सुनसरी । कोसी गाउँपालिका क्षेत्रमा सञ्चालनमा ल्याइएका स्वास्थ्य चौकीको प्रसूति सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ । कोसी गाउँपालिकाको विभिन्न वडामा सञ्चालनमा रहेका ३ वटा प्रसूति सेवा केन्द्र प्रभावकारी बन्दै गएका हुन् ।

गाउँमै सेवा पाउन थालेपछि यहाँका गर्भवती महिलाहरूलाई प्रसूति सेवाका लागि सहज भएको अवस्था छ । कोसी क्षेत्रका महिलाहरूलाई गाउँमै तालिमप्राप्त र अनुभवी स्वास्थ्यकर्मीहरूले सेवा दिन थालेपछि इनरुवा, विराटनगर, धरान जानुपर्ने बाध्यता हटेको कोसी गाउँपालिका वडानम्बर ५ की आरती यादवले बताइन् । उनले भनिन्, ‘केही वर्षअघिसम्म यसक्षेत्रका दिदीबहिनी सीमावर्ती क्षेत्रको भीममगर, वीरपुर वा विराटनगरसहितका अस्पतालमा जानुपर्ने अवस्था हुन्थ्यो, तर अहिले त्यस्तो बाध्यता छैन । इनरुवा, विराटनगरमा पाउने सुविधा यहीँ दिँदै आएका छौँ ।’ नजिकै गाउँमै तालिमप्राप्त तथा अनुभवी स्वास्थ्यकर्मीहरूबाट सेवा लिन पाउँदा सेवाग्राहीहरूसमेत उत्साहित बनेको अर्का स्थानीय अनिता उराँवले बताइन् ।

लौकहीमा २०७५ साल वैशाख ११ गतेदेखि, हरिपुरमा २०७६ साल कात्तिक महिनादेखि र कोसी गाउँपालिका वडानम्बर ५ स्थित कुम्याहीमा गत वैशाख १४ गतेबाट प्रसूति गृह सञ्चालनमा आएपछि हालसम्म ३ सय ७९ जनालाई सेवा दिएको कोसी गाउँपालिकाको कार्यालयले जनाएको छ । साविकका हरिपुर, श्रीपुर, पश्चिम कुसाहा र लौकही गाविस मिलेर बनेको कोसी गाउँपालिकाका ९० प्रतिशत महिलाले प्रसूति गृहबाटै सहजरूपमा सेवा लिँदै आएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अनिता यादवले बताइन् ।

सेवा प्रभावकारी भएकोले कोसी गाउँपालिका क्षेत्रका मात्रै नभई सप्तरी र सीमावर्ती क्षेत्र भारतबाट समेत सेवा लिन सेवाग्राही आउने गरेको प्रसूति गृह लौकहीमा कार्यरत जीवन मण्डलले बताए । सेवा लिन कोसी गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका र सप्तरी जिल्लादेखि भारतीय नागरिकसम्म आइरहेको बताउँदै उनले भने, ‘हामीबाट सम्भव नभएको अवस्थामा मात्र विराटनगर र धरान पठाउने गरेका छौँ ।’ ४, ६, ८ र ९ औं महिनामा गरी चारपटक प्रसूति गृहमा चेकजाँच गर्न आउँदा  निःशुल्क सेवा दिनुका साथै यातायात खर्च बापत १ हजार रुपैयाँ, प्रोत्साहन भत्ता ८ सय र न्यानो झोलासमेत प्रदान गर्ने गरिएको कुम्याही प्रसूति गृहमा कार्यरत साबिर आलमले जानकारी दिए ।

वडानम्बर १ स्थित लौकहीमा नेपाल सरकार र बेलायतको सहयोगमा सामुदायिक विकास कार्यक्रम सिडिपी तथा समुदायको सहयोगमा आरआरएन नामक संस्थाको सहकार्यमा २८ लाख लागतमा उक्त प्रसूति गृहको निर्माण गरिएको थियो भने वडा नम्बर ५ र ७ मा गाउँपालिकाले आफ्नै लगानीमा प्रसूति गृह निर्माण गरी सञ्चालनमा ल्याएको हो । प्रसूति गृह सञ्चालनमा आएपछि यसक्षेत्रका खासगरी दलित तथा अल्पसङ्ख्यक समुदायका सुत्केरी महिलाहरूले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।

सेवा प्रभावकारी बन्दै गएपछि अन्य वडामा पनि प्रसूति गृह खोल्न माग बढेको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष यादवले योजनाअनुसार १, ५ र ७ नम्बर वडामा प्रसूति गृह सञ्चालनमा ल्याएको र अन्य वडामा पनि निकट भविष्यमा खोल्ने योजना रहेको बताइन् । स्वास्थ्य चौकी र प्रसूति गृह सञ्चालनमा आएपछि सानोतिनो समस्या लिएर विराटनगर र धरान जानुपर्ने बाध्यताबाट सर्वसाधारण मुक्त भएको उनले बताइन् ।