भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाले घारे सामुदायिक कृषि फार्म सञ्चालन गरेको छ । कृषिमा आत्मनिर्भर बन्न ६० लाख रुपैयाँको लगानीमा गाउपालिकाले सामुदायिक कृषि फार्म सञ्चालन गरेको हो । करिब एकसय २० रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएर कृषि फार्म सञ्चालन गरिएको छ ।
फार्ममा अहिले तीन जना स्थानियले रोजगारी पाएका छन् । कृषिमा चासो राख्ने कृषकले फार्ममा गएर पशुपालन, फलफूल तथा तरकारी खेती प्रविधिका विषयमा प्रत्यक्ष रूपमा ज्ञान लिन सक्ने व्यावस्था गरिएको गाउपालिका अध्यक्ष अशोक राईले बताए ।
खेतीमा नयाँ प्रविधि भित्र्याएर गाउघरको जमीनलाई कृषि पर्यटनका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यका साथ फार्म खोलेको अध्यक्ष राईको भनाइ छ । कृषि फार्मलाई कृषि अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने योजना रहेको उनले जानकारी दिए ।
उनले भने, “स्थानीय ऐनको निर्माण गरि निजी लगानी कर्ता भित्रयाएर लगानीका आधारमा फार्मबाट आएको आम्दानीलाई गाउँपालिकाको आयस्रोतका रूपमा राखिने छ ‘यो फार्म सञ्चालनका लागि गाउँपालिकाको आफ्नै नीति बन्नेछ ‘त्यही नीतिका आधारमा फार्मको विकास तथा विस्तारमा जोड दिएर गाउँपालिकालाई आर्थिक स्रोतमा जोड्दै कृषिमा आत्मनिर्भर बनाउने योजना रहेको छ ।”
अध्यक्ष राईका अनुसार पूर्वको एक नमूना कृषि फार्म बनाउने गाउँपालिकाको योजना अनुसार फार्ममा माछापालन, कागती खेती, बाख्रापालन फलफूल तथा तरकारी खेती भईरहेको छ । फार्ममा कागती, एभोकार्डो, किबी, टिमुर, आँप , लिची लगायत फलफूलका बिरुवामा पनि उत्पादन भइरहेको छ ।
आधुनिक प्रविधिको खोरमा बाख्रापालन, माछापालन शुुरु भएको छ । यस्तै टमाटर, प्याज, बन्दाकोभी लगायत विभिन्न खालका तरकारी खेती समेत थालिएको गाउँपालिकाका कृषि शाखा प्रमुख भूमिश्वर यादवले बताए । स्थानिय कृषकलाई कृषि खेतीका विभिन्न प्रविधिका विषयमा जानकारी दिएर सिकाउँदा काम गर्न सहज भएको प्रमुख यादवले जानकारी दिए ।
आफूले खेती गर्दा नजानेको कुरा फार्मबाट सिक्ने अवसर पाउदा स्थानीय किसान पनि खुसी भएका छन् । स्थानिय कृषक शिवकुमार राईले भने “हामीलाई फार्मबाट धेरै सिक्ने अवसर मिलेको छ , खेतीको नयाँ प्रविधिका विषयमा जान्न पाउदा हामी खुसी छौ ।”
यस्तै गाउँपालिकाले सञ्चालन गरेको फार्ममा रोजगारी पाउँदा खुसी लागेको स्थानीय समीक्षा मगरले बताइन् । विदेशमा श्रम गर्न जानु भन्दा आफ्नै ठाउँमा कृषि कर्ममा रमाउन पाउँदा खुसी लागेको उनको भनाइ छ । गाउँपालिकाले आमचोकको विभिन्न वडामा चिया खेती समेत विस्तार गरेको छ ।
आमचोक चिया तथा कफी बिकाश बोर्ड मार्फत चिया खेती समेत विस्तार गरिएको हो । करिब एक हजार पाँच रोपनी क्षेत्रफलमा चिया खेती भइरहेको गाउँपालिकाकी उपाध्यक्ष सीता राईले बताइन् ।
चिया खेती देवन्टारको बयाङ , यूू को दाबुुराङ , बेछुखा , थामडाडा ,वासिङथर्पुको पञ्चमी , धिन्ताङ लगाएत ठाउमा भइरहेको हो । खाली चौर तथा खर्कहरुमा लगाईएको चिया खेति हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरु समेत आउन थालेको उपाध्यक्ष राईले जानकारी दिईन ।