धरान । हजुरबुबा खुसीलाल विश्वकर्माको पुख्र्यौली पेशालाई नाति पुस्ताका किरण विश्वकर्माले पनि सम्हाल्दै आएका छन् । हजुरबुबाको पुख्र्यौली पेशा आरन व्यवसायलाई किरणले आजीविकाको माध्यम बनाएका छन् ।

‘हजुरबुबाले २०४६ सालदेखि नै यो पेशा अँगाल्दै आउनुभएको थियो । मेरो बुबा हेमशङ्करले पनि यही पेशा अँगाल्नुभो, मैले यसैलाई निरन्तरता दिँदैछु’–किरणले भने । उनको आरनमा उठेदेखि एकोहोरो ट्याङ ट्याङ आवाज आउँछ । जहाँ हातैबाट निर्मित खुकुरी, बन्चरो, कोदालो, कुटोजस्ता घरेलु हतियार बन्छन् । मेसिनबाट बन्ने युगमा पनि उनी परम्परागत तरिकाले औजार बनाइरहेका छन् । आज खुसीलाल छैनन्, बुबा हेमशङ्कर पनि छैनन् तर, उनको आरन ज्यूँदो छ । खुसीलालबाट छोरा हेमशङ्कर हुँदै पुस्तैनी व्यवसाय अब नाति पुस्तामा आएर अडिएको छ । त्यो बेला आरन व्यवसाय राम्रो चलेकैले हेमशङ्करले पनि पुस्तैनी पेशालाई त्याग्न सकेनन् । यो पेशाले जीविकोपार्जन राम्ररी हुँदै गयो । हातैले पिटेका घरेलु हतियारको माग उस्तै भएपछि नाति पुस्ताले पनि छाड्न सकेका छैनन् ।

माछाभौडीमा उनको व्यवसाय चलिरहेको छ । हजुरबुबा र बुबाले दैनिक काम गरेको देखेरै उनले पनि सिके । पुख्र्यौली पेशा दैनिक हेर्दै आएकाले पनि किरणलाई पुस्तैनी पेशा अँगाल्न गाह्रो परेन । त्यही पेशामा रमाए । पढाइसँगै पुस्तैनी पेशालाई नै अँगाल्ने सोच राखे । फलतः पढाइ छाडे पनि अहिले उनी पुख्र्यौली पेशामै आबद्ध छन् । किरणका अनुसार १२ वर्षको उमेरबाटै उनले आरन चलाउन थालेका थिए । त्यसो त उनी विदेश जान पनि नखोजेका होइनन् । तर, स्वास्थ्य प्रतिकूल देखिएपछि उनले यही पेशालाई जीविकाको माध्यम बनाए । कोरोना महामारीका बेलामा जीवनयापन गर्न गाह्रो भएपछि विदेशको तयारी गरेको उनी बताउँछन् । ‘बाउबाजेले गरेको व्यवसाय नै धरापमा परेपछि विदेश जाने सोच बनाएँ तर, मेडिकल फेल भएपछि यहीँ पेशालाई निरन्तरता दिएको छु’–उनले भने ।

कोरोना कालमा उनी विदेशका लागि अयोग्य मात्रै भएनन् । घरपरिवारको जिम्मेवारी सम्हाल्दै आएका बुबा हेमशङ्करलाई पनि कोरोनाले निल्यो । त्यसपछि उनमा जिम्मेवारी थपियो । त्यो जिम्मेवारीलाई अहिले पूरा गरिरहेका छन् । उनी भन्छन्, ‘अहिलेका युवाहरू राम्रो, सुकिलो–मुकिलो भएर हिँड्न धेरै जसो विदेश पलायन हुन थालेका छन् । तर, आफ्नो देशमा परिवारसँग बसेर नेपालमा नै केही गरे हुन्थ्यो ।’ किरणका अनुसार आरन व्यवसाय पछिल्लो समय धरापमा पर्न थालेको छ । हातले बनाएर घरेलु औजारभन्दा मेसिनबाट निर्मित औजार प्रयोग भएकाले पनि पेशा नै धरापमा रहेको उनको भनाइ छ ।

‘आरनको काम पहिले निकै राम्रो चल्थ्यो । पहिले हातले बनाएको औजार बढी चलाउँथे । बिक्री पनि राम्रो हुन्थ्यो । अहिले हातले बनाएका औजारको माग कम हुन थालेको छ । व्यापार निक्कै कम छ’ किरण भन्छन्, ‘बुझ्ने र पुराना पुस्ताले आरनबाट बनेको औजार चलाउँछन् ।’ बजारमा मेसिनबाट बनेका खुकुरी, कुटो, कोदालो, चक्कुजस्ता औजार आउन थालेपछि आरन व्यवसाय समस्यामा पर्न थालेको हो । उनका अनुसार पहिले दिनमा एक हजारदेखि दुई हजार पाँच सयसम्म बिक्री हुन्थ्यो । अहिले दिनमा पाँच सयदेखि एक हजारसम्म बिक्री हुन पनि धौ धौ छ ।’ व्यापार खस्किँदा दशैं खल्लो हुने हो कि ? भन्नेमा किरण चिन्तित छन् । परम्परागत सीपको प्रवर्धन गर्ने कतिपय स्थानीय सरकारको नीति तथा कार्यक्रमबारे सुनेको भए पनि सरकारबाट कुनै सहयोग पाएका छैनन् । ‘कहाँ भन्ने, कसलाई भन्ने मलाई थाहा पनि हुँदैन ?’–किरण भन्छन् । सामान्य लेखपढ गरेका किरणलाई प्राचीनकालदेखि नै घरेलु हातहतियार नै चल्ने गरेको थाहा छ । तर, सरकारको नीति र कार्यक्रम परम्परागत सीपमैत्री नबन्दा भने पलायन हुनुपर्ने हो कि भन्नेमा उनी चिन्तित छन् ।