सुनसरी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् ।
प्रहरीका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरीका शंकर मण्डल र सुनसरीका लक्ष्मण सदा रहेका छन् । साथै, ग्लोबल अस्पतालमै उपचाररत विराटनगरका अशोक यादव हुन सक्ने एक जनाको पनि मृत्यु भएको छ, जसको थप पहिचान खुल्न बाँकी छ ।
ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, भोक्राहाकाे अस्पतालमा हाल १३ जना घाइतेको उपचार भइरहेको छ । घाइते हुनेहरूमा मोरङ, खोटाङ, सप्तरी, उदयपुर, झापा र इलामका बासिन्दा छन् । केही घाइतेको अवस्था सामान्य रहेको र केहीको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला अस्पताल, इनरुवाकाे अस्पतालमा उपचारका लागि ल्याइएका खोटाङका ८४ वर्षीय नेत्रलाल गिरी र उनका छोरा ३९ वर्षीय केदार गिरीलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । यसैगरी, सोही अस्पतालमा एकजना अन्दाजी ४५-५० वर्षकी महिलाको शव रहेको तर उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
विराटनगरको गोल्डेन अस्पतालमा पनि दुर्घटनाका घाइतेहरूलाई उपचार भइरहेको छ । यहाँ उपचाररत घाइतेहरूमा झापा, सप्तरी र मोरङका बासिन्दा रहेका छन् । केहीको अवस्था मध्यम रहेको र केहीको अवस्था सामान्य रहेको बताइएको छ ।
विराट नर्सिङ होम, विराटनगरमा पनि दुर्घटनामा घाइते भएका सप्तरीका २१ वर्षीय सन्तोष बास्तोलालाई विराट नर्सिङ होममा उपचारपछि डिस्चार्ज गरिएको छ । उनी दुर्घटनामा परेको माइक्रोबसका सह-चालक रहेको बुझिएको छ ।
हालसम्मको विवरणअनुसार दुर्घटनामा मृत्यु हुनेहरूको कुल संख्या ३ पुगेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरी (अन्वेषण तथा योजना शाखा) ले जनाएको छ ।