विषय प्रवेशः
शनिबार साँझ काठमाडौं महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले सोधपुछ गर्यो । गाडीमा बालेन पत्नी सवार थिइन् । बिदाको दिन विशेष काम परे इजाजत लिएर मात्र सरकारी गाडी गुडाउन पाइन्छ । यसबाहेक सरकारी सवारी साधनहरू चलाउन रोक लगाइएको छ । तब सार्वजनिक बिदाको दिन प्रहरीले जुनसुकै र जो कोही चढेको सरकारी गाडीलाई पनि निगरानीमा राख्नेगर्दछ । सोधपुछ गर्ने र प्रक्रिया नपुगेको गाडी कब्जामा लिने गर्दछ । नियमतः यो प्रहरीको कर्तव्य हो ।

आप्mनो पत्नी चढेको गाडीमाथि यसरी सोधपुछ गरिएपछि मेयर बालेनको पारो उत्कर्षमा पुगेको देखिन्छ । यो उनको अशिष्ट र असभ्य प्रतिक्रियाबाट स्पष्ट हुन्छ । मेयर बालेनले सरकारले यस्तै रवैया देखाइरह्यो भने सिंहदरबारमा आगो लगाइदिने धम्की दिए । त्यति मात्र होइन, उनले सरकारलाई चोरको संज्ञा पनि दिए । वस्तुतः घटेको घटना सामान्य भए पनि बालेनको प्रतिक्रिया भने गम्भीर छ । यता सामाजिक सञ्जालको तरङ्गमा पनि यो ठूलै मुद्दा बनिरहेको छ । मेयरको प्रतिक्रिया शोभनीय नभए पनि सञ्जालमा बालेनप्रतिको सदासयता बढी देखिन्छ । बालेनले ठीक गरे भन्ने मत हाबी रहेको छ । समस्या कसको समर्थक बढी र घटी भन्ने होइन । समस्या भनेको हामी कस्तो संस्कृतिसहितको  समाज निर्माण गर्दैछौं भन्ने हो । हामीले समाज कस्तो बनायौं भन्ने हो । भावी सन्ततीहरूलाई कुन खालको शिक्षा दिँदैछौं भन्ने हो । अर्थात् जुनसुकै कोण र स्वार्थबाट विश्लेषण गर्दा पनि मेयर बालेनको प्रतिक्रियालाई सभ्य र परिपक्व राजनैतिक अभिव्यक्ति मान्न सकिन्न । यद्यपि सञ्जालजन्य प्रतिक्रियाहरूलाई नियाल्दा बालेनले सही गरे भन्ने मत अत्यधिक छ । यसलाई २१ औं शदीको विडम्बना भन्नु पर्दछ ।

वैचारिक ज्ञान, अनुशासन र विवेकको अभावः
पछिल्लो समय नेपाली समाजलाई निश्चित राजनैतिक वैचारिक दृष्टिकोणले नेतृत्व गरिरहेको देखिँदैन । समाज यसरी विचारद्वारा निर्देशित नभएपछि यो जता पनि बहकिने र बरालिने गर्दछ । यस्तो बहकिएको समाजमा आम धारणा र तर्कहरू पनि बरालिने गर्दछन् । यसमा सत्य, तथ्य, वस्तुवादी र सही अनि असत्य, अवस्तुवादी र गलत भन्ने न्यूनतम् सचेतना हुँदैन । वस्तुतः समाजलाई राजनीतिले कमाण्ड गरिरहेको हुँदैन । हरेक व्यक्ति, समुदाय र वस्तु निश्चित राजनैतिक आदर्श र नीतिहरूको लगामबाट टाढा पुगिसकेको हुन्छ । उल्टै राजनीतिक पार्टी, नेता र कार्यकर्ताहरूप्रति बनीबनाउ नकारात्मक आम धारणा बनाइएको हुन्छ । राम्रो नराम्रो, सही र गलत अनि अग्रगामी र पश्चगामी सबैलाई एउटै फुर्लुङमा कोच्ने गरिन्छ । तब समर्थन र विरोध वा गाली र प्रशंसा नितान्त मनोगत हुने गर्दछ । टिप्पणी र आलोचनाहरू वस्तुवादी हुँदैन । यो स्वार्थ, माहौल, परिवेश र अवसरवादी दृष्टिकोणद्वारा निर्धारित हुने गर्दछ ।

यस्तो वस्तुगत धरातलमा सम्पूर्ण गतिविधिहरू निश्चित उद्देश्य र भिजनद्वारा निर्देशित हुँदैन । त्यहाँ वैचारिक अनुशासन, विवेक र परिपक्वता पाउन सकिन्न । सुझबुझ र चिन्तन मनन् गरिँदैन । समर्थन र विरोधमा कि त निरपेक्ष स्वार्थ मिलेको हुन्छ या माहौल, मिडिया स्टण्टबाजी र हल्लाखल्लाको दुष्प्रभाव परिरहेको हुन्छ । सही र गलतबीचमा स्पष्ट लक्ष्मण रेखाहरू हुँदैनन् । व्यक्ति वा वस्तुप्रति द्वन्द्वात्मक दृष्टिकोण राखिँदैन । न्यूनतम् आलोचनात्मक मान्यता अङ्गीकार गरिँदैन । निश्चित राजनैतिक विचारद्वारा निर्देशित समाजमा अर्थराजनीतिक अनुशासनको मापदण्ड निर्धारण गरिएको हुन्छ । विवेक, आवेग र संवेगबारे प्रशिक्षित, सुशिक्षित वा स्कुलिङ गरिएको हुन्छ । खुल्ला, स्पष्ट र पारदर्शितालाई बटमलाइन बनाइएको हुन्छ । यसरी राजनैतिक वैचारिकीले नेतृत्व नगरेको समाजमा सही र गलत पहिचान नै नगरी नागरिकहरू पछिपछि दगुर्ने गर्दछन् । यसैको दुष्परिणाम बालेनको असभ्य बोलीलाई समेत सही भन्ने जनमत बढी देखिन्छ ।

सञ्जालजन्य शीघ्र प्रतिक्रियाः
पछिल्लो समय हाम्रो समाज अलि बढी नै तरङ्गित हुन थालेको छ । यस्तो अति भड्काव र बहकाव जताबाट नाप्दा, तौलँदा पनि सही हुँदैन वा परिणाममुखी हुँदैन । ओछ्यानमा सुतेर वा पलङमा उत्तानो परेर सामाजिक सञ्जाल खोलेपछि प्राप्त सूचनाहरूमाथि वस्तुवादी विश्लेषण गरिँदैन । सत्य तथ्य के हो वा गलत पो हो कि भन्ने सोचिँदैन । आफुनो फिलिङसँग मिल्ने वा आप्mनो बुझाइसँग मिल्ने चोटिलो, घोचिलो र पेचिलो अडियो र भिडियोहरूलाई अन्धाधुन्ध समर्थन र विरोध गर्ने गरिन्छ । निरपेक्ष समर्थन र निरपेक्ष विरोधको नजरबाट हेर्ने गरिन्छ । यसमा केवल आप्mनो स्वार्थ आपूmलाई स्वाद लाग्ने विषयवस्तु भए पुग्छ । यसमा देशको हित, समाजको हित, सकारात्मक संस्कृति, उन्नत चालचलन, सभ्य र सालीन जीवन–व्यवहार निर्माणको स्वार्थबाट जोख्ने गरिँदैन । केवल आप्mनो स्वार्थ र आफूलाई स्वाद वा चोटिलो लागे भयो ।

यसरी सञ्जालमा शीघ्ररूपमा बहकिने, बरालिने र भड्किने हाम्रो सामाजिकी वस्तुसङ्गतभन्दा पनि निरपेक्ष भावना, कल्पना, मनोगत इच्छा र महत्वाकाङ्क्षाद्वारा निर्देशित देखिन्छ । वस्तुतः समाज वस्तुवादी र वैज्ञानिक नियमहरूद्वारा निर्देशित हुन्छ । यो साश्वत् सत्य कुरा हो । तर, भावनामा वा हल्लाखल्लामा रुमल्लिएको समाजमा वस्तुसङ्गत र तथ्यसङ्गत आयामहरूको खोजी गरिँदैन । यसमा केवल आप्mनो मनोगत इच्छालाई सही र मीठो लागे हुन्छ । कुनै पनि व्यक्ति र वस्तुको वस्तुवादी विश्लेषण र मूल्याङ्कनको खाँचो पर्दैन । सिङ्गो समाजमा पार्ने सकारात्मक तथा नकारात्मक पक्षहरूको संश्लेषण गरिँदैन । कुन सही र कुन गलत अनि कसले हाम्रो समाजको हित गर्छ, कसले अहित गर्दछ भनेर आधारभूत चिन्तन–मनन् गरिँदैन । व्यक्ति वा वस्तुप्रति गहिरो सचेतना, अध्ययन र अनुसन्धान गर्नु पर्दैन । तब त्यस्तो जनमत बालेनको गलत अभिव्यक्तिप्रति अन्धभक्त भएर अन्धसमर्थन जनाउन पुग्छन् । जसले भोलि बालेनकै हुर्मत लिए अन्यथा मान्नु पर्दैन ।

चखुवा जनमतः
पछिल्लो समय नेपाली राष्ट्रिय राजनीतिमा राजनैतिक वैचारिक जनमत खस्किँदै गएको छ । निश्चित राजनैतिक विचारद्वारा निर्देशित जनमत घट्दो अवस्थामा छ । यस्तो जनमतद्वारा प्राप्त हुने पैmसलाहरू सही नै हुन्छ भन्ने हुँदैन । यसलाई बहकिएको र बरालिएको जनमत भनिन्छ । यसरी बरालिएको जनमतले पुराना पार्टीहरूको विकल्प नयाँ पार्टी र नयाँ स्वतन्त्र व्यक्तिहरूलाई दर्ज गरेको प्रष्टै छ । यसैको परिणामस्वरूप काठमाडौंमा बालेन शाहलगायत धेरै स्थानहरूमा स्वतन्त्र उम्मेदवारहरूले बाजी मारे । तब यतिखेर बालेनजस्ता स्वतन्त्रबाट जितेर आउनेहरूप्रतिको सद्भाव र विश्वास उत्कर्षमा छ । तर, उनीहरूसँग पनि नेपाली समाजलाई कस्तो बनाउने भन्ने निश्चित राजनैतिक वैचारिक अवधारणा छैन । उही उनीहरूले पनि अमुक र अमूर्त यो गर्छु र त्यो गर्छु भन्नुबाहेक नयाँ नौलो केही गरेको देखिँदैन । आशा अपेक्षा गर्ने वस्तुगत आधार पनि छैन ।

स्वतन्त्रहरूले सबै समस्याको बनीबनाउ समाधन गर्नेछ भन्ने उनीहरूको निरपेक्ष चाहना र भावना पूरा हुने सम्भावना असाध्यै कम छ । तब उनीहरू अर्को पात्रलाई विकल्पको रूपमा अघि सार्दै जान्छन् । यस्तो औसत प्रक्रिया निरन्तर भई नै रहन्छ । उनीहरू ए, बी, सी, डी हुँदै जेडसम्म छान्छन् । तर, पनि समस्याको समाधान हुँदैन । अघिल्लोलाई गाली गरेर पछिल्लोलाई देवत्वकरण गर्दै जान्छन् । यो प्रक्रिया अनन्त चलिरहनेछ । यसले उनीहरूको पुस्तौंपुस्ता गुजार्नेछ । तर, पनि समस्याको समाधन हुँदैन । दलहरू वा अघिल्लोलाई गाली गर्दै पछिल्लो वा बालेनहरूलाई अन्धसमर्थन गरिरहेको छ, आजको जनमतले । यस्तो जनमतले भोलि बालेनलाई अघिल्लो बनाएर अर्को अमुक पछिल्लो पात्रलाई यसरी नै अन्धभक्ति प्रदर्शन गरिरहेको बेला मात्र बालेनलाई  आजको जनमतको वैचारिकी, इमान्दारिता र राजनैतिक चेतनाको स्तर छर्लङ्ग हुनेछ । उनका फ्यानहरूको सचेतना बोध हुनेछ । त्यसैले यस्तो चखुवा प्रवृत्तिको कारण सही र गलतको न्यूनतम् सचेतना विना हल्ला र माहौलको पछि जनमत लाग्नेगर्दछ । बालेनको बोलीलाई सही देख्नु यही अल्पज्ञानकै दुष्परिणाम हो ।

निष्कर्षः
त्यसैले आज मेयर बालेनको पक्षमा कति जनमत अनि सरकारको पक्षमा कति जनमत भन्ने कुरा मुख्य होइन । मुख्य सवाल भनेको हामीले कस्तो संस्कार र संस्कृति संस्थागत गर्दैछौं र भावी सन्ततीलाई के सिकाउँदैछौं भन्ने हो । आज हामीले निश्चित राजनैतिक वैचारिकीद्वारा निर्देशित सही र वस्तुवादी अभ्यास गरायौं भने भोलिका पुस्तामा पनि समय सापेक्ष सभ्यता, विवेक र संस्कृति जीवित रहनेछ । तर, भावनामा बहकिएको र बरालिएको जनमतको भर पर्ने हो भने ए लाई गाली गर्दा बी खुसी अनि बी लाई गाली गर्दा सी खुसी हुने अनन्त प्रक्रियामा समाज फस्नेछ । आलोपालो समर्थन र विरोधको अनन्त शृङ्खला चलिरहन्छ । तर, समस्याको समाधन भने जहाँको त्यहीँ हुनेछ । यो घटनाले बालेनको परिपक्वता र इमान्दारिताको इन्डिकेटर छर्लङ्ग भएको छ भने उनका प्mयानहरूको अध्ययन र सुझबुझ छताछुल्ल भएको छ । 

त्यसैले समर्थन र विरोध सही र गलतको आधारमा गर्ने गरौँ । सत्य–तथ्य र समग्र हित वा स्वार्थको मूल्यमा नाप्ने गरौँ । सभ्य, सुसंस्कृत संस्कार विना उन्नत समाज बन्दैन । गाली गर्ने खुसी र गाली गरीमाग्ने दुःखी हुनुले धेरै अर्थ र औचित्य राख्दैन । तर, सत्य यो हो कि गलत संस्कारको पक्षमा बढी जनमत देखिनु भनेको गम्भीर कुरा हो । यसले नागरिकहरूलाई सही ढङ्गले प्रशिक्षित र सुशिक्षित गरिएको छैन भन्ने प्रष्टै देखिन्छ । अझ हाम्रो समाजको राजनैतिक वैचारिक क्षमता र इमान्दारितालाई पुष्टि पनि गर्दछ । गलत संस्कार कसैको हितमा हुँदैन । यो भोलि बालेनको लागि समेत आत्मघाती नहोला भन्न सकिन्न । किनकि वैचारिकीको लगाम विना बरालिएको र बहकिएको जनमत अस्थिर मात्र हुँदैन, दृढ सङ्कल्पित र प्रतिबद्ध पनि हुँदैन । तसर्थ बालेनले आप्mनो अशिष्ट बोलीप्रति आत्मालोचित बन्नु नै हितकर हुन्छ । यता काँचा–कचिला प्mयानहरूलाई संयमता, परिपक्वता र संस्कार सिकाउनु श्रेयष्कर हुन्छ । सम्बन्धित सबैलाई चेतना होस् ।