कोरोनाको कहर भारतको राजधानी  दिल्लीमा लगातार जारी छ । हरेक दिन कोरोनाका नयाँ संक्रमण र मृत्युको तथ्यांक बढिरहेको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ । समाचारका अनुसार त्यहाँ अस्पतालको स्थिति सन्तोषजनक छैन । बिरामी अझै पनि बेड र अक्सिजनका लागि संघर्ष गरिरहेका छन् । गएको २४ घण्टामा दिल्लीमा ३६८ जना संक्रमितको मृत्यु भएको छ । 

दिल्लीमा मात्र निरन्तर सात दिनमा ३०० सयभन्दा बढीको दैनिक मृत्युदर रेकर्ड गरिएको छ । मंगलबार दिल्लीमा ३८१ जनाको मृत्यु भएको छ । दिल्लीमा प्रत्येक दिन औसत २५ हजार संक्रमित थपिई रहेका छन् । 

भारतमा बुधबार तीन लाख ८० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन यति ठूलो संख्यामा संक्रमित फेला परेको यो नै पहिलो पटक हो ।

भारतमा संक्रमण मुक्त हुने दर पनि बढ्दै गएको छ । मंगलबार २ लाख ६२ हजार बिरामी संक्रमणमुक्त भएकोमा बुधबार यो दर बढेर दुई लाख ७० हजार पुगेको छ ।

भारतमा बुधबार कोरोना संक्रमणका कारण तीन हजार ६४६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या २ लाख चार हजार पुगेको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३० लाख ७५ हजार छ । 

भारतको महाराष्ट्र राज्य कोरोनाबाट सर्वाधिक प्रभावित छ । बुधबार महाराष्ट्रमा ६३ हजार ३०९ जना संक्रमित पाइएका छन् भने कोरोनाका कारण एक हजार ३५ जनाको बुधबार मृत्यु भएको छ ।

तस्बिरः aajtak.in/ PTI