राजनीतिमा शालीन व्यक्तित्वको छवि बनाएका नेकपा (एमाले) का उपाध्यक्ष एवम् संविधानसभामा सभामुख सुवासचन्द्र नेम्वाङ राजनीतिक जीवनमा नहारे पनि मृत्युसँग हारेका छन् ।

हृदयाघातबाट मङ्गलबार बिहानको राति १ बजेर ४० मिनेटमा उनको भौतिक शरीरले यस संसारबाट बिदा लिएको छ । उनी आइतबारमात्रै धरानको युवा सङ्घ नेपालको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई उद्घाटन गर्न आइपुगेका थिए । यहाँबाट फर्किएलगत्तै सोमबार बिहानैबाट ज्वरो आएको पारिवारिक स्रोतले जनाएको छ । तर, मङ्गलबार बिहानको राति १ बजेतिर घरको शौचालयमा बेहोस अवस्थामा भेटिएपछि तत्कालै शिक्षण अस्पताल महाराजगञ्ज पु¥याइए पनि चिकित्सकले ३ बजेतिर मृत घोषित गरेका थिए । उनलाई पु¥याउँदा आँखाको नानी फुलिसकेको र जीवनसम्बन्धी चाल नरहेको शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. सन्तकुमार दासले उल्लेख गरेका छन् ।

उनको पार्थीव शरीर ललितपुरको च्यासलमा राखिएको छ । भोलि (बिहीबार) राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम छ । उनको परिवारका केही सदस्य काठमाडौँमा भए पनि दुई छोराहरू भने बेलायत र अष्टे«लियामा छन् । चार सन्तानमध्ये दुई छोरी र दुई छोरा रहेका छन् । जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतमा सपरिवार बस्दै आएको भए पनि कान्छो छोरो सुहाङ भने पन्ध्र दिनअघि मात्रै अष्ट्रेलिया गएका थिए । उनीहरू आएपछि मात्रै अन्त्येष्टि गरिने भएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए । दुई छोरी भने काठमाडौँमै बस्दै आएका छन् । नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि मङ्गलबार बिहान ९ बजेदेखि पार्टी कार्यालय च्यासलमा राखिएको थियो । जसमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत विभिन्न पार्टीका शीर्षस्थ नेताहरूले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

राजनीतिमा नहारेका नेम्वाङ
पुख्र्यौली थलो पाँचथरको फिदिम नगरपालिका–१ माथ्लोगाउँ थातथलो भएका नेम्वाङको जन्म भने इलाममा २००९ सालमा भएको हो । इलामको सुन्तलाबारीमा परिवार नै बसाइँ सरेर गएपछि उनी २०२८ सालदेखि नै विद्यार्थी राजनीतिबाट कम्युनिष्ट राजनीतिमा प्रवेश गरेका हुन् । जानकारका अनुसार उनी २०२९ सालमा इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा स्ववियु सभापति भएका थिए । तत्कालीन समयमा मालेको राजनीतिबाट उदय भएका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा कारागारको बास भएपछि सक्रिय राजनीतिमा आए । जब राजनीतिमा प्रवेश गरे, त्यसपश्चात्बाट हालसम्म उनी राजनीतिमा कहिल्यै हारेनन् । २०५६ सालदेखि निरन्तर २०७९ सालसम्मको मध्यावधि निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर २ बाट निरन्तर निर्वाचित हुने एक्ला सांसद् थिए । त्यसअघि उनी २०४८ र २०५२ सालमा भने राष्ट्रियसभा सदस्य भएका थिए । २०५१ को मध्यावधि निर्वाचनपश्चात् भने मनमोहन अधिकारीको नौ महिने शासनकालमा उनी कानून, न्याय तथा संसदीय मामिलामन्त्री बनेका थिए ।

२०५६ को निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनी त्यसयता २०६४, २०७०, २०७४ र २०७९ सालमा निरन्तर निर्वाचित हुन सफल भए । २०५६ सालमा सामान्य प्रशासनमन्त्री र सार्वजनिक लेखा समितिको सभापतिसमेत बनेका थिए । २०६४ को निर्वाचनपश्चात् उनी पहिलो संविधानसभाको अध्यक्ष हुँदै सभामुखसमेत भए । कानूनवेत्तासमेत रहेका नेम्वाङले नेपालको संविधान लेखनमा पनि सक्रिय भएर लागेका थिए । उनी २०३५ सालदेखि २०४२ सालसम्म नेपाल ल क्याम्पसमा प्राध्यापन पनि गरेका थिए । त्यसो त उनी २०६३ सालको पुनःस्थापित प्रतिनिधिसभाको पनि सभामुख भएका थिए भने २०६४ सालमा व्यवस्थापिका संसद्को सभामुख बनेका थिए । २०६५ देखि २०७० अर्थात् दोस्रो संविधानसभाको चुनावअगाडिसम्म उनी अध्यक्ष र सभामुख पदमा आसिन थिए ।

राज्यको पुनर्संरचनामा महत्वपूर्ण भूमिका खेलेका उनले नेपालको संविधानलाई निर्विवाद संविधानको रूपमा कहिल्यै बुझेनन् । उनले संविधानप्रति असन्तुष्टिहरू रहने विभिन्न कार्यक्रममा बताउँदै आइरहेका थिए । निश्चित प्रक्रियाबाट संविधान संशोधन गरी जनताका इच्छा, आकाङ्क्षालाई पूरा गर्न सकिने बताउँदै आएका थिए । सङ्घीयता र गणतन्त्रलाई संस्थागत गर्न क्रियाशील उनको निधनले इलामवासी शोकमग्न छन् । धेरैले उनलाई आलोचनालाई सहज रूपमा लिन सक्ने क्षमता भएको नेता मान्छन् । पार्टीभित्र पनि कुनै वर्ग, लिङ्गहरूप्रति वैरभाव नराख्ने उनको शालीन व्यक्तित्वकै कारण राष्ट्रपतिसम्म प्रतिस्पर्धा गरेका थिए । उनी पहिलो संविधानसभाको अध्यक्ष मात्रै भएनन् । रूपान्तरित संसद्को सभामुखसमेत बने । त्यसो त २०७० सालमा अध्यक्ष तथा सभामुख बन्दै २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गर्ने व्यक्ति पनि हुन् ।

मालेबाट एमालेमा
२०३३ सालमा जेलमा बसेका बेला उनलाई नेपाल कम्युनिष्ट मालेको को–अर्डिनेसन केन्द्रमा जिम्मेवारी दिइएको थियो । त्यसपश्चात् कम्युनिष्ट पार्टीहरू मिलेर मालेलाई एमाले बनाएपछि उनी एमालेको केन्द्रीय न्यायिक समितिको सदस्य भए । पञ्चायतविरुद्ध लड्दा जेलनेल भोगेका उनी २०४९ सालमा एमालेको पाँचौँ महाधिवेशनबाट केन्द्रीय अनुशासन समितिको सदस्य बने । छैठौँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बन्न सफल भए । त्यसपश्चात् भने उनी एमालेको केन्द्रीय राजनीतिको केन्द्रबिन्दुमा देखिँदै आएका थिए । नवौँ महाधिवेशनबाट स्थायी कमिटीको सदस्य बनेका उनी चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट उपाध्यक्ष बनेका थिए ।

त्यसबेला उनले वरिष्ठ उपाध्यक्षका लागि तयारी गरे पनि चुनावका लागि तयार भएनन् । फलतः उपाध्यक्षमा खुम्चिए । केन्द्रीय राजनीतिको वरिपरि रहेका उनी एमालेमा शालीन नेताका रूपमा परिचित थिए । तर, २०७७ सालमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटक संसद् विघटन गर्दा पनि नबोलेका कारण आलोचित बनेका थिए । नेपाल बार एसोसिएसनका महासचिव बनिसकेका वरिष्ठ अधिवक्ताबाट पूर्ण राजनीतिमा आएका उनले त्यसबेला संसद् विघटन गर्नु संवैधानिक थियो कि थिएन भन्ने विषयमा कुनै पनि टीकाटिप्पणी गरेनन् । उल्टो अध्यक्षले गरेको कार्यलाई मलजल गर्ने गरी भाषणहरू गरे । जसका कारण कार्यकर्तामाझ पनि आलोचित भएका थिए ।

त्यस्तै पहिलो संविधानसभाको अध्यक्ष हुँदै सभामुख भएको बेलामा २०६९ जेठ १४ गते संविधानसभाको बैठक नबोलाएको उनीमाथि आरोप लाग्दै आएको छ । त्यसबेला पार्टीहरूबीच सहमति नभएको भन्दै त्यस दिन बैठक नबोलाएका कारण संविधानसभाको म्याद सकिएपछि विघटनतर्फ गएको थियो । तत्कालीन समयमा दुई वर्षे कार्यकाल रहेको संविधानसभाले चार वर्ष गुजारिसकेको थियो ।

नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र) बैठक बोलाएर म्याद थप्ने तयारी गरिरँदा पनि एमालेले म्याद थप्न नचाहेका कारण नेम्वाङले बैठक नबोलएको उनीमाथि आरोप छ । सोही कारण नै संविधानसभा विघटन भएको थियो । त्यसो त २०७७ सालमा नेकपा टुट्न लाग्दा हाल नेकपा (एस)मा रहेका घनश्याम भुसालले प्रधानमन्त्री दिएर जान प्रस्तावसमेत गरेका थिए । उक्त प्रस्तावलाई अध्यक्ष ओलीले इन्कार गरिदिएका थिए । गत फागुनमा उनी राष्ट्रपतिमा लडेका थिए । तर, हालका राष्ट्रपति रामचन्द्र पौडेलसँग पराजित भएका थिए । समन्वयकारी भूमिकामा अब्बल मानिँदै आएका नेता नेम्वाङलाई हार्दिक श्रद्धाञ्जलि ।