इटहरी । नयाँ वर्षको सुरुवातसँगै यामाहा मोटरसाइकलले एफआई भित्र्याएको १५ वर्ष पुगेको उपलक्ष्यमा मेची–महाकाली मोटरसाइकल ¥यालीसहित साङ्गीतिक कार्यक्रम गरी मनाइरहेको छ ।

यसअन्तर्गत सुनसरीको इटहरी र धरानमा साङ्गीतिक कार्यक्रम गरेको छ । शुक्रबार इटहरीस्थित यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता तिरुपति अटो सिटीमा कार्यक्रम गरिएको हो । कम्पनीका चिफ म्यानेजर मार्केटिङ शङ्कर श्रेष्ठका अनुसार यामाहा कम्पनीले एफआई (फ्युल इन्जेक्सन) प्रविधि भित्र्याएको १५ वर्ष पूरा भएको अवसर पारेर साङ्गीतिक कार्यक्रम गरिएको हो ।

यस्तै नयाँ वर्षको अवसर पारेर मेची–महाकालीसम्म मोटरसाइकल र्याली आयोजना गरिएको छ । मेचीको झापाबाट सुरु भएको यात्रा शुक्रबार इटहरी आइपुगेको चिफ म्यानेजर श्रेष्ठले बताए । इटहरीबाट धरान आइपुगेको छ । यामाहा कम्पनीका मोटरसाइकल तथा स्कुटी खरिदमा विशेष छुटसहितका कार्यक्रमहरू ल्याइएको आधिकारिक बिक्रेता तिरुपति अटो सिटीका सञ्चालक सन्जोग पराजुलीले बताए ।

कार्यक्रममा हास्य कलाकार राजाराजेन्द्र पोख्रेल र चर्चित गायक प्रताप दाशले प्रस्तुति दिएका थिए । गायक दाशले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए । यस्तै हास्य कलाकार राजाराजेन्द्र पोख्रेलले विभिन्न विधाका किस्साहरू सुनाएर उपस्थित दर्शकलाई हँसाएका थिए । यामाहाले २ जना कलाकारसहित ८५ जनाको समूहद्वारा मेचीदेखि महाकालीसम्म र्याली आयोजना गरेको छ । यामाहाका चिफ मेनेजर मार्केटिङ श्रेष्ठका अनुसार धरानमा सम्पन्न कार्यक्रममा गायक दासले ७ वटा गीत प्रस्तुत गरी धराने दर्शकलाई मनोरञ्जन दिएका थिए ।

यस्तै हास्यकलाकार पोखरेलले पनि धराने दर्शकलाई हँसाए । उनका अनुसार देशका सातैवटा प्रदेशका मुख्य सहरहरूमा कार्यक्रमसहित र्याली गरिँदै आएको छ । इटहरीबाट सुरु भएको साङ्गीतिक कार्यक्रम धरान, बर्दिबास, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, दाङ, सुर्खेत, महेन्द्रनगरमा समेत आयोजना गरिने भएको छ । कार्यक्रमको समापन महेन्द्रनगरमा यही वैशाख २४ गते हुँदै छ ।