विराटनगर । अस्पतालको जोखिमपूर्ण कक्षमा कार्यरत स्वास्थ्यकर्मीको लागि तीन दिने ‘बीएलएस र एसीयलएस’ तालिम सम्पन्न भएको छ ।

अमेरिकन हर्ट एसोसिएसन (एएचए) को आयोजनामा विराटनगरस्थित न्यूरो हस्पिटलको सभाहलमा भएको तीन दिने उक्त तालिम शुक्रबार समापन भएको हो । तीन दिने तालिममा अकस्मातरूपमा बिरामीको ज्यान जोखिममा परेको अवस्थामा कसरी उपचार गरेर बचाउने भन्ने विषयमा स्वास्थ्यकर्मीहरूलाई जानकारी दिइएको छ । उक्त तालिममा बिरामीको मुटुको चाल बन्द हुँदादेखि फोक्सो बन्द हुँदा र बेहोस हुनेजस्तो समस्या देखिँदा यसको उपचार कसरी गरिने अनि त्यो उपचारको बारेमा तालिममा स्वास्थ्कर्मीहरूलाई जानकारी गराएको डा. दिलकुमार लिम्बूले जानकारी दिए ।

तालिममा स्वास्थ्यकर्मीहरूलाई आकस्मिकरूपमा आएका गम्भीर बिरामी कसरी बचाउने र त्यो बारेमा प्रयोगात्मक र व्यावहारिकरूपमा तालिम दिएको उनले बताए । जोखिमपूर्ण कक्षमा कार्यरत स्वास्थ्यकर्मीहरूको लागि यो तालिमले ठूलो सहयोग पुग्ने उनले बताए । विशेषगरी आकस्मिक कक्ष, आईसियु, सिसियु, संवेदनशील बिरामी राख्ने ठाउँमा कार्यरत १५ जना स्वास्थ्यकर्मीहरू तालिममा सहभागी रहेका थिए । सो तालिममा विराटनगर, धरान, झापादेखि स्वास्थ्यकर्मीहरू सहभागी रहेका थिए । यो तालिम काठमाडौँबाहिर पहिलो पटक विराटनगरमा गरिएको डा. लिम्बूले बताए ।

‘यो कोर्ष गरेपछि संसारको जुनसुकै देशमा पनि मान्यता पाउनेछन्’ डा. लिम्बूले भने, ‘यस्तो प्रकारको तालिम काठमाडौँबाहिर पहिलो पटक पूर्वी नेपालको विराटनगरस्थित न्युरो हस्पिटलमा गरिएको हो ।’ तालिमको सहजीकरण सेन्टर फर इमर्जेन्सी मेडिकल एड्भान्समेन्ट (सेमा) का निर्देशक डाक्टर अजयसिंह थापा र डा. दिलकुमार लिम्बूले गरेका थिए । बीएलएसको बेसिकल्याव टे«निङ हुन्छ । दुई दिन एड्भान्स कार्डियो भएको छ । ‘बीएलएस र एसीयलएस’ स्वास्थ्यकर्मीहरूले लिने तालिम भएको बताइएको छ । समापन कार्यक्रममा बोल्दै न्यूरो अस्पतालका संरक्षक, संस्थापक तथा प्रबन्ध निर्देशक डा. वीरेन्द्रकुमार विष्टले यस्तो तालिमले स्वास्थ्यकर्मीहरूलाई उपचारमा ठूलो सहयोग पुग्ने बताए ।

न्यूरो र सेमाबीच सम्झौता
‘बीएलएस र एसीयलएस’ तालिमको लागि न्युरो हस्पिटल र सेमाबीच सम्झौता भएको छ । आगामी दिनमा उक्त तालिमको लागि दुई पक्षबीच सहमति भएको हो । सेमा र न्यूरोबीच सम्झौता भएपछि आउँदा दिनमा यस्तो तालिम न्यूरो हस्पिटलको तालिम केन्द्रमा गर्ने सहमति भएको छ ।

उक्त सम्झौता–पत्रमा सेमाको तर्फबाट निर्देशक डाक्टर अजयसिंह थापा र हस्पिटलको तर्फबाट संरक्षक, संस्थापक तथा प्रबन्ध निर्देशक डा. वीरेन्द्रकुमार विष्टले हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि चाँडै स्वास्थ्यकर्मीको लागि तालिम गरिने भएको छ । जोखिमपूर्ण कक्षमा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि यो तालिमले ठूलो सहयोग पुग्नेछ । विशेषगरी अस्पतालको जोखिमपूर्ण कक्षमा कार्यरत स्वास्थ्यकर्मीको लागि उक्त तालिम दिने गरिएको सेमाले जनाएको छ ।