भरौल । सुनसरीको झुम्कास्थित थ्रीडी म्याजिक हलमा थारू चलचित्र ‘सजनी तोहर बिन’ प्रदर्शन गरिएको छ ।

चाडलाई लक्षित गर्दै वराहक्षेत्र मिडिया प्रालिको आयोजनामा फिल्म प्रदर्शन गरिएको हो । प्रालिका अध्यक्ष एवम् फिल्मका निर्माता प्रदीप बास्मैतका अनुसार दुई दिनसम्म फिल्मको प्रिमियर शो देखाइएको हो । फिल्म हेर्नेको भीड रहेको उनले बताए । फिल्म प्रदर्शन पूर्व पहिलो दिन औपचारिक उद्घाटन कार्यक्रम गरिएको थियो । थारू चलचित्र तथा सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष एवम् निर्देशन पर्शुराम चौधरीको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा निर्देशक भीषण राईलगायतको उपस्थितिमा उद्घाटन गरिएको थियो ।

बुधबार र बिहीबार दुई दिन फिल्म प्रदर्शन गरियो । दुवै दिन फिल्म हेर्नका लागि दर्शक भरिभराउ रहेको निर्माता बास्मैतले जानकारी दिए । ग्रामीण क्षेत्रमा पनि युवा पुस्ताहरू कुलतमा फस्ने र ज्यानसमेत गुमासने समस्यालाई देखाउन खोजिएको निर्देशक आश थारूले बताए ।

यस्ता समस्यालाई फिल्मको माध्यमबाट परिवर्तन गर्न सकिन्छ कि भन्ने आशा राखिएको उनले बताए । सचेत चौधरीको कथामा फिल्म निर्माण भएको हो । फिल्ममा सचेत चौधरी र डेब्यु नायिका मोडल सुजु चौधरीको मुख्य भूमिका रहेको छ भने हास्य कलाकारका रूपमा पाण्डव चौधरी रहेका छन् ।

फिल्मको सम्पादन, द्वन्द्व तथा फिल्मको गीत भने सरोज चौधरीको रहेको छ । कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रहरूमा छायाङ्कन गरिएको छ । फिल्मको सहनिर्माता कृष्ण चौधरी छन् । फिल्मका अन्य कलाकारमा कृष्ण चौधरी, प्रदीप बास्मैत, ललिता चौधरी, पाण्डव चौधरी, सानु विश्वास, पूजा, रोशनी, भूवनलगायत रहेका छन् । यसक्रममा २१ जना कलाकारहरूलाई कदर पत्रले सम्मान गरिएको थियो ।