धरान । पृथ्वी इण्टरटेनमेण्टले ‘चाँदनी’ बोलको लोकगीत सार्वजनिक गरेको छ ।

गायक रामजी खाँड र गायिका सम्झना भण्डारीको स्वर रहेको गीतको लय तथा शब्द सुजन लम्सालको रहेको छ । गीतमा एरेञ्ज सुनिल परियारले गरेका छन् ।

काठमाडौंमा भएको भिडियो सार्वजनिक कार्यक्रमका सभापति पृथ्वी इण्टरटेनमेण्टबाट प्रमुख पृथ्वी थकालीले गीतसङ्गीतको क्षेत्रलाई सदैवमा माया गर्ने र निरन्तरताका लागि नयाँ कोसेली स्वरूप गीत सार्वजनिक गरिएको जानकारी गराए ।

कार्यक्रममा बोल्दै गायक रामजी खाँडले गीतको अडियो नै सुरुमा बलियो लागेकोले आफ्नो मन छोएको बताए । उनले अडियोपछि भिडियो पनि उस्तै राम्रो भएकाले दर्शकले मन पराउनेमा आफू आशावादी रहेको बताए । गायिका सम्झना भण्डारीले बजारमा थुप्रै गीत आइरहँदा केही फरक गर्ने कोशिसका साथ नयाँ गीत ल्याएको जानकारी गराइन् । सम्झनाले यसअघि पनि पृथ्वी इण्टरटेनमेण्टबाटै सार्वजनिक थुप्रै गीत गाएकी छन् ।

भिडियोका कलाकार प्रकाश सपुतले आफ्नो गीतसङ्गीतको करिअर नै पृथ्वी इण्टरटेनमेण्ट बाटै सुरु गरेको सम्झिए । उनले भने, ‘म जुन बेला काठमाडौंको गल्लीमा सफलता पाइन्छ कि भन्दै दौडिरहेको थिएँ । त्यो समयमा पृथ्वी थकालीदाइसँग भेट नभएको भए सायद आज यो प्रकाश सपुत हुँदैनथ्यो होला ।’

नायिका केकी अधिकारीले पनि गीतको अडियो सुन्ने बित्तिकै मन छोएको र गीतका शब्दले पनि आफूलाई तानेको बताइन् । भिडियोमा विक्रम स्वाँरको निर्देशन छ भने नवराज उप्रेतीले खिचेका हुन् । भिडियो प्रवीन भट्टले सम्पादन गरेका हुन् ।