नेपाली कांग्रेस कोशी प्रदेशका १४ जिल्ला सभापतिहरुले प्रदेशको नाम पुनर्विचार गर्न आग्रह गरेका छन् । 

विज्ञप्ति जारी गर्दै जिल्ला सभापतिहरुले पार्टी नेतृत्व तथा प्रदेश सभासमक्ष आग्रह गरेका हुन् । 

‘नेपाली कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात् गर्दै गल्ती कमजोरीहरुलाई सच्याउने साहस गर्न सक्छ । यही तथ्यलाई ध्यानमा राखी हामी कोशी नामसम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेश सभासँग विशेष आग्रह गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

 विज्ञप्तिमा प्रदेश नम्बर १ को नाम कोशी राखिएकोमा गम्भीर आपत्ति जनाउँदै प्रदेशका जनता आन्दोलित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । ‘पहिचान पक्षधर जनताले आफ्नो मागको सुनुवाईका लागि गरिरहेको आन्दोलनमा भएको सरकारी दमनको घोेर भत्र्सना गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा आन्दोलनमा संयमित हुन आन्दोलनकारीहरूलाई विशेष आग्रह गरिएको छ । ‘जिम्मेवार बनेर मानवअधिकारको सम्मान गर्न तथा विरोध गर्न पाउने मौलिक हकको सम्मान गर्न जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा ‘प्रदेश सभाले कोशी नाम राखेपछि जनताको ठूलो तप्काले अहिले विरोध गरिरहेको छ । यो विरोधको सुनुवाई नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्दछ भन्ने हाम्रो धारणा छ ।’  

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले वार्ताबाट समाधान खोज्न माग गरेका छन् ।