यतिबेला राजनीतिको रणमैदानमा ओली गुट र प्रचण्ड–माधव गुटका नेकपा पार्टीका शीर्षनेताहरू एक–आपसमा हदैसम्मको गालीगलौजमा उत्रिएका छन् । सामाजिक सञ्जालबाट होस् वा कुनै गुटको कार्यक्रममा वैचारिक आलोचनाभन्दा पनि व्यक्तिगत इवि साध्न गालीगलौजमा उत्रिएका जस्ता देखिएका छन् नेताहरू । सैद्धान्तिक कारणले भन्दा पनि शीर्षनेताहरूको व्यक्तिगत कारणले विभाजन र फुट भएको छ । यद्यपि शीर्षनेताहरूले आफ्ना गुटका कार्यकर्तालाई रिझाउनका लागि भाषणबाजीमा विभाजन भएको बताउँदै आए पनि निर्वाचन आयोग र सर्वोच्च अदालतले नेकपालाई विभाजन भइसकेको घोषणा गर्न सकेका छैनन् । नेकपा विभाजन भएको हो कि शीर्षनेताहरूले मनको कलुषमात्र पोखेर छताछुल्ल बनाएको हो त्यो भने हेर्न बाँकी छ । पार्टी विभाजनको सन्दर्भ महŒवपूर्ण नभएर यतिबेला कुन गुटका शीर्षनेताले कतिसम्म गिरेर अर्को गुटको नेतालाई हदैसम्मको गालीगलौजमा उत्रिएर तालीको वर्षा पायो भन्ने विषय व्यापक चर्चामा छ । नेता भनेको नेतृत्वकर्ता हो । नेतृत्वकर्ताले कार्यकर्तालाई सही र गलत छुट्याउन सिकाउँछ, संयम हुन सिकाउँछ । नेताले राजनीति गर्न कार्यकर्तालाई सिकाउँछ । विपक्षी नेताविरुद्ध बोल्दा पनि राजनीतिकै भाषामा बोलेर जवाफ फर्काउन सिकाउँछ । नेताले कुनै सार्वजनिक मञ्चमा दिएका भाषणहरू भविष्यका लागि महान्वाणी बन्न सक्छन् । इतिहासको दस्तावेज बन्न सक्छ । ती शब्द स्वरहरूलाई भावी पुस्ताले सम्हालेर अध्ययन गर्नेछन्, चिन्तन मनन् गर्नेछन् र भन्नेछन्, ‘आहा १ हाम्रा फलाना नेताले त्यसबेला मुलुकको सर्वाङ्गीण विकासका लागि यस्तो शक्तिशाली विचार व्यक्त गरेका रहेछन् । हामीले गर्व गर्नुपर्ने पो रहेछ ।’ के आजका दिनहरूमा वा हामी बाँचेको समयमा मानेका राजनीतिक दलका शीर्षनेताहरूका भाषण सुन्दा, विपक्षी गुटका नेताविरुद्ध ओकलेका झुसिला डकारहरू सुन्दा गर्व गर्ने त्यस्तो दिन आउला र ? शीर्षनेताहरूका भाषणहरू इतिहासमा दस्तावेज बन्लान् र ? अहँ, बरू भावी पुस्ताले लाजले शिर झुकाउनेछन् । 

एकताका नेता मदन भण्डारीको भाषण यति चर्चित र सुन्नलायक बनेको थियो, जो कोही नेपालीले मन्त्रमुग्ध भएर सुन्थे । उनका भाषणहरू क्यासेट बनेर गाउँ–गाउँमा पुग्थे र भनिन्थ्यो, ‘भण्डारीले संयुक्त राष्ट्रसङ्घको मञ्चमा लगातार तीन घण्टा भाषण गरेर विश्वका शीर्ष राजनेताहरूलाई जिते । उनले भाषण गरेको अवधिमा कहिल्यै पनि कुनै पनि सन्दर्भ वा वाक्यहरू दोहो¥याउँदैनन् । धाराप्रवाह भाषण गरेर सबैलाई मन्त्रमुग्ध बनाउँछन् ।’ यो गुण मदन भण्डारीमा भएकैले आजपर्यन्त सुन्ने गरेका छन् । के त्यसो भए अहिलेका हाम्रा नेताहरूले भाषणका नाममा तमाम कार्यकर्ता, सर्वसाधारणबीच मञ्चमा बोलेका तल्लास्तरका गालीगलौज सङ्ग्रहणीय, मननीय बन्न सक्नेछन् त ? नेकपाकै कुरा गर्ने हो भने पनि पाटी विभाजनको रेखा कोरिनुभन्दा केही समय अघिसम्म शीर्षनेताहरूको आन्द्राभुँडी जोडिएको बेला ‘उहाँ फलाना नेता महान्’ भन्ने मुखले नै अहिले ‘खराब’ भनेर बोलिरहँदा सर्वसाधारण नागरिक मतदाताहरू पनि रणभुल्लमा परेका छन् । 

हिजोसम्म एउटै पार्टीको सिद्धान्त, विधिविधान बोकेर ‘एकापसका’ प्रिय  बनेकाहरू नै अहिले आएर सत्ता प्राप्तिकै लागि र सत्ता निरन्तरताका लागि एकले अर्कोलाई हदैसम्म होच्याएर, खिसिट्युरी गरेर, व्यङ्ग्यवाणको प्रहार गरेर खसाल्ने भाषण र गाउँघरमा मातेको मान्छेले बोल्ने तथानाम गालीसँग तुलना गर्नलायक भाषणबाजी गरिरहेका छन् । एकले अर्कोलाई होच्याउने हुँदा शीर्षनेताहरूले न मर्यादाको पालना गरेका छन्, न शबद चयनमा । यतिमात्र होइन, न प्रमाणित गरेका छन्, न त तथ्यमा आधारित नै बोलेका छन् । बस् कार्यकर्ताका अगाडि भरमार गालीको वर्षा गर्न पाए भयो, तालीको गड्गडाहट पाउने लोभमा शीर्षनेताहरूले आफ्नै मान, प्रतिष्ठाको कद त घटाइरहेका छैनन् ? वैचारिक तर्क प्रस्तुत गर्न संयम्ता अपनाएर, सम्मानजनक शब्द प्रयोग गरेर पनि त विपक्षी गुट वा समकक्षी नेताको खरो आलोचना गर्न सकिन्छ भन्ने पाठ कहिले सिक्ने ?