धरान । गायक राजेश पायल राईको स्वरमा रेकर्डिङमा ‘हे हर्क’ नामक गीतको म्यूजिक भिडियो धरानमा सार्वजनिक गरिएको छ ।

बिहीबार धरानमा गीत सार्वजनिक गरिएको हो । सेवक अभियानका अध्यक्ष राजीव हलवाईको शब्दमा गीत निर्माण भएको हो । गीतमा निरज श्रेष्ठले सङ्गीत भरेका छन् । धरानलाई श्रमसंस्कृतिको सहरका रूपमा चिनाएको भन्दै धरान उपमहानगरपालिकाका नगरप्रमुखको कामलाई समेटेर गीत निर्माण गरिएको रचनाकार हलवाईले जानकारी दिए । उनी निर्वाचित भएयता गरेको कामको गतिविधि समेटिएको म्यूजिक भिडियो निर्माण गरिएको छ ।

विभिन्न खोलाहरूबाट पानी ल्याएको, वृक्षरोपण लगायत कामलाई भिडियोमा देखाउने प्रयास गरिएको छ । गीत सिल्भर इन्टरटेनमेन्टको परिकल्पनामा निर्माण भएको हो भने सिल्भर इन्टरटेनमेन्टकै युट्युबमा सार्वजनिक गरिएको हलवाईले बताए । गीतमा विभिन्न व्यक्तिहरूले खिँचेका भिडियोहरूलाई समेटिएको छ । गीतको लोकापर्ण कार्यक्रममा धरान उपमहानगरका नगरप्रमुख हर्कराज राई, उपप्रमुख अइन्द्रविक्रम बेघा, नायिका रेखा फागो, गीतकार मीना सिङ्घकलगायतको उपस्थिति रहेको थियो ।

नगरप्रमुख राईले आफूले गरेको कामको प्रशंसा गरी बनाउने गीतको भिडियोले आफू भावुक बनेको बताए । उनले यो कार्य आफ्नो मात्रै नभई सम्पूर्ण धरानेको भएको बताए । गीतले विकासको सन्देश दिन खोजेको छ । उपप्रमुख बेघाले गीतबाट धरानमा भइरहेको गतिविधि र धरानको पहिचान कस्तो बन्दै छ भनेर सन्देश दिएको बताए ।