विराटनगर। विराटनगरका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरूले औषधि व्यवस्था विभागमा दर्ता नभएका खाद्यपूरक सामग्री (डायटरी सप्लिमेण्ट र न्युट्रासिटिकल्स) बिरामीलाई सिफारिस गर्ने गरेका छन् । 

औषधि उत्पादन कम्पनीको कमिसनको प्रलोभनमा परेर चिकित्सकहरूले त्यस्ता खाद्यसामग्री बिरामीलाई ‘प्रेस्काइव’ गर्ने गरेको जानकारहरू बताउँछन् । विराटनगरस्थित कोशी अस्पताल, नोबेल मेडिकल कलेजलगायत अस्पतालका डाक्टरहरूले समेत यी सामग्रीहरू सिफारिस गरिदिने गरेको भेटिएको हो । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले पनि यसरी नै प्रेस्काइव गरेको यसअघि भेटिएपछि ब्लाष्ट दैनिकले उक्त विषयमा समाचार प्रकाशित गरेको थियो ।

नियमअनुसार डाक्टरले यस्ता सामग्री सिफारिस गर्न नपाउने औषधि व्यवस्था विभागका अधिकारी बताउँछन् । चिकित्सकीय उपचारमा प्रयोग हुनेभन्दा कम मात्रामा उपलब्ध भिटामिन, मिनिरललगायतका धरै सम्मिश्रणहरूलाई हालसम्म औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ । खाद्यपूरक सामग्री (डायटरी सप्लिमेण्ट र न्युट्रासिटिकल्स) औषधि व्यवस्था विभागमा दर्ता नभएकोले विभागले भदौ २ गते नै सूचना जारी गरी सिफारिस नगर्न भनेको थियो । 

विभागले सूचना जारी गर्दै डायटरी सप्लिमेण्ट र न्युट्रासिटिकल्स  गैरकानूनी रूपमा आयात गरी औषधि पसलबाट फर्मास्युटिकल बनावट (ट्याब्लेट÷क्याप्सुल÷सिरप) मा गरी गैरकानूनी रूपमा बिक्री वितरण भएको भन्दै यस्ता औषधि पैठारी, बिक्री वितरण, सञ्चय, परिवहन तथा बिरामीलाई सिफारिस नगर्न सम्बन्धितलाई सूचित गरेको छ । विभागमा दर्ता नभएका यस्ता सामग्रीहरू विराटनगरका ठूला हस्पिटलका चिकित्सकले बिरामीलाई प्रेस्काइव गर्ने गरेको अनुगमनको क्रममा पाइएको छ ।

न्युट्रासिटिकल्सको नाममा औषधिजस्तो देखिने त्यस्ता सामग्रीहरूप्रति बिरामी भ्रममा पर्ने भएको यस्ता सामग्री सिफारि नगर्न विभागले निर्देशन गरेको हो । औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव शर्मा कट्टेलले बिहीबार कोशी अस्पतालका सुपरिटेण्डेण्ट डा. चुमनलाल दासलाई भेटर दर्ता नभएका खाद्यपूरक औषधि सिफारिस नगर्न ध्यानाकर्षण पत्र पनि बुझाएका छन् ।

‘अनुगमनको क्रममा विभागमा दर्ता नभएका खाद्यपूरक न्युट्रासिटिकल्स सामग्री प्रेस्काइव गरिएको भेटिएको छ । यस्तो सामग्री चिकित्सकले बिरामीलाई सिफारिस गरेको भेटिएको फेला परेको हो’ विभागका प्रमुख कट्टेलले भने, ‘हामीले यसअघि पनि सचेत गराएका छौं । यस्ता सामग्री बिरामीलाई सिफारिस गरेको पाइए कानूनअनुसार कारबाहीको दायरामा ल्याउनेछौं ।’

यस्ता सामग्री बिक्री वितरण भएको पाइएमा औषधि ऐन २०३५ बमोजिम कारबाही हुने विभागले सूचनामार्फत् चेतावनी दिएको छ । औषधि ऐनको दफा ३४ को उपदफा १ मा दर्ता नगरेको भेटिए ३ वर्षसम्म कैद वा २५ हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने कानूनी व्यवस्था छ । ‘यसअघि कोभिडको समयमा न्युट्रासिटिकल्स सामग्री नियन्त्रणमा आएको थियो’ उनले भने, ‘अहिले अनुगमनको क्रममा चिकित्सकले सिफारिस गरेको न्युट्रासिटिकल्स देखिन थालेको छ । यस्ता सामग्री हामी बरामद गरी नष्ट गर्नेछौं ।’ विभागमा दर्ता नभएको न्युट्रासिटिकल्स सामग्री महँगो मूल्यमा बिक्री हुने गरेको छ । जसले गर्दा बिरामीलाई भार पर्दछ ।

ठूलो परिमाणमा न्युट्रासिटिकल्स बरामद 

औषधि व्यवस्था विभाग विराटनगरले ठूलो परिमाणमा न्युट्रासिटिकल्स सामग्री बरामद गरेको छ । 

विराटनगरको फार्मेसी अनुगमन गरी औषधि व्यवस्था विभाग विराटनगरले ठूलो परिमाणमा दर्ता नभएका न्युट्रासिटिकल्स बरामद गरेको हो । विराटनगरका आधा दर्जन औषधि पसलहरू अनुगमन गरी विभागले बिहीबार सप्लिमेण्ट र न्युट्रासिटिकल्स सामग्रीहरू बरामद गरेको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिए ।

विभागले बिहीबार विराटनगर–९ स्थित युनिटी ड्रग हाउसमा अनुगमन गरी दर्ता नभएको २९ प्रकारका न्युट्रासिटिकल्स ६ कार्टुन बरामद गरेको छ । यस्तै विराटनगर–९ रङ्गेली रोडमा रहेको हेमगिरी मेडिकोबाट ३ प्रकारका दुई कार्टुन न्युट्रासिटिकल्स बरामद गरेको छ । यस्तै विभागले लाइफ फार्मेसी र सिद्धिविनायक फार्मेसीबाट पनि न्युट्रासिटिकल्स बरामद गरेको छ ।