• विना तामाङ

पटकपटकको कोरोना महामारीको लहरले मुलुकमा विकासका मुद्दाहरू ओझेलमा परेका छन् । कोरोनाको चुनौतीसँग सामना गर्दै भए पनि अघि बढ्नुपर्ने उदाहरण यसबाट प्रभावित देशहरूले दिएको छ । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि मुलुकको समृद्धिको मुख्य आधार पर्यटन भएको ठहर गरिएको थियो । त्यसका लागि जुनदिशामा मुलुक अघि बढ्नुपर्ने थियो, त्यसले गति लिन सकेको छैन । पर्यटनका नाममा सरकरी बजेट जथाभावी खर्च गर्ने प्रवृत्ति बढेको छ । सगरमाथा र आदिवासी संस्कृतिमा समृद्ध प्रदेश १ को सरकारले बजेट छर्नेबाहेक पर्यटनको स्पष्ट मार्गचित्र बनाउन सकेको देखिन्न ।  

आदिवासी संस्कृति अभियन्ता तथा किरात राई यायोक्खाका केन्द्रीय उपमहासचिव शुभचन्द्र राई भन्छन्, ‘पूर्वका आदिवासी सांस्कृतिक पर्वहरूका आधारमा प्रदेश १ मा पर्यटन ‘सिजन’ घोषणा गर्ने अवधारणा बनाउन जरूरी छ ।’ पूर्वका आदिवासी किरात समुदायले उनीहरूका प्रमुख पर्व उधौली–उभौलीमा कम्तीमा ३ दिन बिदा दिनुपर्ने माग गर्दै आएको वर्षौ भयो । उनका अनुसार यो माग औचित्यपूर्ण छ । महिना दिनसम्म मनाइने यो पर्व कृषिमा आधारित आदिवासी मौलिक संस्कृतिसँग गाँसिएको छ । 

राईले भने ‘यो पर्वको बेला प्रदेश १ सरकारले पूर्वमा सांस्कृतिक पर्यटनको सिजन भएको घोषणा गर्न नीति तथा कार्यक्रम बनाउन ढिलो भैसक्यो ।’ प्रदेशका चौधै जिल्लामा आदिवासी समुदाय यो बेला धुमधामका साथ मनाइरहेका हुन्छन् । परम्परागत सांस्कृतिक झलक, परम्परागत आदिवासी परिकार, खेलकुद उनीहरूका मौलिक पहिरनको चहलपहललाई पर्यटनका आकर्षण बनाउन सके प्रदेशकै सांस्कृतिक पर्यटनको ‘सिजन’ बन्न सक्ने उनको कथन छ । प्राचीन कालदेखिको यो पर्व देशमा तीन दशकअघि प्रजातन्त्र आएदेखि संस्थागत रूपमा समेत मनाउन थालिएको उनले बताए । 

धरानका पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङबो भन्छन्, ‘पूर्वको सांस्कृतिक पर्यटनको अगुवाइ धरानले गर्न सक्छ र गर्नुपर्छ ।’ पूर्वका आदिवासी मात्र होइन, मुलुककै आदिवासी जनजाति समुदायको सघन बसोबास रहेको धरानले बहुसांस्कृतिक सहरको प्रतिनिधित्व गर्ने घोषणा गर्दै शतवार्षिकी मनाएको पनि दुई दशक बढी भैसक्यो । धरानलाई शिक्षा, स्वास्थ्य र पर्यटनको समृद्ध शहर बनाउने भन्दै सुरु भएको अभियान अहिले सुषुप्त बनेको छ । 

मेन्याङ्बोको कार्यकालमा धरानमा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने अभियान प्रारम्भ भएको हो । पहिलोपटक २०५५ सालमा धरान महोत्सव आयोजना गरिएको थियो । त्यसको निरन्तरता २०५६ मा धरान उत्सव र धरान बजार स्थापना भएको सय वर्ष पुगेको अवसरमा २०५७ मा धरान शतवार्षिक महोत्सव बृहत् रूपमा भएको थियो । शतवार्षिकीको समापन २०५८ मा घण्टाघरको उद्घाटन सप्ताहव्यापी धरान महोत्सवसहित सम्पन्न भएको हो ।

पूर्व नगर प्रमुख मेन्याङ्बोका अनुसार त्यस बेला धरानलाई साँस्कृतिक पर्यटनको आधारबाट अगाडि बढाउन सिङ्गो धरान र धरानवासीहरू जुरूक्क उठेका थिए । धरानका आदिवासी समुदायहरूले आफ्ना विविध सांस्कृतिक पक्षहरू प्रस्तुत गरेर सांस्कृतिक लहर र विभिन्न खेलकुदहरूको आयोजनाले अपूर्व बहार ल्याएको थियो । ती उत्सव र महोत्सवहरूमा आन्तरिक पर्यटकका साथै भारतका पर्यटकहरूको समेत आगमन भएर धरानको व्यापार व्यवसायमा मनग्य वृद्धि भएको थियो । उनले भने ‘तर पछि महोत्सवले निरन्तरता पाएन । धरानको सांस्कृतिक पर्यटन फेरि सुस्ताउन पुग्यो ।’

बहुसांस्कृतिक सहर धरानको २०६८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार यहाँ ८४ जातीय विविधता छ । धरानमा राई (२८,५३६), लिम्बू (१६,०६१), नेवार (१५,२३०), क्षेत्री (१४,६९२), तामाङ (१०,००३), पहाडे बाहुन (९,७६४), मगर (५,८१०), गुरूङ (२,६६९), भुजेल (१,८५८), शेर्पा (९४०) रहेको देखाएको छ । पछिल्लो समय धरानमा याक्खा, सुनुवार, माझी आदिवासी समुदायको जनसंख्या बढेको छ । आदिवासी जनजाति महासंघ, धरानका अनुसार धरानमा ११ आदिवासी जनजाति समुदाय संगठित तथा संस्थागत रूपमा क्रियाशील छन् ।

आदिवासी मानवअधिकारकर्मी डा. कमल तिगेलाका अनुसार केन्द्रीकृत राज्य प्रणालीले समस्या मान्दै आएका सांस्कृतिक विविधता सङ्घीय प्रणालीमा आर्थिक सम्वृद्धिको आधार र अवसरको रूपमा स्थापित हुँदै गएको छ । उनले भने ‘विश्वमा संस्कृतिलाई सम्वृद्धिसँग जोडेर चलेको सांस्कृतिक पर्यटनको लहरलाई अनुसरण गर्न जरूरी छ ।’ फिलिपिन्स, थाइल्याण्डलगायत एसियाली देशहरू, कतिपय युरोपियन मुलुकले सांस्कृतिक पर्यटनको आधारमै आर्थिक सम्वृद्धि हासिल गरेका छन् । 

धरानलाई सांस्कृतिक पर्यटनको केन्द्र बनाउन दशकअघि आदिवासी अधिकार अभियन्ता गोपाल देवानको अवधारणा पत्रका आधारमा धरान–१४ विजयपुरमा बहुजातीय सङ्ग्रहालयको योजना ल्याइएको जनजाति महासंघका तत्कालीन अध्यक्ष ङावालप्टु लामा शेर्पा बताउँछन् । हिमाल, पहाड, तराईका आदिवासीहरूको सांस्कृतिक घरहरू, जातीय परिकारका रेष्टुरेन्टसहितको सङ्ग्रहालय नमूना हुने उनको भनाइ छ ।

सङ्ग्रहालयका परिकल्पनाकार गोपाल देवानका अनुसार सांस्कृतिक पर्यटनको विकास गर्न अवधारणापत्र तयार गरिएको हो । त्यहाँ आदिबासीहरूका आयमूलक व्यवसाय सञ्चालन गर्नसक्ने व्यवस्था छ । आदिवासीका जीवन्त सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्ने, निर्दिष्ट गन्तव्य स्थलहरू पहिचान गर्ने, पुरातात्त्विक वस्तु, गीत–सङ्गीत, नृत्य, परम्परागत बाजा, लोकनाटिका, पर्व–उत्सवहरू, परिकारहरू र जातीय पहिरनका कार्यक्रमहरू त्यहाँ सञ्चालन हुने उद्देश्य राखिएको उनले बताए । 

जनजाति महासंघका वर्तमान अध्यक्ष रामकुमार राईले भने ‘निर्माणाधीन बहुजातीय सङ्ग्रहालय एसियाकै दोस्रो जीवित सङ्ग्रहालयको रूपमा विकास गर्न गुरूयोजना तयार भइसकेको छ ।’ निर्माण कार्य सम्पन्न भएपछि धार्मिक, सांस्कृतिक विशिष्टतायुक्त सहर धरान सांस्कृतिक पर्यटनको केन्द्र बन्ने उनको कथन छ । पूर्वलाई सांस्कृतिक पर्यटनको केन्द्र बनाउने सवालमा सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग स्पष्ट कार्यदिशा नहुनु मुख्य समस्या देखिन्छ । सङ्घीय सरकारको ‘नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (सन् २०१६÷२०२५)’ र ‘संस्कृति नीति, २०६८’ दुवैमा कतै पनि सांस्कृतिक पर्यटनको अवधारणा, नीति र कार्ययोजना पाइँदैन । 

अध्यक्ष राईका अनुसार नीतिमा मात्र होइन, सरकारहरूले बजेटमा समेत पक्षपात गरेकाले हालसम्म बहुजातीय सङ्ग्रहालयको ३० प्रतिशत मात्रै काम सम्पन्न हुन सकेको छ । उनले भने ‘बजेट रातो किताबमा छ तर सम्झौता गर्न जाँदा राजनीतिक पूर्वाग्रहले रोकिन्छ ।’ उनका अनुसार सरकारले आवश्यकता अनुसार बजेट दिएको भए बहुजातीय सङ्ग्रहालय अहिलेसम्म बनिसक्थ्यो । आदिवासी अभियन्ता सुजेन्द्र गोले तामाङका अनुसार धरान उपमहानगरपालिकामा आदिवासी जनजाति समिति भए पनि सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने ठोस नीति र कार्यक्रम तयार गरेको भने देखिन्न । उनले आदिवासी पर्व, परम्पराहरू संस्थागत गर्न स्थानीय सरकारले नीति, कार्यक्रम र बजेट व्यवस्थापन गर्न जरूरी छ । 

उपमहानगरपालिकाको धरान प्रज्ञा प्रतिष्ठान संयोजक अम्बिकाकुमार सम्बाहाम्फे प्रतिष्ठानले धरानका आदिवासी जनजातिहरूका भाषा, साहित्य र संस्कृतिको उत्थानका कार्यक्रमहरू प्रतिष्ठानले सञ्चालन गर्दै आएको बताए । उनका अनुसार धरान उपमहानगरपालिकाले संस्कृति र सांस्कृतिक विविधताबारे स्पष्ट नीति बनाइसकेको अवस्था नभए पनि प्रतिष्ठानले धरानका सांस्कृतिक विविधतालाई सम्बोधन गर्न लोकजुहारी, सङ्गीनी, धाननाच, च्याब्रुङ, हुर्रा, साकेला, सेलो, घाटु, डोकनीलाकलगायत सांस्कृतिक महोत्सव आयोजना गर्ने योजना तर्जुमा गरेको छ । 

(धरान उपमहानगरपालिका–नेपाल पत्रकार महासंघ सुनसरीको लेखनवृत्ति कार्यक्रमअन्तर्गत ‘विश्वस्त सुत्र’ साप्ताहिकका कार्यकारी सम्पादक तामाङद्वारा तयार गरिएको फिचर)