धनकुटा । धनकुटामा पिकअप दुर्घटना हँुदा २१ जना घाइते भएका छन् । धनकुटा नगरपालिका–८ टेकुनालाबाट गाईजात्रामा सहभागी हुन धनकुटा बजार आउँदै गर्दा बा.२ च २३०९ को पिकअप दुर्घटना भएको हो ।

घाइतेमध्ये धनकुटा–७ का ६२ वर्षीय गुणराज श्रेष्ठ, ३८ वर्षीय जितबहादुर श्रेष्ठ र धनकुटा–८ का ४५ वर्षीया रेनुका राई गम्भीर रहेको प्रहरीले जनाएको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ । घाइते हुनेमा धनकुटा–८ का १४ वर्षीया सविना डङ्गोल, ६४ वर्षीय चन्द्रभक्त डङ्गोल, ३५ वर्षीय हरिकुमार डङ्गोल, ७२ वर्षीय मोहन डङ्गोल, २७ वर्षीय राम श्रेष्ठ, १५ वर्षीया रिमा डङ्गोल, १८ वर्षीया रोजिन डङ्गोल, ५६ वर्षीय रमेश कर्मचार्य रहेका छन् ।

त्यस्तै धनकुटा–७ का २२ वर्षीय राजन राई, सहिदभूमि गाउँपालिका–४ का २४ अतिस राई, साँगुरीगढी गाउँपालिका–१ का १६ वर्षीया निशु लिम्बू, धनकुटा–९ मूलघाटकी १२ वर्षीया रोनिता श्रेष्ठ, धनकुटा–८ का ९० वर्षीय हर्कलाल राई, छथरजोरपाटी गाउँपालिका–४ सिँधुवाका १६ वर्षीय शिव श्रेष्ठ र २४ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् । धनकुटा–७ का जितबहादुर राई, धनकुटा–८ का ५६ वर्षीय रमेश कर्मचार्य, सोही ठाउँका रितेस डङ्गोल सामान्य घाइते भएका छन् ।

घाइतेमध्ये रेनुका, हर्कलाल, जितबहादुर र गुणराजलाई थप उपचारको लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर किशोर तामाङले जानकारी दिए । अन्य घाइतेको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको उनले जानकारी दिए ।