धरान । एफ.टि.एल.अनलाइन टिभीको आयोजनामा सुरु भएको कोशी प्रदेशस्तरीय एसईई आइडलको पहिलो छनोट चरणमा ९५ जना छानिएका छन् ।

धरान–१६ स्थित युएन कलेजको सेमिनार हलमा गत शनिबार सम्पन्न पहिलो चरणको अडिसनबाट गायन र नृत्यमा गरी कुल ९५ जना दोस्रो चरणमा प्रवेश गरेका छन् । सहभागीले डिजिटल र भौतिकरूपमा उपस्थित भई अडिसन दिएका थिए । डिजिटलमा दुई सय ५० जना विद्यार्थी सहभागी भएको कार्यक्रम निर्देशक राम लिम्बूले जानकारी दिए । डिजिटल अडिसनका लागि वैशाख १५ गतेसम्म समय दिइएको थियो ।

यस्तै भौतिकरूपमा उपस्थित भएर पनि अडिसनमा सहभागी भएका थिए । फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.का अध्यक्ष डम्बर तुम्बापोका अनुसार टाढा–टाढाका विद्यार्थीहरूको लागि सजिलो बनाउन डिजिटल अडिसन लिइएको थियो । उनका अनुसार दोस्रो चरणबाट भने भौतिकरूपमा उपस्थित भएर नै छनोटमा सहभागी हुनुपर्नेछ ।

गायनतर्फको निर्णायकमा भोइस अफ नेपाल सिजन–२ का फाइनलिस्टमध्येका एक गायक विकास तुम्बापो लिम्बू र नृत्य प्रशिक्षक विनायक राई रहेका थिए । नृत्यतर्फ भने वरिष्ठ नृत्य प्रशिक्षक मनि राई र एसईई डान्सिङ स्टार सिजन–१ की विजेता नुमा लिम्बू रहेकी थिइन् ।

विद्यार्थीहरूभित्र लुकेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता गरिरहेको हो । आइडलमा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, पाँचथर, इलाम जिल्लाबाट सहभागी भएको आयोजकले जनाएको छ । दोस्रो चरणको अडिसन यही वैशाख १९ गने हुने भएको छ । प्रतियोगिता २०७५ सालदेखि सुरु भएको हो ।

तर, दुई वर्ष कोरोना महामारीका कारण रोकिएको थियो भने २०७८ सालदेखि पुनः सुरु गरिएको हो । विगत वर्षको तुलनामा यस वर्ष प्रतिस्पर्धी बढी निखारिएको निर्णायकमध्येका एक विनायक राईले बताए । माध्यमिक शिक्षा परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै प्रतियोगिता हुँदै आएको छ ।