकाको सम्पत्ति हो । यसलाई नगरपालिकाको लगानीमा सङ्ग्रहालय बनाएर राख्ने योजना बनाएका छौँ”, उनले भने, “चित्रकारले प्रत्यक्षरुपमा कोरेका चित्रहरु नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत हो । तत्कालका लागि यसबाट प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले इतिहास निर्माण गरेका छौँ ।”

जिल्लामै पहिलोपटक आयोजना गरिएको चित्रकला कार्यशाला कार्यक्रमको हजारौँले अवलोकन गरेका उपप्रमुख राईले बताएका छन् । कार्यक्रम अवलोकन गर्न आएका अधिकांश सहभागीले नगरपालिकाको यो कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका उनको भनाइ थियो । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट फोटो स्टुडियो काठमाडौँको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम अवधिभरको खाना, खाजा तथा वासलगायतको खर्च शुभम् फाउन्डेसनले निःशुल्क उपलब्ध गराएको छ । 

फाउन्डेसनमा अध्ययन गर्ने विद्यार्थीले विदेशी पाहुनाका लागिसमेत उपयुक्त हुने ‘होमस्टे’ घरबाससहितको (गेष्ट हाउस) पाहुना घरसमेत सञ्चालन गरेका छन् । विदेशी पाहुनाका लागि दिक्तेलमा उपयुक्त होटल नभइरहेकाले विद्यार्थीले गेष्ट हाउस सञ्चालन गरेको बताएका छन् ।