इटहरी । इटहरी सुनसरीको इटहरीमा सञ्चालित एक फर्निचर हाउसका सञ्चालकसहित सामग्री नियन्त्रणमा लिए पनि तीन घण्टापछि छाडेको छ ।

बिहीबार राजस्व छली गरेको अभियोगमा इटहरी धरान रोडस्थित ड्रिमल्याण्ड सोफा हाउसबाट राजस्व अनुसन्धानको इटहरीस्थित कार्यालयले सञ्चालकसहित फर्निचरका सामग्री बरामद गरेको थियो । सोफा हाउसका सञ्चालक सन्तोष न्यौपानेसहित फर्निचर नियन्त्रणमा लिएको थियो ।

आकस्मिक छापा मार्दा सञ्चालनको अनुमति लिएको कागजात फेला परेको थिएन । स्थानीयको गोप्य सूचनाका आधारमा विराटनगरतर्फ अवैधरूपमा लाँदै गरेको अवस्थामा इटहरीको खनारबाट फर्निचर र सञ्चालक न्यौपानेलाई नियन्त्रणमा लिएको थियो । राजस्वले सोफा हाउसका सञ्चालक न्यौपानेलाई मुद्दा नचलाई बिहीबार ४ बजे नै छाडेको छ ।

राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खेमराज ओझाको निर्देशनमा ती व्यवसायीलाई छाडिएको राजस्व कार्यालयभित्रैका कर्मचारी बताउँछन् । व्यक्ति छाडिए पनि लोड गरिएको सामान र सवारी साधन भने राजस्व कार्यालयकै नियन्त्रणमा रहेको ती कर्मचारीले बताए ।

मान्छे पक्राउ गरिसकेपछि अनुसन्धानपश्चात् प्रहरी कार्यालय पठाई मुद्दा चलाइनुपर्नेमा सञ्चालक न्यौपानेलाई अनुसन्धान नै नगरी त्यसै छाडिएको राजस्व कार्यालयका कर्मचारी स्रोत बताउँछ । प्रहरीसहितको टोलीले बिहीबार इटहरीको खनारबाट न्यौपानेलाई बा.२१ च ४२६७ नम्बरको सवारी साधन र लोड गरिएको अवस्थाको ४० हजार मूल्य बराबरको फर्निचर सामग्री बरामद गरेको थियो । यता पक्राउपछि छाडिएका न्यौपाने ड्रिमल्यान्ड सोफा हाउसका वास्तविक सञ्चालक नरहेकाले छाडिएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खेमराज ओझाले बताए ।

केन्द्रीय कार्यालय काठमाडौँ रहेको सोफा हाउस नयाँ वर्षको अवसर पारेर वैशाख २ गतेबाट धरान रोडमा सञ्चालित रहेको छ । राजस्व प्रमुख ओझाले हाउसको मुख्य कार्यालय काठमाडौँमा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए । उनका अनुसार मोरङको विराटनगर पठाइएको सामानको कुनै बिल बिजक नरहेकाले सामग्री तत्काल जफत गरिएको हो । यता पक्राउपछि छाडिएका ड्रिमल्यान्ड सोफा हाउसका सञ्चालक सन्तोष न्यौपानेले भने हालैमात्र खोलिएको हुनाले दर्ता प्रक्रियामा जान नपाएको दाबी गरे ।

बिल बिजकहरू काठमाडौँबाट पठाउनु पर्ने भएकाले हालसम्म केही उपभोक्ताहरूलाई बिलविनै कारोबार गरेको उनले स्वीकार गरे । ‘यो शाखा रहेको र यसको सञ्चालक भने आफू स्वयम् हुँ’–उनले भने । इटहरी उपमहानगरबाट व्यवसाय अनुमति–पत्र लिएको तर भ्याटमा भने केन्द्रमै दर्ता भइसकेकोले यहाँ गरिराख्नुपर्ने नभएको उनले प्रष्ट्याए ।