धरान । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) सार्वजनिक गरेको छ । पहिलोपटक सार्वजनिक गरिएको ई–पासपोर्ट सबैभन्दा सुरुमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ ।

विभागले सात किसिमको ई–पासपोर्ट सार्वजनिक गरेको हो । यसअघि ६ किसिमको राहदानी मात्रै ल्याइएको थियो । नेपालमा हस्तलिखित हुँदै एमआरपी पासपोर्ट प्रयोगमा ल्याइएको थियो भने ई–पासपोर्टको पहिलोपटक अभ्यास थालिएको हो । बुधबार विभागका आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले शताब्दी पुरुष जोशीलाई ई–पासपोर्ट हस्तान्तरण गरे ।

विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार विद्युतीय राहदानीको अवस्थामा आइपुग्नु नेपालीका लागि खुसीको कुरा भएको बताए । उनले अनलाइन माध्यमबाटै ई–पासपोर्ट दिइने पनि जनाए ।

उनका अनुसार नेपालमा यसअघि कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स अभिलेख किताब, साधारणअन्तर्गत ३४ र ६६ पृष्ठको राहदानी वितरण गरिँदै आएको थियो भने अब सर्भिस पासपोर्ट पनि थप गरिन लागिएको हो ।

पहिलोपटक साधारण ई–पासपोर्ट पाएका शताब्दी पुरुषले विद्युतीय राहदानी पाउँदा आफूलाई खुसी लागेको बताए । उनले सरकारलाई सफलताको शुभकामना पनि दिए । उनले यसले अन्तर्राष्ट्रियजगत्मा नेपालको छविलाई उँचो राख्ने पनि बताए ।

ई–पासपोर्टपूर्व राहदानी बनाउनका लागि जिल्ला प्रशासन तथा जिल्ला प्रशासनअन्तर्गतको इलाका प्रशासन पुग्नुपर्ने अवस्था थियो । तत्काल राहदानी चाहिने अवस्था सिर्जना हुँदा विभागमै पुगेर बढी दस्तुर तिरेर मात्रै लिने व्यवस्था रहेको थियो ।

ई–पासपोर्ट हुँदा अनलाइनमार्फत् फर्म भरेर तोकिएको दस्तुर तिर्दा लिन सकिने गरी व्यवस्था गरिन लागिएको छ । विभागले यसलाई व्यवस्थित बनाउने तयारी पनि गरेको छ ।

ई–पासपोर्ट एक घण्टामा एक हजारभन्दा बढी निर्माण गर्न सकिने जनाइएको छ । हस्तलिखित तथा एमआरपीमा भने एक सातादेखि ३ महिनासम्म लाग्दै आएको थियो । विभागमै पुगेको हकमा भने ३ दिनभित्र दिने व्यवस्था गरिएको थियो । तर, बढी दस्तुर तिर्नुपर्ने बाध्यता रहेको थियो ।

नेपालमा दैनिक रोजगारीका लागि मात्रै १८ सयभन्दा बढी नागरिकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिन्छन् भने व्यापारिक, शिक्षा, भ्रमणका लागि पनि नेपालीहरूले पासपोर्ट प्रयोगमा ल्याउने गरेका छन् । त्यस्तै अमेरिकन डिभी भर्नका लागि पनि पासपोर्ट बनाउने चलन पछिल्लो समय व्यापक रहेको छ ।