धरान उपमहानगरपालिकामा खानेपानी समस्या समाधान गर्नका लागि कोशी प्रदेश सरकारबाट ‘डिप बोरिङ’ को काम सुरु भएको छ ।

शुक्रबारदेखि तीनकुने दक्षिणतर्फ डिप बोरिङको काम सुरु भएको हो । खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय विराटनगरबाट बजेट विनियोजन गराई धरानको खानेपानी समस्या समाधान गर्न कोशी प्रदेशका सांसद् रमेशकुमार बस्नेतको पहलमा डिप बोरिङको काम सुरु भएको हो । ब्लाष्टसँगको फोनसम्पर्कमा सांसद् बस्नेतले आफू फिल्डमा नै भएको बताउँदै भने, ‘काम सुरु भएको छ । आगामी वर्षको सुख्खा मौसममा पानी वितरण हुन्छ, त्यसपश्चात् राहत हुनेछ ।’ उनका अनुसार तीनवटा डिप बोरिङ गाडिनेछ । कोशी प्रदेश सरकारबाट विनियोजित ४ करोड रुपैयाँमा आधा ‘डिप बोरिङ’ गाड्न र आधा रकमले खानेपानी संरचना जडान गरिनेछ । ‘डिप बोरिङ’ को ठेक्का खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरीले लगाएको हो ।

खानेपानी तथा सिँचाइ कार्यालय इटहरीका प्रमुख सयनकुमार श्रेष्ठका अनुसार एक करोड ५१ लाख ४५ हजार नौ सय ९ रुपैयाँमा ठेक्का लागेको हो । चितवनको श्रीमान ड्रिलिङ एन्ड कन्स्ट्रक्सन प्रा।लि। ले ठेक्का पारेको हो । श्रेष्ठका अनुसार तीनवटा डिप बोरिङको काम असार मसान्तसम्म सकिनेछ । डिप बोरिङ गरेको तीनवटै पम्पबाट पानी निकाल्ने काम सकिएपश्चात् खानेपानीको संरचना जोड्ने काम सुरु हुनेछ । बहुवर्षे योजनाका लागि प्रस्ताव पेश गरिरहेको पनि उनले बताए । अहिले २ करोड बजेट विनियोजन भएको छ । कार्यालयका अनुसार साढे ५ करोडको स्टिमेट तयार भएको छ ।