धनकुटा । धनकुटाका दलित मुक्ति आन्दोलनका अगुवा भद्रमान घलेको धनकुटास्थित तमोर नदीमा जातीय संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।
उनको ९० वर्षको उमेरमा बिहीबार राति निधन भएको थियो । धनकुटा जिल्लाकै पुराना वामपन्थी नेता घले वि.सं. १९८९ कात्तिक महिनामा जन्मिएका थिए । उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको थियो । छोरा डा. सन्तोष घले भारतबाट आएपछि घलेको शनिबार धनकुटाको मूलघाटस्थित तमोर नदीमा अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् धनकुटा इन्चार्ज राजेन्द्रकुमार राईले पार्टीको झण्डा ओढाई श्रद्धाञ्जलि व्यक्त गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् धनकुटा सह–इन्चार्ज शकुन्तला बस्नेतलगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
घलेले वि.सं. २००९ सालमा साप्ताहिक बिहीबारे हाटमा दलित प्रवेश गर्न नपाइने अवस्थामा त्यसबेलाको जातीय विभेद अन्त्यका लागि अगुवाइ गरेका थिए । हाटमा दलित प्रवेश गराएको आरोपमा उनले डेढ वर्ष जेल जीवन बिताउनु परेको थियो । कम्युनिष्ट सदस्यता लिनुअघि उनले वि.सं. २००३ देखि पाँच वर्ष विराटनगरस्थित कोइराला निवासमा दौरा सुरुवाल र टोपी सिलाउने काममा बिताएका थिए । वि.सं. २००५ मा नेपाली काङ्ग्रेसको सदस्यतासमेत लिएका थिए ।
केही समय अघिको भेटमा उनले भनेका थिए, ‘मातृकाबाबु, गिरिजाबाबु, तारणीप्रसादलगायतको धेरै वर्ष लुगा सिलाएँ, कोइराला परिवारले आफूलाई उचनिचको कहिल्यै भेदभाव नगरी एउटै भान्सामा खाना खुवाउने गर्थे ।’ वि.सं.२००७ मा राणा शासन विरोधी आन्दोलनमा पर्चा छर्ने काममा कोइराला परिवारसँगै उनी सक्रिय थिए । तर, वि.सं.२००८ मा धरानमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको भाषणबाट प्रभावित भएर कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । मनमोहन अधिकारी, हीरालाल विश्वकर्मा, सहर्षनाथ कपालीलगायतको सङ्गतले उनी वामपन्थी नेताका रूपमा स्थापित बनेका हुन् ।
वर्षौं कम्युनिष्ट आन्दोलनमा लागेका घले ८० वर्ष अघिदेखि पुख्र्यौली पेसाको रूपमा सिलाइ–कटाइबाटै जीविकोपार्जन गर्दै आएका थिए । जीवनको अन्तिम क्षणसम्म राष्ट्रिय झन्डा र राष्ट्रिय पोसाक सिलाउन उनी तल्लीन थिए । डेढ महिनाअघि दमको बिरामले थलिनु अघिसम्म धनकुटा–५ स्थित बिहीबारे हाटनजिक घले आफ्नो छाप्रोमा राष्ट्रिय झण्डा र राष्ट्रिय पोसाक बनाउनमै व्यस्त थिए ।
झण्डा बनाउन भने वि.सं. २०२२ देखि सुरु गरेका थिए । संविधान दिवस, दशैं, लोकतन्त्र तथा गणतन्त्र दिवसजस्ता राष्ट्रिय पर्वमा उनलाई झण्डा बनाउनेबाहेक अरू कामको फुर्सद नै हुन्नथ्यो । बिहानदेखि बेलुकीसम्म कपडाको चन्द्र, सूर्य चिह्न र झण्डाका लागि साइज नाप्दै सिलाइ मेसिनमा खिटिरहनै व्यस्त हुन्थे । जिल्लास्थित अधिकांश न्यायिक, अर्ध न्यायिक निकाय, सरकारी कार्यालय र स्थानीय पालिकाको प्राङ्गण र कार्यकक्षमा फर्फराइरहेको चन्द्र, सूर्य अङ्कित राष्ट्रिय झन्डा उनैले बनाएका हुन् ।
तत्कालीन प्रमुख जिल्ला अधिकारी रत्नबहादुर गुरुङले जिल्लाभरि वितरण गर्न एकै पटक दुई सय बढी झण्डा बनाउन अर्डर दिएपछि त्यसैलाई मुख्य पेसाको रूपमा अपनाउँदै आएका थिए । स्व. घलेले जीवनपर्यन्त आफ्ना लागि भन्दा दलित समुदायको उत्थान र पार्टीका लागि जीवन बिताएको एमाले नेता गोपाल गुरागाईंले बताए ।
वर्षौं कम्युनिष्ट आन्दोलनमा लागे पनि जिल्ला विकास समितिको सदस्य बाहेक राजनीतिक अवसर पाएनन् । सिलाइ कटाइ पेसाकै आम्दानीबाट उनले ४ छोरी र २ छोरालाई उच्च शिक्षा पढाए । जेठा छोरा सन्तोष एमबिबिएस डाक्टरका रूपमा भारतमा छन् । अन्य काठमाडौं, विराटनगर र जनकपुरमा छन् ।