विजयपुर । धरान उपमहानगरपालिकामा केही दिनयता फेरि खानेपानीको हाहाकार भएको छ । वर्षौंदेखि खानेपानीको अभाव भइरहेको धरानमा पछिल्लो समय दुईवटा पानी तान्ने पम्प बिग्रिएको बहाना बनाएर खानेपानीको हाहाकार सिर्जना गरिएको हो ।

धरान–१५ श्याम चोकस्थित ललित टोलका मनिषा विश्वकर्मा र यशु विश्वकर्माले आफ्नो घरको धारामा सातदिनदेखि खानेपानीको थोपा पनि नझरेको बताए । उनीहरू दुवैजना सफारीमा कपडा लिएर तीनकुनेमा नुहाइधुवाइ गर्दै गरेका भेटिए । मनिषाले भनिन्, ‘हप्तादिनदेखि पानी आएको छैन । ट्याङ्करमा बाँडेको पानी पनि थाप्न सकिएन । त्यसैले नुहाइधुवाइका लागि आएका हौँ ।’ उनले विगतका वर्षहरूमा भन्दा धेरै अभाव चुलिएको बताइन् । धरान–११ का दिलकुमार भुजेलका अनुसार धरान–११ स्थित मङ्गलबारे चोकमा पनि पानी नआएको धेरै दिन भयो । महिनौंदेखि खानेपानी अभाव भएको धरानमा हप्तादिनदेखि भने चरम् अभाव भएको उनको भनाइ छ । उपमहानगरका प्रायः वडामा खानेपानी आएको कतै हप्तादिन, कतै १५ दिन त कतै महिना दिनदेखि खानेपानी आएको छैन । धरान–१, २, ३, ७, ९, १६, १७ लगायतका स्थानीय पनि खानेपानी चरम् अभाव भएको बताउँछन् । खानेपानी अभावका विषयमा धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले पम्प बिग्रिएका कारणले समस्या भएको बताए ।

उनका अनुसार खानेपानी तान्ने दुईवटा पम्प बिग्रिएको छ । ८ दिनदेखि खानेपानी तान्ने पम्प बिग्रिएपछि खानेपानी वितरण प्रणालीमा समस्या आएको उनले बताए । निर्देशक पोखरेलका अनुसार एउटा पम्प बनाएर (शुक्रबार) जोडिएको छ । अर्को बन्ने क्रममा छ । उनका अनुसार पम्प पूर्णरूपमा चल्दा पनि करिब २ लाख लिटर मात्रै पानी आउने गरेको छ । हाल धरानमा दैनिक ३ लाख लिटरभन्दा बढी पानीको माग रहेको बोर्डका कार्यकारी निर्देशक पोखरेलले ब्लाष्टकर्मीलाई बताए । यतिबेला खानेपानी हाहाकार भएका कारण पानी किनेर ल्याएको, निःशुल्क पानी वितरण गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । वर्षायाममा खानेपानीको खोला नै बगाएर सस्तो लोकप्रियता कमाएका धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका धरान नगर प्रमुख हर्कराज राईको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

विद्युत्मा पनि समस्या

विद्युत् लाइनमा पनि समस्या रहेको प्राधिकरणले बताएको छ । विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका एक कर्मचारीका अनुसार ढल्केबरदेखि दुहबी आउने प्रसारण लाइनको दुईवटा सर्किट (तार) मध्ये एउटा सर्किटमा समस्या आएको छ’ ती कर्मचारीले भने, ‘माथिल्लो निकायमा बुझ्दा एउटा सर्किटमा समस्या आएको भन्छन् ।’ हिजो (शुक्रबार) देखि समस्या समाधान भएको ती कर्मचारीले बताए ।

pani matar
बोर्डका अध्यक्ष भ्रम छर्दै
खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष हर्कराज राईले खानेपानीको विषयमा भ्रम छरिरहेको धेरैले आरोप लगाएका छन् । उनले खानेपानी तान्ने पम्प बिग्रिनुमा विद्युत् प्राधिकरणको दोष रहेको आरोप लगाउँदै आइरहेका छन् ।

अध्यक्ष राईले फेसबुकमा ‘कुलमानलाई फेल गराउन कृत्रिम लोडसेडिङ गरेर पानी तान्ने पम्पको लाइन डिस्टर्व गरी हर्क साम्पाङलाई पनि फेल गराउने षड्यन्त्र त भै रा’छैन । एउटै तीरले दुई शिकार गर्ने काइतेहरूले ? भनेर भन्दै थिए माथ्ला घरे लखन्तरे काकाले !’ भन्दै लेखेका छन् । उनले दुईदिनअघि फेसबुकमा ‘केही दिनदेखि विद्युत् प्रसारण नियमित हुन नसकेको र बेला–बेला लाइन गैरहने कारण जङ्गलबाट पानी तान्ने पम्प सञ्चालनमा बाधा भैरहेको हुँदा विद्युत्को कारण पानी उत्पादनमा समस्या देखिन आएको र यसबाट पर्न गएको असुविधाप्रति सचेत रहँदै सम्बन्धित निकायलाई जानकारी गराइएको र लोड सेडिङको समस्या समाधान गर्न प्राधिकरणलाई अनुरोध गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछौँ’ भनी सामाजिक सञ्जालमै लेखेका थिए ।

अध्यक्ष राईले स्टाटस लेखेको विषयमा सामाजिक सञ्जाल फेसबुकमा मिङ्मा दोर्जे लामाले ‘ल यति कुरो बुझ्ने मान्छेले हिजो अस्ति किन कुलमानको विरोध गरेको त लोडसेडिङ कहीँकतै छैन तर छिट्फुट लाइन काट्ने जोड्ने गरिरहन्छ हो यो कुरो चैं बुझ्ने कोशिस सबैले गरेको राम्रो ।’

यस्तै, डम्बर कार्कीले नगरप्रमुख राईको पोष्टमा ‘१८ घण्टा लोडसेडिङ हुँदा धरानेले पानी खाइरहेका थिए, त्यो श्रमदान गरेर ल्याको पानीले त रोपाइँ गर्न पुग्नु पर्ने हो ?’ भन्दै प्रतिक्रिया दिएका छन् । धरान–७ बासी कार्कीबहादुर  ठाकुरले फेसबुकमा ‘श्रमदानको पानीले पुग्दैन भन्ने घोषणा आफै गरिदिएको हो । अस्ति श्रमदानको पानीले धरानमा वालछ्याल पुगिरहेको छ । विरोधीहरू हल्ला गर्छन् भनेको बिर्सिसके’ भन्दै प्रश्न गरेका छन् ।