विजयपुर । बिचौलियाका कारण ब्रोइलर कुखुरापालक कृषक विस्थापित हुन थालेका छन् । सरकारको नीति कमजोर भएपछि बिचौलियाहरूले कुखुरापालकहरूलाई मारमा पार्न थालेपछि विस्थापित हुन थालेका हुन् ।

यसको ताजा नमुना बनेका छन्, धरान–१५ बाँझगराका मोहन लिम्बू । दक्षिण कोरियामा पाँच वर्ष रोजगार गरेर फर्किएका उनले करिब चार लाख रुपैयाँको लगानीमा धरान–५ खैरेनीमा ‘खैरेनी पोल्ट्री फार्म’ दर्ता गरी ब्रोइलर कुखुरा पाल्न थाले । एक चरणमा १२ सय कुखुरा उत्पादन गर्दै आएका लिम्बूले उत्पादित कुखुरा बिक्रीबाट लगानी पनि नउठेपछि फार्म बन्द गरे । उनले भने, ‘एक चरण १२ सय उत्पादन गर्दा ३० देखि ४० हजार घाटा हुन थालेपछि बन्द गरेँ ।’ उनले कोरियामा जस्तै आधुनिक कुखुरा फार्म निर्माण गर्न खोजे पनि आवश्यक सामग्री नपाएको अनुभव सुनाए ।

कृषकप्रति राज्यको कमजोर नीति र बिचौलिया मात्र मोटाउने प्रवृत्तिले लगातार घाटा भएपछि फार्मको दर्ता खारेज गर्ने सोचमा पुगेको उनी सुनाउँछन् । उनको बुझाइमा कृषक विस्थापित हुनुमा सरकारको नीति राम्रो नहुनु, बिचौलिया बिगबिगी हुनु, भारतीय बजारको दबदबा र पेलेट दाना डिलरको सिण्डीकेट रहेको छ । उनले पेलेट दाना डिलरले पशुपालक कृषकलाई सबैकुरा लादेको दाबी गरे ।

उनले भने, ‘कुखुराको आहारा पेलेट दानाको महिनामा २ पटकसम्म मूल्य वृद्धि हुन्छ । मूल्य वृद्धि भएपछि लगानी बढ्यो तर, आम्दानी बढेन, घाटा व्यहोरेर किन सञ्चालन गर्नु भनेर बन्द गरेँ ।’ स्थानीय, प्रदेश र सङ्घीय सरकारको यस्तै नीति हो भने अबको १० वर्षमा अधिकांश ब्रोइलरपालक कृषक विस्थापित हुने लिम्बूको दाबी छ ।

पानबारी कुखुरा दाना सप्लायर्सका सञ्चालक मीनबहादुर दाहालको पनि त्यस्तै अनुभव छ । दाहालले लामो समयदेखि ब्रोइलर कुखुरा उत्पादन गर्दै आएका छन् । उनले पनि फार्म बन्द गरे । २ स्थानमा फार्म सञ्चालन गरेका दाहालले घाटाको व्यापार भएपछि एउटा फार्म बन्द गरेको उनले बताए । उनले ११ लाख रुपैयाँ घाटा व्यहोरेर फार्म बन्द गरेको बताए ।

कुखुरा उत्पादन गरेर बजारमा बिक्री गर्न डुलाउँदासमेत दैनिक २ सय रुपैयाँ सरकारलाई भुक्तानी गर्नुपर्ने उनको भनाइ छ । उनले १७ सय रुपैयाँ पर्ने पेलेट दानाको मूल्य ४ हजार रुपैयाँ पुग्दासमेत कुखुराको मूल्य भने उति नै रहेको बताए । धरान–२० विष्णुपादुकास्थित योञ्जन कृषि फार्मका सञ्चालक जितेन्द्र तामाङले बिचौलियाका कारणले कृषकहरू समस्यामा परेको बताए । उनले भने, ‘पेलेट दानाको मूल्य वृद्धि भइरहन्छ, कुखुराको बजार मूल्य भने उस्तै छ ।

त्यसैले कृषक विस्थापित हुने अवस्था आयो ।’ पेलेट दानाको अधिकतम् खुद्रा मूल्य (एमआरपी) पनि नराख्ने गरेको उनले बताए । डिलरहरूले कति मूल्यमा खरिद गरी बिक्री गर्छन् भन्ने नै कृषकलाई जानकारी नहुने उनको भनाइ छ । उनले भने, ‘व्यवसायी सङ्घले निर्धारण गरेको मूल्यमा कृषकले बाध्य भएर खरिद गर्नुपर्छ । सम्बन्धित निकायले पनि ध्यान दिएको छैन । कृषक मारमा परिरहेका छौँ ।’ उनले पेलेट दानाका विषयमा प्रश्न उठाउँदा प्रशासनले पनि कृषकलाई असहयोग गरेको बताए ।

उनले भने, ‘हामी केही कृषक एकजुट भएर स्थानीय उत्पादनलाई प्राथमिकता दिई बाहिरको कुखुरा बिक्रीमा रोक लगाउन प्रयास गर्दा सङ्घको परिचय–पत्र माग्दै प्रशासनले अवरोध गर्यो ।’ कृषकहरूले कति दाना खुवाउँदा कति हुने, कति समय खुवाउनु पर्ने, एण्टिबाइटिकको मात्रा ठीक छ कि छैन ‘फिड कन्भर्सन रेसियो’ (एफसिआर) जस्ता कुरा परीक्षण नहँुदा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने बताए ।

दाना उत्पादक कम्पनी पूर्वाञ्चल एग्रोटेक प्रालिका सञ्चालक दिलकुमार लामिछानेले कच्चापदार्थको मूल्यमा वृद्धि भएको कारणले दानाको पनि मूल्य वृद्धि हुने गरेको बताए । एमआरपी भएकै दाना आफूले बिक्री गर्ने गरेको उनले दाबी गरे । पेलेट दानाको कच्चापदार्थ नेदरल्याण्ड, अमेरिकादेखि ल्याउनु पर्ने र उतैबाट मूल्य वृद्धि भएर आएपछि वृद्धि गर्नु परेको बताए । उनले भने, ‘कच्चापदार्थको मूल्य बढाउँदा वृद्धि गर्छौं, घट्दा घटाउँछौँ ।’

नेपाल दाना व्यवसायी सङ्घ १ नं. प्रदेशका अध्यक्ष सन्तोष कार्कीले कच्चापदार्थको मूल्य वृद्धि हुँदा वृद्धि गर्ने तर, हाल कच्चापदार्थको मूल्य घटे पनि दानाको मूल्य नघटेको बताए । उनले आफूले दानाको मूल्य घटाउन नसक्ने बताए ।

‘अहिले घट्नु पर्ने हो, केन्द्रले घटाएको छैन’ उनले भने, ‘कच्चापदार्थको मूल्य बढ्दा दानाको मूल्य वृद्धि भएर ९५ रुपैयाँदेखि १ सय १५ हुँदा दानाको मूल्य सोही अनुपातमा बढाए, अहिले कच्चापदार्थको मूल्य घटेर ८० रुपैयाँ भयो तर, दानाको मूल्य घटेन ।’

नेपाल दाना व्यवसायी सङ्घका उपाध्यक्ष शङ्करप्रसाद कँडेलले कच्चापदार्थको मूल्य घटेर आउने बित्तिकै घट्ने बताए । ‘कहिलेकाहीँ पन्ध्र–पन्ध्र दिनमा पनि घटबढ हुन्छ, कच्चापदार्थ घटेर आए घटाउँछौँ र बढेर आए बढाउँछौँ’ उनले भने, ‘अहिले जुन अनुपातमा कच्चापदार्थको मूल्य घटेको छ, सोही अनुपातमा तिहारपछि घट्छ ।’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले २ तरिकाले अनुगमन गरी नियमन गर्ने बताए । लागत मूल्य नघटाएको पाएमा नियन्त्रण गर्ने बताए । उनले भने, ‘सामान्यतः कच्चापदार्थको मूल्य बढी भएमा दानाको मूल्य पनि बढी र कम भए कम हुनुपर्छ तर, उत्पादकले उत्पादित वस्तुको अधिकतम् मूल्य कायम गर्न चाहन्छ, खुल्ला अर्थ व्यवस्थामा स्वभाविक हो, तर त्यस्तो जानकारी आएमा नियमन गर्छौं ।’

ब्रोइलरपालकको तथ्याङ्क छैन नगरसँग
कृषकमैत्री नीति तथा कार्यक्रम बनाउने कुरा त परै जाओस्, धरान उपमहानगरमा कति मात्रामा ब्रोइलर कुखुरा उत्पादक फार्म सञ्चालित छन् भन्ने समेत तथ्याङ्क छैन ।

उपमहानगरमा कहाँ, कत्रा, कस्ता किसिमका, कति मात्रामा फार्म सञ्चालित छन्, तिनीहरूको लेखाजोखा गरी उनीहरूको हितमा सहयोग पुग्ने किसिमका नीति तथा कार्यक्रमहरू बनाउनु पर्ने हो । तर, नीति निर्माण गर्ने उपमहानगरसँग कहाँ कस्ता किसिमका फार्महरू सञ्चालित छन् वा छैनन् भन्ने नै कुनै तथ्याङ्क छैन ।

कृषकमैत्री नीति त होइन, तथ्याङ्कसमेत नहुनु लज्जास्पद कुरा हो । उपमहानगरका पशु सेवा शाखाका प्रमुख महेन्द्र पैकाराले नै उपमहानगरसँग व्यवस्थित तथ्याङ्क नभएको बताए । उनले ब्रोइलर कुखुरापालक कृषकहरूले कहिले बन्द गर्ने र कहिले सञ्चालन गर्ने र अन्य पशुसँगै ब्रोइलर पनि पाल्ने भएकाले तथ्याङ्क नभएको बताए ।

शाखालाई ब्लाष्टले तथ्याङ्क माग्दा सङ्कलन गरेर मात्र दिन सकिने प्रतिक्रिया दिए । कुनै तथ्याङ्क व्यवस्थित नहुने हो भने पशु सेवा शाखाको औचित्य देखिँदैन । पशुपालक कृषकअनुसार धरान उपमहानगरका २० वटा वडामध्ये वडा नं. ५, ६ र २० मा धेरै फार्म छन् भने अन्यमा कम छन् । उनीहरूका अनुसार साना–ठूला गरी करिब १ सय ५० भन्दा माथि फार्म सञ्चालनमा छन् ।

तर, उपमहानगरले फार्महरूर्को न नियमन गर्न सकेको छ, न त वृत्ति विकासका लागि काम नै गरेको छ । तथ्याङ्क सङ्कलन गर्न र किसानको हितका लागि सहजीकरण गर्न सरकारी  कर्मचारीहरू ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखानलाई सावित गरेर बसेका छन् ।