जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिकामध्ये तीन पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । सिञ्जा उपत्यकामा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हिमाका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए । 

जुम्लाको सदरमुकाम खलङ्गादेखि पैदल यात्रा गर्दा एक दिनमा सिञ्जा उपत्यका पुगिन्छ । त्यो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल छैनन् । त्यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिनका लागि सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जिल्लामा आउनुपर्ने बाध्यता भएपछि तीनै पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हुन् । त्यो सबै क्षेत्रमा मोटरबाटो पुगिसकेको छ । सिंजाको कनकासुन्दरी गाउँपालिकाले हालै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।  

हिमा र सिञ्जाले यसअघिदेखि नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइसकेका थिए । राजस्वकर छुटसहित रु १० लाख ८१ हजारमा एम्बुलेन्स पालिकामा पुगेको कनकासुन्दरीका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले जानकारी दिए ।  गाउँपालिका रोजगार संयोजक हंसराज न्यौपानेका अनुसार अघिल्ला वर्षदेखि नै पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन खोजे पनि लामो प्रयासपछि राजस्व छुटमा एम्बुलेन्स खरिद गरी नागरिकलाई सेवा दिएको बताए ।

पालिकामा एम्बुलेन्स नहुँदा खलङ्गा एम्बुलेन्स मगाउनुपर्ने समस्या बिरामीले भोग्दै आएका थिए । यो वर्षदेखि त्यो समस्याबाट नागरिकले उन्मुक्ति पाएको यहाँका स्थानीय तहका प्रमुख बताउँछन् । आकस्मिक सेवा प्रवाह गर्नका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हिमा गाउँपालिका सिञ्जा अध्यक्ष देवलसिंह रावलले बताए । 

सदरमुकामदेखि टाढा रहेको पातारासी गाउँपालिकाले पनि एम्बुलेन्स सेवा दिँदै आएको छ । यहाँका गुठीचौर, तातोपानी र तिला गाउँपालिका पनि एम्बुलेन्स खरिद गर्ने प्रक्रियामा रहेको गाउँपालिकाले जनाएका छन् । 

सार्वजनिक सुनुवाइ

 हिमा गाउँपालिकाले हरेक वर्ष सार्वजनिक सुनुवाइ गरी नागरिकका गुनासो सुन्ने र सल्लाह सुझावका आधारमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सार्वजनिक सुनुवाइबाट नागरिकका गुनासा, सल्लाह र सुझाव सङ्कलन हुने गर्दछ । 

सो कार्यक्रम सुशासनको मुख्य आधार हो । पालिकाले हरेक वर्ष नियमित रूपमा आफ्ना वार्षिक गतिविधि नागरिकमाझ सार्वजनिक गर्ने, गुनासो सुन्ने, समीक्षा गर्दै आएको छ । सो गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए। 

सार्वजनिक सुनुवाइ कार्यक्रममा भने विभिन्न आयोजनाका उपभोक्ता समितिसँग नागरिकले बढी गुनासो गरे । काम सम्पन्न नगर्ने, अधुरा योजना छाड्ने, योजनामा काम गर्ने मजदुरको ज्याला नदिनेलगायत गुनासा नागरिकले पालिकासमक्ष गरेका थियो । सुशासन र पारदर्शिता कायम गर्न हरेक वर्ष सार्वजनिक सुनुवाइ गरिरको हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुढाले जानकारी दिए । 

नियमित सार्वजनिक सुनुवाइ गर्नु आर्थिक पारदर्शिताको सबल पक्ष रहेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए। नागरिकका कानुनी व्यवस्था, नागरिकका अधिकार र सुशासन एवं पारदर्शिताका पक्षलाई बेवास्ता गर्दै जिल्लाका अधिकांश पालिकाले नियमित सार्वजनिक सुनुवाइ गर्न सकेका छैनन् ।