सुनसरी । कामबाट निकालिएको भन्दै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित अरविन्द पल्प एण्ड पेपर मिल्सका मजदुर आन्दोलित भएका छन् । लामो समयदेखि आफूहरू काम गर्दै आए पनि सञ्चालकले जानकारीसमेत नदिई १८ जनालाई कामबाट निकालेपछि उनीहरूले बिहीबार मिल्सअगाडि धर्ना दिए । 

भारतीय मजदुर ल्याएर स्थानीयलाई प्राथमिकता नदिई कामबाट निकालेपछि मजदुर आन्दोलित भएको बताउँदै समाजवादी ट्रेड युनियन महासङ्घ प्रदेश १ का उपाध्यक्ष मनोज यादवले स्वीकृति नलिई भारतीय मजदुरलाई आफू खुसी काम लगाउनु गैरकानूनी भएको बताए ।

श्रम ऐनअनुसार श्रम स्वीकृति लिएर मात्रै भारतीय वा बाहिरका कामदारहरूलाई काम दिनुपर्ने नियम कानूनलाई मिच्दै पेपर मिल्सले स्थानीय कामदारलाई रोजगारबाट निकाली बाहिरकालाई अवसर दिएको विरुद्धमा बिहीबार धर्ना दिइएको उनले बताए ।

कोभिड–१९ को महामारीमा रोजगार गुमेको अवस्थामा एक वर्षपश्चात् काम सुरु गरे पनि पेपर मिल्सबाट एक्कासि निकालिएकोप्रति आपत्ति जनाउँदै स्थानीय मजदुरले धर्ना दिएको मजदुर शिवनारायण मण्डलले जानकारी दिए ।

१८ जना कामदारहरूलाई बिना जानकारी कामबाट निकालिएको विरुद्धमा धर्नामा बसेको बताउँदै उनले कामअनुसार तलब दिएर पुनः काममा स्थानीय कामदारलाई नफर्काएसम्म धर्ना जारी रहने बताए । अरविन्द पेपर मिल्समा एक वर्षदेखि काम गर्दै आएको भए पनि बिना कारण कामबाट निकालिएकाले धर्नामा बस्न बाध्य भएको अर्का मजदुर अफसाना खातुनले बताइन् ।

पेपर मिल्सको प्रवेशद्वारअगाडि कामदार, श्रमिक र उनीहरूका समर्थकहरूले विभिन्न नाराबाजी गर्दै धर्नामा बसेकाले बिहीबार दिनभर उद्योग प्रभावित भएको थियो ।

आफूहरूलाई कामबाट निकालिएको हुँदा बेरोजगार भएको भन्दै उद्योगमा पुनः फर्काउन उनले आग्रह गरिन् । अरविन्द पेपर मिल्समा भनेजस्तो तलब सुविधा नदिएको समेत खातुनले गुनासो गरेकी छन् । एक वर्षदेखि काम गर्दै आएको भए पनि ३ सयको दरले ज्याला मजदुरी दिँदै आएको र ओभर टाइमको रकम पनि कम दिएकोले श्रम ऐनअनुसार तलब सुविधा दिनुपर्ने उनको माग छ ।

१८ जना स्थानीय कामदारलाई पुनः बहाली नगरेसम्म धर्ना कार्यक्रम जारी राख्ने र मिल्सले वास्ता नगरेको खण्डमा आन्दोलनको स्वरूप परिवर्तन गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् । यता अरविन्द पल्प एण्ड पेपर मिल्सका एड्मिन हेड बद्री गुरुङले पुरानो ठेकेदारसँगको सम्झौता कम्पनीले रद्द गरेपछि स्थानीय केही मजदुर कामविहीन बन्न पुगेको बताए ।

‘जुन ठेकेदारसँग सम्झौता गरेका थियौं, उक्त ठेकेदारले सन्तोषजनक काम गर्न नसकेपछि हामीले ठेक्का रद्द ग¥यौं’ उनले भने, ‘नयाँ ठेकेदारले आफ्नो मजदुर ल्याएपछि यहाँका स्थानीय कामविहीन भएका छन् ।’ स्थानीय मजदुरलाई प्राथमिकतामा राख्दै उद्योगले उनीहरूको मागअनुसार मजदुरलाई काममा फर्काउने उनको भनाइ छ ।